साग बेच्न पाएर किसान दंग, गुन्द्रुक बेच्दै सहकारी

डिसी नेपाल
२१ पुष २०७६ ११:५२

बनेपा । करेसाबारीमा उत्पादन भएको साग बेचेर नाग्रेगगर्चेका नानीमाया लामाले रु आठ हजार आम्दानी गरे ।

गाउँमा नै सञ्चालनमा आएको सिर्जनशील कृषि सहकारी संस्थाले गुन्द्रुक बनाएर बेच्न थालेपछि सो गाउँका किसानको आम्दानी समेत वृद्धि भएको छ।

करिब ४०० किलोभन्दा बढी साग बेचेर रु आठ हजारभन्दा बढी आम्दानी गरेको उनले जानकारी दिए ।

उनले मात्रै होइन, अहिले सो गाउँका सबै किसानले घर वरिपरिको करेसाबारी र खेत बारीमा साग रोपेर आम्दनी गर्न थालेका छन्।

खेरा जाने गरेको साग बेचेर पैसा आउने भएपछि गाउँले सबै साग खेतीतर्फ आकर्षित भएको स्थानीय बासिन्दा राजीव लामाले बताए ।

उनका अनुसार अहिले त्यहाँका गाउँलेले प्रतिघर परिवारले कम्तीमा तीन÷चार सय किलो साग बेच्ने गरेको छन्।

जिल्लाको कोसीपारिस्थित चौरीदेउराली गाउँपालिका–२ नाग्रेगगर्चेमा रहेको सिर्जनशील कृषि सहकारी संस्थाले आम्दानीमा वृद्धि र शेयर सदस्यको आर्थिक उपार्जनमा सहयोग पु¥याउने ध्ययले सागबाट गुन्द्रुक बनाई बिक्री गर्न थालेको शुरुआत गरेको हो।

साग सङ्कलन गरी गुन्द्रुक बनाउने कामलाई तीव्रता दिएको संस्थाका अध्यक्ष ननिता लामाले जानकारी दिए ।

संस्थाले गाउँमा तरकारी सङ्कलन केन्द्र स्थापना गरी दैनिकरुपमा साग सङ्कलन गरेको छ।

सस्थाले सागको प्रतिकिलो रु २० को दरले खरिद गर्ने गरेको छ।

१३० जना शेयर सदस्य आबद्ध रहेको संस्थाले छोटो समयमा नै दश लाख पूँजी जम्मा गरिसकेको छ।

शेयर सदस्यले उत्पादन गरेको तरकारीलाई सङ्कलन गरी खरिद गर्न थालेसँगै गाउँमा सागखेती गर्नेको सङ्ख्या बढ्न थालेको छ।

माया तामाङ र प्रिती तामाङलाई महिनाको दश हजार दिने गरी सस्थाले रोजगारी समेत दिएको छ।

उनीहरुको काम साग सङ्कलन, केलाउने, पखाल्ने, गुन्द्रुक बनाउने, सुकाउने र प्याकिङ गर्ने रहेको अध्यक्ष लामाले बताए ।

स्थानीय शशी तामाङले काठमाडौँमा होटलमा लागि रु एक लाखको गुद्रुक माग गरेपछि गुन्द्रुक बनाउने काम अहिले धमाधम जारी रहेको छ।

अध्यक्ष लामाका अनुसार सागको गुन्द्रुकसँगै फर्सी, स्कुस र मुलाको सुकुटी बनाउने तयारी अगाडि बढेको छ।

उत्पादन सबै खरिद गर्ने सम्झौता भइसकेकाले कुनै समस्या नरहेको संस्थाले जनाएको छ।

यससँगै सहकारीले संस्थामा आबद्ध किसानका लागि आवश्यक मल, बीउ सुपथ मूल्यमा बिक्री गर्ने र बचत तथा ऋणलाई पनि सँगसँगै लाने गरी कयौँ योजना अघि सारेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *