ट्रम्पको घोषणाले विश्व बजारमा हलचल: तेलको मूल्यमा भारी गिरावट, सेयर बजारमा ऐतिहासिक उत्साह

डिसी नेपाल
२९ जेठ २०८३ १२:०३

वासिङ्टन डीसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको सैन्य आक्रमण र बमबारीको योजना अन्तिम समयमा आएर रद्द गरेको नाटकीय घोषणा गरेसँगै विश्वव्यापी वित्तीय र ऊर्जा बजारमा निकै ठूलो तरंग पैदा भएको छ।

इरानसँगको तनाब उत्कर्षमा पुगेकै बेला राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसियल’मार्फत इरानसँगको युद्ध आजकै दिनबाट अन्त्य भएको र सम्झौताको खाका तयार भइसकेको दाबी गरेपछि लामो समयदेखि त्रसित बनेको विश्व बजारले ठूलो राहतको सास फेरेको छ।

यो नाटकीय घोषणासँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा तीव्र गिरावट आएको छ भने विश्वभरका प्रमुख सेयर बजारहरूमा उत्साहजनक वृद्धि देखिएको छ।

राष्ट्रपति ट्रम्पले आफ्नो घोषणामा इरानको उच्च नेतृत्वसँगको छलफल सकारात्मक र निर्णायक मोडमा पुगेको तथा संयुक्त राज्य अमेरिका, इजरायल, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई), कतार, टर्की र पाकिस्तान लगायतका मुलुकहरूको सहमतिमा सम्झौताको अन्तिम बुँदाहरू स्वीकृत भइसकेको उल्लेख गरेका छन्।

आगामी केही दिनभित्रै युरोपमा यो ऐतिहासिक शान्ति सम्झौतामा हस्ताक्षर हुने र सम्झौतापछि रणनीतिक रूपमा अत्यन्तै संवेदनशील मानिने ‘स्ट्रेट अफ हर्म्युज’ जलमार्ग व्यावसायिक जहाजहरूका लागि पूर्ण रूपमा खुला गरिने ट्रम्पले बताएका छन्।

यसअघि इरानले उक्त जलमार्ग बन्द गर्ने चेतावनी दिएका कारण विश्वभर इन्धन आपूर्ति ठप्प हुने र मूल्य आकाशसिने डरले लगानीकर्ताहरू हतोत्साहित भएका थिए। तर, ट्रम्पको यस युटर्नले युद्धको जोखिमलाई तत्कालका लागि टारेको छ।

यो सकारात्मक राजनीतिक घटनाक्रमको सिधा र तत्कालिन प्रभाव अन्तर्राष्ट्रिय तेल बजारमा स्पष्ट रूपमा देखिएको छ। विगत केही महिनादेखि प्रतिब्यारेल १०० डलर माथि कायम रहँदै आएको कच्चा तेलको मूल्य ट्रम्पको घोषणा लगत्तै ओरालो लागेर दुई महिनायताकै सबैभन्दा तल्लो विन्दुमा झरेको छ।

अन्तर्राष्ट्रिय मापदण्ड मानिने ब्रेन्ट क्रुडको मूल्यमा ३.५ प्रतिशत भन्दा बढीको गिरावट आएसँगै यो प्रतिब्यारेल ९० डलरभन्दा तल (८९.१७ डलर आसपास) ओर्लिएको छ।

त्यसैगरी, अमेरिकी बेन्चमार्क वेस्ट टेक्सास इन्टरमिडिएट कच्चा तेलको मूल्य पनि झन्डै ३ प्रतिशतले घटेर प्रतिब्यारेल ८६.५० डलरको आसपासमा कारोबार भएको छ। तेलको मूल्यमा आएको यो गिरावटले विश्वव्यापी रूपमा बढ्दै गएको महँगीलाई नियन्त्रण गर्न ठूलो मद्दत पुग्ने अर्थशास्त्रीहरूको विश्लेषण छ।

इन्धनको मूल्य घट्नु र युद्धको कालो बादल मडारिन छोड्नुको प्रत्यक्ष लाभ विश्वभरका सेयर बजारहरूले उठाएका छन्। अमेरिकी सेयर बजारको प्रमुख सूचक एस एन्ड पी ५०० १.८ प्रतिशतले जम्प भएको छ, जुन विगत दुई महिनायताकै सबैभन्दा उत्कृष्ट एकदिने सुधार हो।

त्यस्तै, डौ जोन्स इन्डस्ट्रियल एभरेज ९२९ अंक (१.९ प्रतिशत) ले बढेर ५०,८४८ को ऐतिहासिक विन्दुमा पुगेको छ भने प्रविधि क्षेत्र हाबी रहेको नास्डाक सूचक पनि २.५ प्रतिशतले उकालो लागेको छ। अमेरिकी बजारको यो उछालको सकारात्मक असर एसियाली र युरोपेली सेयर बजारमा पनि परेको छ।

भारतको सेन्सेक्स र निफ्टी, लन्डनको एफटीएसई १०० लगायतका प्रमुख सूचकहरू आज हरियाली बनेका छन्। लगानीकर्ताहरूले आर्टिफिसियल इन्टेलिजेन्स र साना कम्पनीहरूको सेयरमा आक्रामक रूपमा लगानी बढाएका छन्।

यद्यपि, यो नाटकीय घोषणा र बजारको उत्साहका बीच केही रणनीतिक संशयहरू भने अझै बाँकी नै छन्। इरानको अर्ध-सरकारी सञ्चारमाध्यम ‘फार्स’ र इरानी विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकी दाबीको खण्डन गर्दै अहिलेसम्म कुनै पनि सम्झौताको मस्यौदालाई अन्तिम रूप नदिइएको र अमेरिकाले वार्तामा नयाँ र कडा सर्तहरू थपेको आरोप लगाएका छन्।

त्यस्तै, अमेरिकी सेनाले स्ट्रेट अफ हर्म्युज क्षेत्रमा इरानी आक्रमणकारी ड्रोनहरू खसालेको विवरणले पनि मैदानमा पूर्ण रूपमा तनाव शान्त भइनसकेको संकेत गर्छ। तर, वित्तीय बजारले भने दुवै पक्ष अन्ततः युद्धभन्दा सम्झौता र शान्तिकै मार्गमा आउन बाध्य हुने विश्वासका साथ सकारात्मक प्रतिक्रिया दिएको छ।

यदि यो सम्झौता निष्कर्षमा पुगेमा अमेरिकी केन्द्रीय बैंकलाई ब्याजदर घटाउन सहज हुनेछ, जसले आगामी दिनमा विश्व अर्थतन्त्रलाई थप चलायमान र सुदृढ बनाउने अपेक्षा गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *