कार्यकारीको भूमिका पाएपछि सक्रिय बन्न खोजेका प्रचण्डलाई प्रधानमन्त्रीको स्वास्थ्य ‘बाधक’

डिसी नेपाल
१७ मंसिर २०७६ ८:०३

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यकारी अध्यक्षको भूमिका पाएलगत्तै ‘पावर एक्सरसाइज’ को तयारी थालेका प्रचण्ड प्रधानमन्त्री केपी ओली अस्वस्थ भएपछि ‘निस्किृय’ भएका छन्। प्रधानमन्त्री केपी ओली एपेन्डिसाइटिस भएपछि हाल त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको आइसियूमा उपचाररत छन्।

योबीचमा कार्यकारीको भूमिका पाएपछि प्रचण्डले केन्द्रीय समिति र स्थायी समितिको बैठक बोलाउने तयारी गरेका थिए। तर प्रधानमन्त्री ओली अस्पताल भर्ना भएपछि बैठक बोलाउन नसकिएको प्रचण्ड निकट स्रोतले जनाएको छ। प्रधानमन्त्रीकै स्वास्थ्यका कारण प्रचण्डले यही मंसिरमा चीन जाने कार्यक्रम स्थगित गरेका छन्।

मुलुकको प्रधानमन्त्री अस्पतालमा उपचाररत रहेका बेला विदेश भ्रमणमा जानु उपयुक्त नहुने निष्कर्ष निकाल्दै प्रचण्डले चीन भ्रमण स्थगित गरेका हुन्। ‘अहिलेलाई अध्यक्षको चीन भ्रमण स्थगित भएको छ,’ प्रचण्डका स्वकिय सचिव जोखबहादुर महराले डिसी नेपालसँग भने, ‘प्रधानमन्त्रीको स्वास्थ्य र अन्य कामहरु गर्नु पर्ने भएकाले तत्काललाई भ्रमण स्थगित भएको हो।’

आफूले कार्यकारी अधिकार पाएपछि प्रचण्डले लामो समयदेखि बस्न नसकेको केन्द्रीय समिति र स्थायी कमिटी बैठक बोलाउन आन्तरिक सुरु गरेका थिए।

अध्यक्ष प्रचण्डले लामो समयदेखि निष्क्रिय रहेका केन्द्रीय समिति र स्थायी कमिटीलाई चलायमान बनाउँदै पार्टीका कमीकमजोरी समीक्षा गर्ने, आफ्नो पार्टी नेतृत्वको सरकारका काम कारबाही मूल्यांकन गर्ने र आवश्यक सुझाव दिने उद्देश्यले बैठक बोलाउने तयारी गरिरहेका छन्।

यहीबीचमा उपनिर्वाचनमा खटिनुपर्ने र प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या आएपछि बैठकको तयारीलाई प्रचण्डले केही दिन धकेलेका थिए। ‘योबीचमा उपनिर्वाचन भएकाले पार्टी त्यसमा होमिनुपर्ने भयो,’ प्रचण्डका स्वकीय सचिव महराले भने, ‘अब निर्वाचन परिणामको समीक्षा गर्ने गरी स्थायी कमिटीलगायतको बैठक चाँडै बस्छ।’

तत्कालीन नेकपा एमाले र तत्कालीन माओवादी केन्द्रबीच एकता भएपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक एकपटक मात्र बसेको छ। लामो समयदेखि केन्द्रीय कमिटी बैठक बस्न सकेको छैन। स्रोतका अनुसार अध्यक्ष प्रचण्ड केन्द्रीय समिति र स्थायी कमिटी बैठक बोलाएर पाटर्टीभित्र सबै निकायलाई चलायमान बनाउन चाहन्छन्।

लामो समयदेखि सचिवालय बैठकमार्फत नै पार्टीका निर्णय हुँदै आएकोमा प्रचण्डले अब केन्द्रीय समिति र स्थायी कमिटीमार्फत पार्टीका औपचारिक निर्णय प्रक्रिया हुने परिपाटी विकास गर्न चाहेका हुन्।

तीन तहको सरकारमार्फत मुलुकको शासनसत्तामा महवपूर्ण भूमिका पाएको नेकपाले जनताको अपेक्षाअनुसार परिणाम दिन सकिरहेको छैन। जनतामा बढ्दो असन्तुष्टि कम गर्दै तीनै तहका सरकारका कामलाई प्रभावकारी तुल्याउन केन्द्रीय समिति र स्थायी कमिटी बैठकमा गम्भीर छलफल गराउने प्रचण्डको योजना रहेको स्रोत बताउँछ।

प्रचण्ड स्वयंले पनि सार्वजनिक रूपमै आफूले देश भ्रमणका क्रममा जनताको गुनासो सुन्ने गरेको, जनताका आकांक्षाहरू पूरा हुन नसकेको स्वीकार गर्दै आएका छन्। सचिवालय बैठकमार्फत पार्टीको कार्यकारी भूमिका पाएपछि प्रचण्डले आफ्नो पार्टी नेतृत्वमा रहेका तीनै तहका सरकारलाई पार्टीगत रूपमा आवश्यक निर्देशन दिनेगरी पहिलोपटक ‘पावर एक्सरसाइज’ गर्न खोजेको स्रोतको भनाइ छ।

अध्यक्ष प्रचण्डले लामो समयदेखि निष्क्रिय रहेका केन्द्रीय समिति र स्थायी कमिटीलाई चलायमान बनाउँदै पार्टीका कमीकमजोरी समीक्षा गर्ने, आफ्नो पार्टी नेतृत्वको सरकारका काम कारबाही मूल्यांकन गर्ने र आवश्यक सुझाव दिने उद्देश्यले बैठक बोलाउने तयारी गरिरहेका छन्। प्रधानमन्त्रीको अस्वस्थताका बीच बैठक बोलाउन उचित नहुने भएर केही दिनका लागि प्रचण्डले बैठक बोलाउने योजना पर सारेको स्रोतको भनाइ छ।

नेकपामा प्रचण्डले अब आफूलाई अध्यक्षका रूपमा कसरी सक्रिय गराउलान् भन्ने चासो पार्टीभित्र र बाहिर पनि बढेको छ। पूर्वएमालेहरू प्रचण्डका छुट्टै कार्यकारी अधिकार नरहेको र ओलीको सहमति अनिवार्य रहेको बताउँछन्।

उता, पूर्व–माओवादीहरू भने पार्टी एकतायता हालसम्म ओलीले पार्टीमा प्रयोग गरेको अधिकार दाहालले प्रयोग गर्न सक्ने बताउँछन्। दाहालले पार्टीको पछिल्लो निर्णयपछि आफूलाई पनि पार्टीको अध्यक्षजस्तो अनुभूति भएको बताएका छन् तर उनको सक्रियतामा कुनै नयाँ निर्णय भएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *