तीन महिनामा थप एक लाखलाई सामाजिक सुरक्षामा सहभागी गराइन्छ : मन्त्री यादव
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले १५ हजार रोजगारदाता र थप १ लाख योगादनकर्तालाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराइने बताएका छन् । मंगलबार आगामी तीन महिनाको कार्ययोजना सार्वजनिक गर्न मंगलबार पत्रकार सम्मेलन गर्दै उनले पदभार ग्रहण गरेको १ महिनाको उपलब्धिका बारेमा जानकारी गराउदै यस्तो बताएका हुन् ।
मन्त्री यादवले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा रोजगारदाता र श्रमिकको सहभागिता अत्यन्त निराशाजनक देखिएको बेला सरकारले रोजगारदाता र श्रमिकको सहभागिता बढाउन पहल गरिने बताएका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री यादवका अनुसार १ लाख ३५ हजार ६ सय ८३ श्रमिक र ११ हजार ९ सय ७८ रोजगारदाता संस्थाहरु सामाजिक सुरक्षा योजनामा समावेस भएका छन् भने सुरक्षाकोषमा ३८.५३ करोड योगदानको रुपमा संकलन भएको छ ।
सरकारले सबै श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन गत मङ्सिर ११ गते योजना शुभारम्भ गरेको थियो । योजना घोषणा भएको एक वर्ष पार गरे पनि रोजगारदाता र श्रमिकको सहभागिता उत्साहजनक देखिएको छैन ।
केन्द्रीय तथ्याङ्क विभागले गरेको प्रथम राष्ट्रिय आर्थिक गणना २०७५ को प्रारम्भिक नतिजाअनुसार नेपालमा सञ्चालित प्रतिष्ठानको सङ्ख्या ९ लाख २२ हजार ४ सय ४५ रहेको छ । यस्तै ती प्रतिष्ठानमा ३४ लाख ८ हजार ७ सय ४६ जनशक्ति सक्रियरूपमा लागेका छन् । विभागको तथ्याङ्कलाई आधार मान्ने हो भने पनि अझै निकै ठूलो सङ्ख्यामा रोजगारदाता र श्रमिक यो प्रक्रियामा सामेल भएका छैनन् ।
उनका अनुसार बढीभन्दा बढी रोजगारदाता र श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन रणनीतिक सञ्चारसहित आद्योगिक कोरिडोरमा प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्ने सरकारको तयारी छ । यस्तै, आर्थिक क्षेत्रका आधारमा उद्योग प्रतिष्ठानको वर्गीकरण गरी रोजगारदाता र श्रमिकसमेतको सहभागितामा १२ वटा त्रिपक्षीय अन्तरक्रिया एवं सामाजिक संवादको कार्यक्रम सञ्चालन गरिने कार्ययोजनामा उल्लेख छ ।
यसैगरी, मन्त्री यादवले कार्ययोजनामा विदेशस्थित कूटनीतिक नियोगबाट पुनः श्रम स्वीकृति दिने व्यवस्था कार्यान्वयनमा ल्याइने बताएका छन् । मन्त्री यादवले तीन महिनाभित्र गन्तव्य मुलुकमा रहेको नेपाली नियोगबाट पुनः श्रम स्वीकृति प्रदान गरिने प्रतिबद्धता समेत व्यक्त गरे ।
गन्तव्य मुलुकमा काम गरिरहेका नेपाली कामदारले श्रम स्वीकृतिको अवधि सकिएर पुनः श्रम स्वीकृति लिनका लागि विभागको ताहाचल कार्यालय आउनुपर्ने अवस्था थियो । ऐन संशोधन भएको निकै लामो समय बिते पनि सो व्यवस्था कार्यान्वयनमा आउन सकेको थिएन ।
वैदेशिक रोजगार विभागका महानिर्देशक डा भीष्मकुमार भुसालले अब छिट्टै विदेशस्थित कूटनीतिक नियोगबाट श्रम स्वीकृति प्रदान गरिने बताएका छन् । “कामदारले तिर्नुपर्ने कल्याणकारी र बीमाबापतको शुल्क अनलाइन माध्यमबाट भुक्तानी हुने व्यवस्था भएलगत्तै यस प्रक्रिया शुरु हुन्छ”, उनले भने, “बीमा कम्पनीले जतिसक्दो चाँडो प्रिमियम अनलाइनबाट भुक्तानी गर्ने व्यवस्था गरिदिए विदेशबाटै श्रम स्वीकृति जारी हुन्छ ।”







डिसी नेपाल







Facebook Comment