भारत–मलेशिया टकराव, चेपुवामा नेपाल

डिसी नेपाल
१ माघ २०७६ १९:०२

काठमाडौं। भारत र मलेशियाबीच पछिल्ला दिनहरुमा कुटनीतिक सम्बन्ध नै खतरामा पर्ने गरी सम्बन्ध खराब भएको छ। भारतले जम्मू कश्मीरको विशेषाधिकार खारेज गरेपछि शुरु भएको विवाद भारतमा नागरिकता ऐन संशोधनपछि झन चुलिएको छ।

मुश्लिम बहुल देश मलेशियाले जम्मू कश्मीरमा भारतले विशेषाधिकार खारेज गरे जम्मू कश्मीरलाई कब्जा गरेको मलेशियाका प्रधानमन्त्री महातिर मोहम्मदले बताएपछि भारत मलेशियासँग चिढिएको थियो। त्यसपछि हालै भारतले विवादास्पद नागरिक ऐन संशोधन गरेपछि मलेशियाले भारतमा मुस्लिममाथि ज्यादती भएको बताएको छ।

भारतले मलेशियाको यस्तो कदमको विरुद्धमा कडा कदम चाल्दै मलेशियाबाट भारतमा आयत हुँदै आएको पाम तेल आयतमा प्रतिबन्ध लगाइदिएको छ।

मलेशियामा उत्पादन हुने पाम तेल नेपालमा रिफाइन भएर भारत निर्यात हुँदै आएको थियो। भारतको यस्तो प्रतिबन्धको चेपुवामा नेपाली व्यवसायी परेका छन्।

चालु आर्थिक वर्षमा नेपालको भारतसँगको व्यापार घाटा घ्टदै गएको अर्थमन्त्रालयको पछिल्लो तथ्यांकले देखाएको थियो। जसमा पाम तेल निर्यात सबैभन्दा धेरै थियो। नेपालमा उत्पादन नहुने पाम तेलको कच्चा पद्धार्थ नेपाली व्यवसायीहरुले मलेशियाबाट नेपाल ल्याएर रिफाइन गरी भारत निर्यात गर्थे। तर, भारतले नेपालबाटसमेत यस्तो पाम तेलमाथि प्रतिबन्ध लगाएपछि नेपाली व्यवसायीको ठूलो लगानी डुब्ने अवस्थामा पुगेको छ।

भन्सार विभागको विवरणअनुसार चालु आर्थिक वर्षको पाँच महिनामा नेपालले ९ अर्ब ९४ करोड रुपैयाँको कच्चा पाम तेल आयात गरेको छ भने भारततर्फ ११ अर्ब ५० करोड रुपियाँको निर्यात गरेको छ ।

यसरी भारतले प्रतिबन्ध लगाएपछि भारतसँगको नेपालको व्यापार घाटा बढ्नेमात्र होइन नेपाली व्यवसायीहरु टाट नै पल्टिने अवस्थामा पुगेका छन्।

यता उद्योग वाणिज्य मन्त्री लेखराज भट्टले आफ्ना भारतीय सकमक्षीलाई नेपालको समस्याबारे अवगत गराउँदै प्रतिबन्ध हटाउनका लागि पहल गरेको मन्त्रालयको उच्च स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार मन्त्री भट्टले अनौपचारिक पहल गरेका छन्, तर भारतले भने यसको कुनै जवाफ दिएको छैन।

उता भारतले मलेशियाको सट्टा इण्डोनेशियाबाट पाम तेल आयात गर्ने तयारी गरेको बीबीसी हिन्दीले लेखेको छ। भारत विश्वमै पाम तेलको सबैभन्दा ठूलो आयातकर्ता हो। समाचार एजेन्सी रोयटर्सका अनुसार भारतीय व्यापारीहरुले मलेशियाबाट आउने पाम तेलमा प्रभावकारी ढंगबाट रोक लगाएका छन्। मलेशिया इण्डोनेशियापछि सबैभन्दा ठूलो पाम तेल निर्यातकर्ता मुलुक हो।

रोयर्टसका अनुसार भारतीय प्रतिबन्धपछि भारतमा पाम तेलको डेलिभरीको सम्झौता घटेर ०.९ प्रतिशतमा पुगेको छ। भारतले यस्तो प्रतिबन्ध औपचारिक भने लगाएको होइन। तर, अनौपचारिक रुपमा मलेशियाबाट आउने पाम तेल आयात नगर्न भनेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *