यूएईमा नेपाली कामदार चढेको बस दुर्घटना, ५ जनाको मृत्यु

डिसी नेपाल
२ माघ २०७६ १७:०३

काठमाडौं। यूएईमा बिहीबार नेपालीसहित अन्य विदेशी श्रमिक चढेको बस दुर्घटनामा परेको छ। यूएईको आबुधाबीमा सो दुर्घटना भएको हो।
दुर्घटनामा कम्तिमा ५ जनाको मृत्यु भएको जनाइएको छ। तर, मृत्यु हुने कामदारको राष्ट्रियता नखुलेको यूएईस्थित नेपालको राजदूतावासले जनाएको छ।

दुर्घटनामा परेको सो बसमा यूएईको एमबीएम कम्पनीमा कार्यररत १७ नेपाली सहित, अफ्रिका, श्रीलङ्का लगायतका गरेर जम्मा २४ जना कामदार रहेका थिए। सो बस लरीमा ठोकिएको जनाइएको छ।

यूएईका लागि नेपाली राजदूत कृष्ण प्रसाद ढकालले डिसी नेपालसँगको फोन कुराकानीमा बताएअनुसार ५ जनाको मृत्यु भएको छ। तर, त्यसमा कति जना नेपाली परे भन्ने यकिन भएको छैन। तर, उनले सो दुर्घटनामा ज्यान गुमाउनेहरु मध्ये केही नेपाली हुन सक्ने बताए।

उनले भने, ‘बसमा रहेका २४ श्रमिकमध्ये १७ जना नेपाली श्रमिक रहेका छन्। ५ जनाको मृत्यु भएको छ। तर त्यसमा कति नेपाली परे केहि जानकारी छैन । नेपालीको पनि मृत्यु भएको हुनसक्छ।’

उनले अगाडि भने, ‘हामि कम्पनीसँग विविरण मागिरहेका छौँ। अहिलेसम्म कति नेपालीको मृत्यु भयो र कति घाइते छन् भनेर हामीसँग तथ्यांक आएको छैन।’

घाइतेहरुको आबुधाबीस्थित एनएमसी, माफ्रकलगायतका अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटना भएको थाहा पाएपछि राजदूत कृष्णप्रसाद ढकाल, उपनियोग प्रमुख रिता धिताल, श्रम काउन्सिलर भेषबहादुर कार्की लगायत दूतावासका कर्मचारी विभिन्न अस्पतालमा पुगेर घाईतेको जानकारी लिएका थिए। केहि घाईते डिस्चार्ज पनि भैसकेको जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *