गायक राजु लामाले चुमे अफ्रिकाको सर्वोच्च शिखर किलिमन्जारो, सेभेन समिटको लक्ष्यनजिक
काठमाडौं । लोकप्रिय नेपाली गायक तथा गीतकार राजु लामाले अफ्रिकाको सर्वोच्च शिखर माउन्ट किलिमन्जारो सफलतापूर्वक आरोहण गरेका छन्। यससँगै उनी विश्वका सात महादेशका सर्वोच्च शिखर आरोहण गर्ने ‘सेभेन समिट’ अभियानको थप नजिक पुगेका छन्।
आईएफएमजीए माउन्टेन गाइड तथा इन्स्ट्रक्टर अबिरल राईका अनुसार लामाले ५ हजार ८९५ मिटर अग्लो किलिमन्जारोको शिखर अगस्ट ११ तारिख बिहान करिब ९ बजे स्थानीय समयअनुसार चुमेका हुन्। उनीसँगै आईएफएमजीए माउन्टेन गाइड तथा इन्स्ट्रक्टर अबिरल राई पनि आरोहणमा सहभागी थिए।
सांगीतिक क्षेत्रमा लोकप्रिय पहिचान बनाएका लामाले पछिल्लो समय पर्वतारोहणमा पनि आफ्नो सक्रियता बढाउँदै आएका छन्। उनले यसअघि सन् २०२२ मे १६ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेका थिए।
किलिमन्जारो आरोहणसँगै लामाले अहिलेसम्म सेभेन समिटअन्तर्गत चारवटा शिखर आरोहण गरिसकेका छन्। उनले सगरमाथासँगै कार्स्टेन्स पिरामिड, माउन्ट एल्ब्रुस र किलिमन्जारो सफलतापूर्वक चुमिसकेका छन्।
अब सेभेन समिट पूरा गर्न लामाले उत्तर अमेरिकाको डेनाली, दक्षिण अमेरिकाको अकोन्कागुवा र अन्टार्कटिकाको माउन्ट भिन्सन आरोहण गर्न बाँकी छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment