को थिए जनरल सुलेमानी ? जसलाई मार्न प्रयासरत थिए अमेरिका, इजरायल र साउदी

डिसी नेपाल
१९ पुष २०७६ १५:२७

काठमाडौं। अमेरिकाले शुक्रबार बिहान बगदाद विमानस्थलमा एयर स्ट्राइकमा इरानको कुद्स बलका प्रमुख जनरल कासिम सुलेमानीलाई मारिदिएको छ । जनरल सुलेमानीको मृत्युपछि अमेरिका–इरान तनाव उत्कर्षमा पुगेको छ । इरानका सर्वोच्च नेता अयोतुल्लाह खमनेइले अपराधीहरुसँग बदला लिने घोषणा गरेका छन् ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले भने यो आक्रमण विदेशमा बसिरहेका अमेरिकी नागरिकको सुरक्षाको सुनिश्चितता र इरानी आक्रमण रोक्नको लागि गरिएको दावी गरेको छ । यसअघि मंगलबार मात्र बगदादस्थित अमेरिकी दूतावासमा आक्रमण भएको थियो । इरानले सुलेमानीको मृत्युपछि तीन दिनसम्म राष्ट्रिय शोक घोषणा गरेको छ ।

को थिए सुलेमानी ?

सुलेमानी इरानको रिभोल्युशनरी गार्डसको विदेशी शाखा कुद्स सेनाका प्रमुखका रुपमा संसारभर ख्यातीप्राप्त थिए । सुलेमानीलाई सिरिया र इराकका युद्धमा अहम भूमिकाको लागि चिनिन्थ्यो । एकातर्फ तेहरानका क्षेत्रीय दुश्मन साउदी अरब र इजरायलले इरानलाई मध्यपूर्वमा अगाडि बढ्नबाट रोक्नको लागि पूरा शक्ति लगाइरहेका थिए भने अर्कोतर्फ अमेरिका इरानविरुद्ध निकै कडा रुपमा प्रस्तुत भइरहेको थियो ।

यी सबै कोसिसका बीच मध्यपूर्वमा इरानको प्रभाव बढाउन मेजर जनरल सुलेमानीले अहम भूमिका निर्वाह गरेका थिए । यही कारण उनी अमेरिका, साउदी अरेबिया र इजरायलको आँखाको कसिंगर बन्न पुगेका थिए । अमेरिकाले सुलेमानीमाथि प्रतिबन्ध पनि लगाएको थियो । विगत २० वर्षमा अमेरिका, इजरायल र अरब एजेन्सीहरुले सुलेमानीलाई मार्न कैयौं प्रयास गरेका थिए तर हरेक पटक उनी बचे ।

सुलेमानीको सेनालाई देशभन्दा बाहिर संचालन हुने अपरेशनको जिम्मा दिइएको थियो । सिरियाली राष्ट्रपति बशर अल असद २०११ मा सुरु भएको गृहयुद्धमा हारनजिकै पुगेका बेला सुलेमानीको कुद्ज फोर्सले नै उनको लागि समर्थन जुटाएको थियो । सुलेमानीले इराकमा इस्लामिक स्टेटलाई हराउने प्रयासमा लागेको सशस्त्र बललाई पनि सहयोग गरेका थिए । सुलेमानी १९९८ मा इरानी रिभोल्युशनरी गार्डसका प्रमुख बनाइएका थिए ।

उनी वर्षौंसम्म लो प्रोफाइलमा रहँदै इरानको अन्य देशहरुसँग कुटनैतिक सम्बन्ध बलियो बनाउन लागिपरे । सुलेमानी लेबनानमा हेजोबुल्लाह, सिरियामा असद र इराकमा शिया समर्थित मिलिशिया समूहसँग इरानको सम्बन्ध बलियो बनाउन सफल रहे । विगत केही वर्षमा इरानका सर्वोच्च नेता अयोतुल्लाह अली खमेनइ र अन्य शिया नेताहरुको साथमा देखिएपछि सुलेमानी चर्चामा आए ।

सुलेमानीको नेतृत्वमा इरानको रिभोल्युशनरी गार्ड निकै शक्तिशाली बन्यो र यसले इरानको सीमाबाहिर आफ्नो इन्टेलिजेन्स, आर्थिक र राजनीतिक प्रभावलाई अभूतपूर्व तरिकाले बढायो । यहाँसम्म कि अहिले इरानको मुख्य फौज भन्दा इरानको रिभोल्युशनरी गार्डलाई शक्तिशाली मानिन्छ ।

सुलेमानीको जन्म पूर्वी इरानको एक गरिब परिवारमा भएको थियो । सुलेमानीले आफ्नो परिवार चलाउन १३ वर्षको उमेरमै काम गर्न सुरु गरेका थिए । उनी इरानका सर्वोच्च नेता खमेनइको भाषणलाई ध्यानपूर्वक सुन्थे । फरेन पोलिसी म्यागजिनका अनुसार १९७९ मा इरान क्रान्तिको क्रममा सुलेमानीले ६ हप्ताको तालिम लिएर इरानको अजरबैजान प्रान्तमा पहिलो पटक युद्ध लडेका थिए । इरान–इराक युद्धपछि सुलेमानी राष्ट्रिय हिरो बनेर अगाडि आए ।

२००५ मा इराकमा नयाँ सरकार गठनपछि सुलेमानीको इराक राजनीतिमा दखल झनै बढ्यो । यही क्रममा शिया रानजीतिक पार्टी र प्यारामिलिट्री फोर्स बद्र संगठनलाई सरकारको अंग बनाइयो । बद्र संगठनलाई इराकमा इरानको सबैभन्दा पुरानो प्रोक्सी फोर्स भनिन्छ । २०११ मा जब सिरियामा गृहयुद्ध सुरु भयो त्यसपछि सुलेमानीले आफ्ना केही इराकी प्रोक्सी फोर्सलाई सिरियामा सुलेमानी रकारको बचाउ गर्न पठाए । तत्कालीन अमेरिकी सरकार सिरियाबाट बसर अल असदलाई सत्ताबाट हटाउन चाहन्थ्यो ।

सिरियामा इरानको रिभोल्युशनरी गार्डस् कर्प्समाथि कैयौं एयर स्ट्राइक गरिसकिएको छ । अगष्ट महिनामा इजरायलले रिभोल्युशनरी गार्डमाथि ड्रोन आक्रमणको योजना बनाएको आरोप लगाएको थियो । इजरायली मिडिया रिपोर्टका अनुसार इजरायली विदेशमन्त्री काट्जले आफूले सुलेमानीको सबथोक नष्ट गर्ने गरी काम गरिरहेको बताएका थिए । अक्टेबर महिनामा तेहरानले इजरायली र अरब एजेन्सीले सुलेमानीलाई मार्न प्रया गरेको तर उनीहरुलाई विफल पारिएको बताएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *