राष्ट्रिय भूकम्प सुरक्षा दिवस भक्तपुरमा मनाइने

डिसी नेपाल
१४ पुष २०७६ ७:५२

काठमाडौं । सरकारले २२औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस भक्तपुरमा मनाउने भएको छ।

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा मन्त्रालयमा बसेको राष्ट्रिय भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकले यस्तो निर्णय गरेको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए।

आगामी माघ २ गते भक्तपुरको दरबार क्षेत्रमा २२औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस भव्यरूपमा आयोजना गर्ने र कार्यक्रमकोे जिम्मेवारी भक्तपुर नगरपालिकालाई दिने निर्णय गरेको नगर प्रमुख प्रजापतिले बताए।

गृहमन्त्री थापाले भूकम्प गएको पाँच वर्ष बितिसक्दा पनि भूकम्पबाट क्षति पुगेका सम्पदा र भग्नावशेष अझ पुनःनिर्माण नभएकामा चिन्ता व्यक्त गर्दै सम्बन्धित सरोकारवालासँग समन्वय गरी जनसमुदायलाई जनचेतना अभिवृद्धि गर्ने गरी भव्य र प्रभावकारी रूपमा दिवस मनाउने जिम्मेवारी भक्तपुर नगरपालिकालाई दिएको बताए।

नगर प्रमुख प्रजापतिले भक्तपुर नगर २०७२ सालको भूकम्पले बढी क्षति पुगेको ठाउँ भएको बताउँदै १ सय १६ वटाभन्दा बढी क्षतिग्रस्त सम्पदामध्ये हाल नगरपालिकाले ९१ वटा सम्पदा पुनःनिर्माणको काम सम्पन्न गरिसकेको बताए।

उनले सम्पदा बस्तीका घर पुरानै शैलीमा निर्माण गराउने नीति बनाउँदै अनुदानको व्यवस्था गरिरहेको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *