हेटौँडा अस्पतालमा भेन्टिलेटर तथा आइसियु सञ्चालन

डिसी नेपाल
१५ पुष २०७६ १२:१८

हेटौँडा । हेटौँडा अस्पतालमा सघन उपचार कक्ष ‘आइसीयु’ र भेन्टिलेटर सेवा शुरु भएको छ।

नौ वर्ष अगाडि ल्याइएको भए पनि प्रयोगविहीन अवस्थामा रहेर बिग्रिएको भेन्टिलेटर मेशिनलाई मर्मत गरेर सञ्चालनमा ल्याएको अस्पताल प्रशासनले जानकारी दिएको छ।

तत्कालीन समयमा रु १६ लाखमा दुईवटा मेशिन खरिद गरिएको थियो।

जनशक्ति अभावलगायतका कारण थन्किएर रहेको र हाल सञ्चालनमा ल्याइएको हेटौँडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए।

अस्पतालले परीक्षण स्वरुप आइसियु पनि सञ्चालन गरेको छ।

जनशक्ति अभावका कारण हाल एउटा श्यया मात्र आइसियु सञ्चालनमा ल्याइएकोे हेटौँडा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा प्रवीण श्रेष्ठले जानकारी दिए ।

भेन्टिलेटर सञ्चालनमा आएसँगै अस्पतालमा परीक्षणको रुपमा रहेको सघन उपचार कक्ष आइसियु पनि नियमित रुपमा सञ्चालनमा आउने उनले बताए ।

आइसियु सञ्चालनका लागि भेन्टिलेटर अत्यावश्यक भएको उनले बताए ।

आगामी असारसम्ममा पाँच श्ययाको आइसियु तथा डायलसिस सञ्चालन गर्ने गरी अस्पतालले तयारी गरिरहेको पनि अस्पताल विकास समितिका अध्यक्ष पौडेलले जानकारी दिए ।

प्रदेश सरकार मातहत अस्पताल आएपछि अस्पतालमा परिवर्तन आएको छ।

बालरोग, प्रसूति, हाडजोर्नी, सर्जन, रेडियोलोजिष्टलगायत विभिन्न विशेषज्ञ डाक्टर तथा फिजिसियनको सेवा एवं सम्पूर्ण परीक्षण हेटौँडा अस्पतालमै हुने भएपछि सेवाग्राहीको घुइँचो लाग्न थालेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *