मलेसिया आममाफीः ९ दिनमात्रै बाँकी रहँदा दूतावासमा अवैधानिक नेपालीको चाप, सेवा केन्द्र थपियो

डिसी नेपाल
६ पुष २०७६ १२:३९

क्वालालम्पुर । मलेसिया सरकारले अवैधानिक विदेशी नागरिकहरुलाई स्वदेश फर्कन ल्याएको आममाफी कार्यक्रम ‘ब्याक फर गुड’ मार्फत अन्तिम समयमा स्वदेश फिर्ती प्रक्रियाको लागि दूतावासमा आउने अवैधानिक नेपालीको चाप बढेको छ ।

आम माफीको अवधि अब ९ दिन मात्र बाँकी छ । यसमा पनि विदा र प्रक्रियामा लाग्ने समयका कारण अवैधानिक नेपालीहरूले ६ दिनभित्र दूतावासको सम्पर्कमा पुग्नैपर्ने हुन्छ । सेवाग्राहीको चाप बढेपछि शनिबारदेखि पुत्राजया अध्यागमन विभाग बाहेक सेरेम्बान र पेनाङमा कोटा लिएर फिङगरिङ गराउने काम दूतावासले सुरु गरेको छ ।

हेड क्वाटर पुत्राजयामा हप्तामा ३ दिन प्रत्येक दिन १ सय जनाको कोटा रहेको साथै शनिबार र आइतबार पुत्राजया बन्द हुने भएकोले हिजो शनिबार दिउँसो सेरेम्बान अध्यागमनबाट ५० जनाको कोटा लिएर फिङगरिङ गराइएको छ । पेनाङ अध्यागमनमा १ सय जनाको कोटा भएकोले हिजो राति नै १०० जना लिएर पेनाङ आएको र आइतबार फिङगरिङ गराउने नेपाली राजदूतावास मलेसियाका जनसम्पर्क अधिकृत टेक बुढाले डिसी नेपाललाई जानकारी दिए ।

‘समयावधि ९ दिन मात्र हुँदा एकदिनमै २ सय जनाको दरले अवैधानिक नेपालीहरु दुतावास आउनु भएकोले कार्यलय समय बिहान ८ बजेदेखि साँझ ५ बजे साथै शनिबार र आइतबार पनि ९ बजेदेखि दिउँसो २ बजेसम्म खुल्ला गरेर सेवा दिन सुरु गरेको छौ ।’ उनले भने ।

उनका अनुसार मलेसिया सरकारले देश फर्कन दिएको आममाफी ‘गुड फर ब्याक’ मार्फत करिब ६ हजार अवैधानिक नेपालीहरू दूतावासबाट ट्राभल डकुमेन्ट बनाई स्वदेश फर्किसकेका छन् । बाँकी ९ दिनमा १५ सय थपिने अनुमान गरिएको बुढाले बताए । मलेसियामा ११ हजार अवैधानिक नेपाली रहेको अनुमान दूतावासको छ।

आफ्नो राहदानी भएकाहरूले ट्राभल डकुमेन्ट नबनाई सिधै मलेसियाको अध्यागमन विभागमा गई स्वदेश फर्कन पाउने प्रावधान भएको र त्यसको विवरण मलेसिया अध्यागमन विभागबाट नआइसकेकोले नेपाल कति फर्किए भन्ने दूतावाससँग यकिन तथ्याङ्क आइसकेको छैन।

मलेसियामा रहेका अवैधानिक आप्रवासीहरूलाई ‘ब्याक फर गुड’ सकिएपछि निकै कडाइका साथ कारवाही गर्ने यहाँको सरकारले तयारी गरेको छ । मलेसिया सरकारले २०२० को जनवरी १ तारिखदेखि नै अवैधानिकहरूको लागि कडा अप्रेसनको तयारी गरिरहेको छ । उसले यसको लागि जरिवाना तथा जेल सजाय बढाउने भएको छ ।

क्वालालम्पुरस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख मोतिबहादुर श्रीश मगरले बाँकी रहेको अवधिमा अवैधानिक सम्पूर्ण नेपालीलाई यो अवसरको लाभ लिन आग्रह गरेका छन् । ‘यो अवधिमा स्वदेश नफर्किनु भनेको दुर्भाग्य हो, धेरै ठुलो जोखिम उठाउनु हो । यो अन्तिम आम माफीको अवसरको सदुपयोग गरी डिसेम्बर भित्र नै स्वदेश फर्कन आग्रह गर्दछौं,’ उनले भने ।

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले यहाँ रहेका सम्पुर्ण अवैधानिक नेपालीहरुलाई डिसेम्बर २७ सम्म जसरी पनि सम्पर्कमा आउन आग्रह गरेका छन् ।

यो अवसर गएको अगष्ट १० देखि लागू भएको थियो भने डिसेम्बर ३१ मा सकिनेछ। सो कार्यक्रमअनुसार स्वदेश फिर्ता हुन केही प्रक्रिया भने पूरा गर्नुपर्ने हुन्छ । जसमा दण्ड जरिवाना ७ सय, स्पेसल पास १ सय र नेपाली राजदूतावासको राजस्व १ सय ६० मलेसियन रिङगेट बुझाउनुपर्छ। साथै हवाइ टिकट कामदार स्वयमले व्यवस्थापन गर्नुपर्नेछ।

अवैधानिक नेपालीहरूलाई स्वदेश फर्कन सहज बनाउन मलेसियास्थित नेपाली दूतावास आफैले निःशुल्क फारम भर्ने ब्यवस्था गर्दै आएको छ । उक्त सेवा लिन राहदानी वा नेपाली नागरिकताको प्रतिलिपि र २ प्रति पासपोर्ट साइजको फोटो पेश गर्नुपर्नेछ । सोही कार्यक्रमलाई लक्षित गरी नेपाली राजदूतावास मलेसियाले क्वालालम्पुर भन्दा बाहिर विभिन्न राज्यमा यात्रा अनुमति पत्र बनाउने सेवा उपलब्ध गराउँदै आएको थियो ।

आममाफी कार्यक्रमलाई सहजीकरण गर्न दूतावासले गएको सोमबारदेखि शुक्रबारसम्म बिहान ८ बजेदेखि साझ ५ बजेसम्म, शनिबार र आइतबार पनि बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म दूतावास खोलेर सेवा दिइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *