मदन भण्डारी स्वास्थ्य प्रतिष्ठानका लागि जग्गा प्रदान गर्ने

डिसी नेपाल
२१ पुष २०७६ २१:४८

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १ सय २० कट्ठा जग्गा उपलब्ध गराउने भएको छ ।

प्रदेश नं. ३ सरकारले शिक्षण अस्पतालसमेत सञ्चालन गर्नेगरी हेटौँडामा बन्न लागेको प्रतिष्ठानका लागि जग्गा उपलब्ध गराउन लागिएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिए ।

हेटौँडा–१० को टिसिएन क्षेत्र र हेटौँडा–११ को थानाभ¥याङमा गरी १२ बिगहा जग्गा प्रतिष्ठानलाई उपलब्ध गराउने उनले बताए ।

यसैगरी प्रदेश सरकारको एकीकृत बस्ती विकास कार्यक्रमका लागि हेटौँडा–८ नगरविकास समितिको पाँच बिगहा, हेटौँडा–१३ वनस्पतिमा रहेको केही र हेटौँडा–१५ फायरलाइनरोडको केही जग्गा उपलब्ध गराउन लागिएको उपमहानगरपालिकाले जनाएको छ ।

त्यसैगरी कृषि सुपर मार्केट, अटो भिलेज, अन्तरराष्ट्रिय सभाहल, अपाङ्गता पुनस्र्थापना केन्द्र, सेफ हाउस, प्रदेश यातायात निगम, प्रदेश पूर्वाधार निर्माण कम्पनी, राष्ट्रिय परीक्षा बोर्ड, इन्जिनीयरिङ प्रयोगशाला, वासुदेव स्मृति कमर्सियल भ्यू टावर, एकीकृत चार्जिङ स्टेशन, घरेलु तथा औद्योगिक सामग्री घर र पर्यटन सूचना केन्द्र निर्माणका लागि हेटौँडामा जग्गा उपलब्ध गराउन लागिएको प्रमुख महतले जानकारी दिए ।

त्यसैगरी प्रदेशका सबै मन्त्रालय, प्रदेशसभा भवन लगायतका कार्यालयका लागि हेटौँडा सिमेन्ट र मत्स्य विकासको जग्गा, बसपार्क निर्माणका लागि हेटौँडा बसपार्क क्षेत्रको जग्गा उपलब्ध गराउने भएको जनाइएको छ ।

यसबाहेक उपमहानगरक्षेत्रभित्र हुने महत्वपूर्ण कामका लागि प्रदेश सरकारको साझेदारीमा विभिन्न योजना तथा कार्यक्रम अगाडि बढाउने प्रमुख महतले जानकारी गराए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *