जर्मनीमा यसरी हुर्किदा रहेछन् बालबालिका

दीपक धिताल, जर्मनी
हामी जर्मनीको एक सानो सहर कुस्कहाफेनमा बस्छौं । यहाँ बच्चा जन्मिएपछि उसलाई गाडीमा राख्ने सिटदेखि उसको सुरक्षाका लागि चाहिने सम्पूर्ण व्यवस्था अनिवार्यरुपमा गर्नैपर्ने हुन्छ । बच्चा जन्मेको करिब ३ महिना पुगेपछि अभिभावकले पौडी खेलाउन स्वीमिङ पुलमा लैजाने गर्दछन । स्वीमिङ पूल पनि बालबालिका मैत्री हुन्छन् । बालबालिकाले ३ बर्षको उमेर हुँदा सामान्यतया: पौडी खेल्न जान्ने भैसकेका हुन्छन् । सानो सहरमा बालबालिकाका लागि साइकल पनि अनिवार्यजस्तै गरिएको हुंदोरहेछ । प्रत्येकजसो बच्चाहरुले साइकल चलाउने गर्दछन् । बच्चाको उमेर अनुसारका विभिन्न साइजका साइकलबाट ३ बर्षको उमेरमा उनीहरु चलाउन जान्ने हुन्छन् । बच्चालाई खाना ख्वाउनका लागि आजकाल नेपालमा जस्तो ट्याबलेट र मोबाइलमा भिडियो देखाएर हैन, अभिभावकले उत्प्रेरक तथा रमाइलो खाले गीत कथाहरु सुनाउने गर्दछन् । बच्चाले चम्चा समाउन सक्ने भएपछि आफैं खाने बानी गर्दछन, त्यसका लागि अभिभावकले स्वतन्त्र छोडिदिन्छन् । बच्चा आफ्नै घरमा बालुवा, माटो, पीठो आदिसँग विभिन्न खेल खेल्दछन्, उनीहरुलाई स्मार्ट फोनको आवश्यकता पर्दैन । बाबुआमा पनि काममा व्यस्त हुने हुनाले खासै स्मार्ट फोनमा भुलिन भ्याउादैनन् । घरमा आएपछि बच्चासँगै रमाउन पाउँदा खुशी हुन्छन् । उनीहरुले बच्चाको अगाडि टेलिभिजन शो खासै हेरेको पनि पाइादैन । विभिन्न कथा, इतिहास, उत्प्रेरक विचारहरुको किताव पढेर सुनाउँदै बच्चाहरुलाई सुताउने गर्दछन् । पछिका दिनमा बच्चाहरुलाई त्यही बानी पर्दछ र पढ्ने बानीको विकास हुन्छ भन्ने जर्मनेलीहरुको विश्वास छ । तर, हाम्रो नेपाली समाजमा वच्चासँगै सुतेर घण्टौसम्म स्मार्ट फोनमा व्यस्त रहने गरेको पाइन्छ, बच्चाले जे सिक्छ त्यही गर्छ ।

जर्मनीमा विहान आठ बजे बच्चा आफैं साइकल चलाएर स्कुल जान्छ, सडक सुरक्षा अति नै उत्तम छ । तर, यो मामिलामा नेपालमा निकै गाह्रो छ । साइकलमा जानेहरु साइकल चढेर घर फर्कन्छन् । गाडीमा आउनेहरु गाडी कुरेर बस्दा पनि प्रतिक्षालयमा किताव पढेर बसेका हुन्छन्, किनकि उनीहरुमा पढ्ने बानीको विकास भएको हुंदो रहेछ । दिनहरु यसैगरी वित्दै जान्छन्, विद्यालयमा जे पढ्छन्, त्यही अभ्यास गर्छन् अर्थात् जे दैनिक जीवनमा प्रयोग हुन्छ, त्यही पढ्छन्, पढाउँछन् । मेरो साथीको छोराको उदाहरणले केही सिक्न मद्धत गर्छ हामी नेपालीलाई । साथीले आफ्नो छोरालाई दूध उत्पादनका लागि गाई पालन गरिन्छ भनेर पढाएका रहेछन्, भोलिपल्ट गाई दुहुनका लागि फार्म हाउस लगेछन् । गाई दुहुन सिकाएछन् । अघिल्लो दिन पढेको कुरा भोलिपल्टै व्यबहारमा देखेपछि सिकाइ परिपक्व बन्दोरहेछ ।
दैनिक जीवनमा आइपर्ने हरेक काम उनीहरुले विद्यालय उमेरमै सिकेका हुन्छन् । जस्तै सिलाई कटाई, साधारण सिकर्मी, डकर्मी, घोडचडी, साइकल मर्मत, खाना बनाउने, मेसिनरी सामानको प्रयोग आदि । यस्तै बच्चा खेल्दै गरेको अवस्थामा सामान्य लडिहालेमा अभिभावक उठाउन गइहाल्दैनन्, आफैं उठ्न सक्नुपर्छ भन्दै बच्चालाई आत्मनिर्भर बनाउने प्रयास गर्छन् । हाम्रोमा विडम्बना के छ भने छोराछोरीलाई बढी माया गर्ने अभिभावकहरुका कारण विशेषत शहर बजारतिर उनीहरुले माटो–धुलो चलाउनै नहुने ठान्दछौं । बालबालिकालाई घरमै पकाएको खुवाउनुको साटो बजारको खाना–खाजा खुवाउँछौं । मनोरञ्जनका लागि चौर, खोला किनारमा पठाउनुको साटो मोबाइल र ल्यापटपमा भुलाउने गर्दा बालबालिकाको शारीरिक र बौद्धिक क्षमता ह्रास भैरहेको छ ।
यहाँ जर्मनीमा विद्यालयमा प्रत्येक विद्यार्थीले एक न एक खेल क्षेत्र रोज्नुपर्ने हुन्छ । उसको क्षमताअनुसार ऊ त्यही क्षेत्रमा प्रतिभावान भएर जानसक्छ । एउटा बच्चाले आफ्नो हरेक काम आफैं गर्न खोज्छ । गल्ती गरेर केही सामान तलमाथि भएमा मैले यो सामान विगारें, मेरो गल्ती भयो भन्दै आफैं रुन थाल्छ । अभिभावकहरुले यस्तो अवस्थामा कहिलेकाहीं यस्तो हुनु सामान्य भन्दै सम्झाउने गर्छन् । तर, हाम्रोमा कस्तो छ, तपाई हामी आफैं मुल्याकंन गर्न सक्नु हुन्छ । जर्मनीमा बच्चाहरुलाई सानैदेखि कृपया, धन्यवाद र माफ गर्नुहोस भन्ने शब्दको बारेका बुझाइएको हुन्छ र आवश्यक ठाउँमा प्रयोग गर्छन् । उनीहरु अरुसँग बोल्दा धेरै नम्र तरिकाले प्रस्तुत हुने गर्दछन् । यहाँ बच्चाहरुसँग सपिङ सेन्टरमा भन्दा किताव पसलमा जानको लागि अभिभावकको भीड हुन्छ । मैले यो महिना यो किताव पढ्नुपर्छ भन्ने धारणाको विकास गराइएको हुन्छ । त्यही भएर अभिभावकहरु बच्चाका लागि किताव किन्न किताव पसलमा जाने गर्छन् । अलि ठुला भएपछि उनीहरुले निशुल्करुपमा पुस्तकालयबाट आवश्यक पुस्तक ल्याएर पनि पढ्न पाउँछन् । जन्मदिन, क्रिसमसलगायतमा किताव उपहार दिने चलन छ ।
यसरी १२ कक्षा पास भएसँगै आफू कुन क्षेत्रमा लाग्ने हो त्यो क्षेत्रको व्यवसायिक र व्यवहारिक शिक्षातर्फ लाग्ने गर्दछन् । काम गर्न चाहनेले जुन काम गर्ने हो त्यसको लागि तालिम लिन शुरु गर्छन्, तालिम पश्चात काममा लाग्छन् । जुन कामको लागि पनि यहाँ अनिवार्यरुपमा पूर्वतालिम लिनुपर्ने हुन्छ । तालिम अवधिमा पनि काम गरेबापत उनीहरुले तालिम सकेपछि पाउने तलवको करिब आधा रकम पाउने गर्दछन् । कुनै काम सानो र ठुलो भन्ने सोच देखिंदैन जर्मनीमा । सबै काम समान हुन् र काम गर्ने सबै उस्तै हुन् भन्ने उनीहरुको बुझाइ छ । उदाहरणका लागि म काम गर्ने रेष्टुरेण्टमा एकजना विश्वविद्यालयका प्रोफेसर पनि मसँगै पार्टटाइम काम गर्दछन् । त्यही भएर कुनै खालको भेदभाव रहँदैन, बालबालिकाले यो भेदभाव भन्ने विषयको कहिल्यै अनुभव गर्न पाउंदैनन् । जिम्मेवारी नागरिक तयार गर्ने जर्मनीको यो तरिका साच्चै नि अनुकरण गर्न योग्य छ ।
बच्चाहरुलाई व्यवहारिक शिक्षा दिनु नै असल नागरिक उत्पादन गर्नु हो । कम्तिमा आफ्नो काम आफैं गर्नसक्ने र गर्ने बानी बसाल्नमात्र सकियो भने प्रत्येक विद्यार्थी भविष्यमा सजिलै गरिखाने हुन्छन् । नेपालमा पनि जर्मनीको यो सिकाइको प्रक्रियालाई अलिकति पनि पछ्याउन सकिए कम्तिमा सबै गरिखाने नागरिक बनाउन सकिन्छ

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position