विश्वकप फुटबलः सुरुवाती अग्रता जोगाउन नसक्दा कंगोसँग रोकियो पोर्चुगल
काठमाडाैं। फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘एल’ को खेलमा पोर्चुगल र कंगोले बराबरी खेल्दै अंक बाँडेका छन्। अमेरिकाको ह्युस्टन रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेका हुन्।
खेलको सुरुवाती छैटौं मिनेटमै जुआँ नेभेसले गोल गर्दै पोर्चुगललाई खेलमा अग्रता दिलाएका थिए। पहिलो हाफको अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेको पोर्चुगलले खेलमा पकड जमाए पनि पहिलो हाफको अन्तिम समयमा भने गोल खान पुग्यो।
पहिलो हाफको इन्जुरी समयको चौथो मिनेटमा कंगोका योआने विस्साले कर्नरबाट आएको बललाई उत्कृष्ट हेडमार्फत गोलमा परिणत गर्दै खेललाई १-१ को बराबरीमा ल्याए।
पहिलो हाफमा रोमाञ्चक मोड लिएको खेलको दोस्रो हाफमा भने दुवै टोलीबाट थप गोल हुन सकेन र खेल बराबरीमै टुंगियो। विश्वकपको जारी प्रतियोगिताअन्तर्गत आज अन्य खेलहरू पनि हुँदैछन्।
नेपाली समयअनुसार आज दिउँसो १ः४५ बजे इंग्ल्याण्ड र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ भने भोलि बिहान ४ः४५ बजे घाना र पानामा भिड्नेछन्। यस्तै, भोलि नै बिहान ७ः४५ बजे उज्बेकिस्तान र कोलम्बियाबीच खेल हुने तालिका रहेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment