एनआरएनएको बैठकमा बाहिरी व्यक्तिको घुसपैठ भएपछि खैलाबैला

डिसी नेपाल
४ पुष २०७६ १२:४५

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को बैठकमा बाहिरी व्यक्तिको घुसपैठ भएपछि संघभित्र खैलाबैला मच्चिएको छ । संघको अन्तर्राष्ट्रिय समन्वय परिषदले सम्बन्धित जिम्मेवार सदस्यहरूले नै यसरी बाहिरी व्यक्तिलाई बैठकमा सहभागी गराएको ठहर गर्दै आगामी दिनमा यस्तो नगर्न चेतावनीसहित सर्कुलर जारी गरेको छ ।

गएको डिसेम्बर १४ मा  सम्पन्न अन्तर्राष्ट्रिय समन्वय परिषद्को ७० औँ बैठकमा यसरी बाहिरी व्यक्तिहरू प्रवेश गरेको पाइएको सर्कुलरमा उल्लेख छ तर आफूहरूले गोपनीयता कायम राख्न नसकेको कुरा बाहिरिन नदिन सर्कुलर गोप्य रुपमा सम्बन्धित सदस्यहरूलाई मात्रै पठाइएको छ । बैठकमा संघका संरक्षक, सल्लाहकार, पदाधिकारी, सदस्यहरू र विशेष आमन्त्रित व्यक्तिहरू मात्र सहभागी हुन पाउने भएपनि सदस्यहरूले नै बैठकको भिडियो कन्फरेन्सका लागि प्रयोग गरिएको लिंक अन्य असम्बन्धित व्यक्तिलाई उपलब्ध गराइ उनीहरूलाई बैठकको अनलाइन कन्फरेन्समा अनाधिकृत प्रवेश गराएको सर्कुलरमा उल्लेख छ ।

उक्त बैठक एनआरएनएको इतिहासमै लामो समयसम्म चलेको थियो । अनलाइनमा  १० घण्टा विभिन्न विषयमा बहस चलेको थियो ।

आईसीसीले जारी गरेको सर्कुलरमा  भविष्यमा  बैठकको नियमावली विपरित परिषद् भन्दा बाहिरका असम्बन्धित व्यक्तिहरूलाई बैठकमा सहभागी गराएको वा पाइएमा त्यस्ता सदस्य वा पदाधिकारीलाई कारवाही गरिनेसमेत चेतावनी दिएको छ ।  बैठकमा बाहिरी व्यक्तिको घुसपैठ भएर यसरी खैलाबैला मच्चिएपछि आगामी बैठकमा सहभागीहरू पहिचान गर्न सकिने प्रविधि लागू गरिने एनआरएनएले तयारी थालेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *