एकलाख पर्यटक नेपाल पठाउने राजदूतको लक्ष्य

डिसी नेपाल
२० पुष २०७६ १०:४२

लन्डन । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले सन् २०२० मा कम्तिमा एक लाख ब्रिटिश पर्यटक नेपाल पठाउने लक्ष सार्वजनिक गरेका छन्।

शनिवार अपरान्ह नेपाली दूतावासमा आयोजित एक समारोहमा नेपाल भ्रमण वर्ष २०२० अभियानको औपचारिक सुरुवात गर्दै उनले त्यस्तो बताएका हुन्। नेपालको पर्यटन मन्त्रालयका अनुसार सन् २०१८ मा ६३,४६६ ब्रिटिश पर्यटकले नेपालको भ्रमण गरेका थिए।

“बेलायतमा बसोबास गर्ने नेपालीहरुको संख्या झन्डै डेढ लाख पुगेको अनुमान छ। हरेक नेपालीले एकजना ब्रिटिश साथी नेपाल पठाउने हो भने एक लाख पर्यटक सजिलै नेपाल जान सक्छन,” उनले भने।

सो अवसरमा बोल्दै राजदूत सुवेदीले बेलायतमा बस्ने सबै नेपालीहरुलाई सन् २०२० मा सपरिवार नेपालको भ्रमण गर्न र आफ्ना ब्रिटिश साथीलाई नेपाल भ्रमण गर्न प्रेरित गर्न आग्रह गरे। उनले बेलायतमा रहेका सबै नेपाली रेस्टुरेन्टहरुलाई ‘भिजिट नेपाल इयर २०२०’ को प्रचार प्रसार गर्न आग्रह पनि गरे।

बेलायतमा ३०० बढी नेपाली रेस्टुरेन्टहरु रहेको अनुमान छ।

दूतावासका उपनियोग प्रमुख शरदराज आरणले गत वर्ष नेपाल पर्यटन बोर्डसंगको सहकार्यमा गत वर्ष लन्डनका ५० ओटा बसहरुमा नेपाल भ्रमण वर्षको विज्ञापन गरिएको जानकारी दिए। उनले यस वर्ष पनि ब्रिटेनका विभिन्न शहरहरुमा नेपाल भ्रमण सम्बन्धी कार्यक्रमहरु आयोजना गरिने बताए।

कार्यक्रममा भ्रमण वर्ष सफल पार्न दूतावासबाट गठन गरिएका विभिन्न समितिका पदाधिकारीहरुले आआफ्नो समितिका कार्यक्रम र योजनाबारे प्रस्तुति गरेका थिए।

यसैबीच एकजना पर्यटन व्यवसायी बिराज भट्टले ब्रिटिश पर्यटकहरूको संख्यामा वृद्धि गर्न लन्डन तथा काठमाडौँबीच सिधा हवाइ सेवा शुरु गर्न आवश्यक रहेको बताएका छन्।

ट्राभेल कन्सोल युकेका प्रवन्ध निर्देशक भट्टले बेलायतले युरोपेली संघ छाडी सके पछि नेपाल सरकारले सिधै बेलायत सरकारसंग वार्ता गरी राष्ट्रिय ध्वजावाहकलाई बेलायतसम्म उड्ने व्यवस्था मिलाउन आग्रह पनि गरे।

गत डिसेम्बर महिनामा बेलायत आएका पर्यटन मंत्री योगेश भट्टराईले नेपाली वायु सेवाहरुलाई कालो सूचीबाट हटाउन नेपालले युरोपेली संघलाई अनुरोध गरेको जनाएका थिए।

तर हालै इयुले नेपाली वायुसेवाहरुलाई युरोपेली आकाशमा उड्नमा लगाएको प्रतिबन्ध अरू ६ महिना थप गरिदिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *