जनशक्ति र भौतिक संरचना अभावमा ट्राफिक प्रहरी

डिसी नेपाल
५ पुष २०७६ १२:१८

काठमाडौं । काठमाडौँ उपत्यकाबाहेकका जिल्लामा सबैभन्दा धेरै दुर्घटना हुने जिल्लामा चितवन पर्छ । चितवनमा दैनिकजसो साना–ठूला दुर्घटना हुने गरेका छन् । तर त्यही दुर्घटना न्यूनीकरण र सवारी साधनको व्यवस्थापन गर्ने ट्राफिक जनशक्ति भने जिल्लामा न्यून छ।

चितवनमा ट्राफिक प्रहरीको दरबन्दी ३१ जनाको मात्र छ । काजमा आएकासहित ५५ ट्राफिकले जिल्लाको सबै ट्राफिक व्यवस्थापन हेर्नुपर्ने हुन्छ । चितवन सबैभन्दा धेरै मुख्य राजमार्ग भएको क्षेत्र पनि हो । पूर्वपश्चिम राजमार्ग, नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्ग पनि चितवनमा पर्छन् । जहाँ दैनिक हजारौँ सवारी साधनको चाप हुन्छ । जिल्लाका अधिकांश भित्री सडक कालोपत्र भएका कारण पनि यहाँ तीव्रगतिका कारण दुर्घटना हुने गरेको छ ।

बढ्दो शहरीकरण, सवारी साधन र सडक प्रयोगकर्ताको चापलाई व्यवस्थित गरी सडक दुर्घटनामा न्यूनीकरणका लागि थप ४० प्रहरी थप्नुपर्ने माग जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक चन्द्र गिरीको छ।

“जनशक्ति कम नभए पनि सबै क्षेत्रमा सिसीटिभीको व्यवस्था गर्नुपर्छ”, उहाँले भन्नुभयो, “यसले दुर्घटना न्यूनीकरण र दुर्घटना भइहाले पनि दोषीको पहिचान गर्न सहज हुन्छ।”

सिसीटिभी नहुँदा कतिपय दुर्घटनामा दोषी फरार हुने गरेका उनले बताए । गिरीले ट्राफिकको आफ्नै भवन नहुँदा र भाडाको पनि जीर्ण भवनका कारण कार्यालय सञ्चालनमा समेत समस्या हुने गरेको बताए । कार्यालयकै अभावमा स्वयम ट्राफिकले नै सडकमा पार्किङ गर्नुपर्ने बाध्यता छ। जिल्लाका मुख्य सडकभन्दा भित्री सडकमा झन् बढी दुर्घटना हुने गरेका ट्राफिक प्रहरीको तथ्याङ्क छ।

आर्थिक वर्ष २०७६÷७७ को साउनयता भित्री सडकमा ४६ सडक दुर्घटना भएका छन्। त्यसमा परी २६ ले ज्यान गुमाएका छन् भने ५९ घाइते भएका छन् । साँघुरो सडक, सवारी साधनको तीव्रगति, चालकको लापरवाहीका कारण दुर्घटना बढिरहेका गिरीले बताए । साउनयता पूर्वपश्चिम राजमार्गको केन्द्रीय बसपार्कदेखि लोथरसम्म ३६ सडक दुर्घटनाबाट १४ ले ज्यान गुमाएका छन् भने १०१ घाइते भएका छन्।

यस्तै नारायणगढ मुग्लिङ सडकखण्डमा ३४ सडक दुर्घटनाबाट १४ को मृत्यु भएको छ भने ८३ घाइते भएका छन् । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङदेखि मौवाखोलासम्म १८ सवारी दुर्घटनाबाट चारको मृत्यु र ३८ घाइते भएका छन् ।

भरतपुर रिङरोडमा यो आवमा मात्रै सातको मृत्यु भएको छ भने २० घाइते भएका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक कृष्ण क्षेत्रीका अनुसार मङ्सिरमा राजधानीबाहेकका प्रदेशका जिल्लामा चितवनमा सबैभन्दा धेरै दुर्घटना हुनपुग्यो।

चितवनमा भएका ५६ दुर्घटनामा पाँच महिलासहित १९ ले ज्यान गुमाएका छन् भने २० गम्भीरसहित ५६ घाइते भएका छन् । एक महिनाको अवधिमा भएका दुर्घटनाले थप चुनौती थपिएको क्षेत्रीले बताए ।

जिल्लाका मुख्य सडकमा आवश्यक पर्ने पूर्वाधारको समेत अभाव रहेको ट्राफिक प्रहरीको भनाइ छ । ‘नो पार्किङ’, ‘नो स्टप’, ‘उछिन्न निषेध’ जस्ता ट्राफिक चिह्न, डिभाइडर, जेब्रा क्रसिङमा रङ मेटिएकाले र पुनः रङरोगन नहुँदा पनि सडक दुर्घटना बढेको प्रमुख गिरीले बताए ।

यस्तै सडकका राजमार्गहरुमा रहेको खाल्डाखुल्डीले पनि दुर्घटना निम्तिरहेको उनको भनाइ छ । दुर्घटना नियन्त्रणका लागि लागि सबै सरोकार निकायले तत्कालै ध्यान दिनुपर्ने उनले बताउ ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले चितवनमा सडक दुर्घटना बढेको भन्दै यसको न्यूनीकरणका लागि विभिन्न रणनीतिक कार्ययोजना बनाएर अगाडि बढ्ने बताए ।

उनले निकुञ्ज क्षेत्रमा सवारी साधनमा जनावर ठोक्किने र दुर्घटना हुने भएकाले टिकौली क्षेत्रमा रातिको समयमा टाइमकार्ड लागू गर्ने पूर्वतयारी रहेको जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *