क्षेत्रीय कारागार निर्माण ठेकेदारको ढिलासुस्ती

डिसी नेपाल
४ माघ २०७६ १८:११

बाँके । बाँकेको बैजनाथ गाउँपालिका–३ नौवस्तामा निर्माणाधीन क्षेत्रीय कारागार निर्माण ठेकेदारको ढिलासुस्तीले अधुरो बनेको छ । तीन हजार कैदीबन्दी अट्ने क्षमताको उक्त कारागार निर्माणको काम तीन वर्ष बित्दा पनि पूरा भएको छैन । गत कात्तिक ८ गते ठेक्का सम्झौताको निर्धारित तीन वर्षको समय बितिसकेको छ ।

कारागार निर्माण गर्न मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक ५३ करोड लागत अनुमान गरिएकामा ठेकेदार कम्पनी पप्पु–रसुवा जेभीले ३८ करोड ६८ लाखको लागतमा ठेक्का सम्झौता गरेको थियो । विसं २०७३ कात्तिक ८ गते सम्झौता हुँदा ठेकेदार कम्पनीलाई काम सम्पन्न गर्न ३६ महिनाको समय दिइएको थियो । सो समयभित्र कारागार निर्माण सम्पन्न हुन सकेन ।

ठेकेदार कम्पनीले काम अलपत्र छाडेपछि सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाइ नेपालगन्जले जेभीको सात करोड छ लाख बैंक ग्यारेन्टी जफत गरेको थियो । जेभीले २५ वटा संरचना निर्माण गर्नुपर्नेमा तीन वर्षको अवधिमा पाँचवटा संरचनामा मात्र प्रारम्भिक चरणको (पाँच प्रतिशत)मात्र काम सुरु गरेको थियो ।

दुई ठेकेदार कम्पनीबीचको आन्तरिक कलहले अलपत्र परेको क्षेत्रीय कारागार निर्माणको काम चालु आर्थिक वर्ष २०७६÷७७ को भदौ महिनाबाट रसुवा कन्स्ट्रक्सन कम्पनी एक्लैले गरिरहेको छ । ठेकेदारको ढिलासुस्तीले समयमै नसकिएको कारागार निर्माण कार्य अहिले रसुवा कन्स्ट्रक्सन कम्पनीले थालेको एकाइ नेपालगन्जका प्रमुख गणेश कर्माचार्यले बताए ।

‘‘कानुनी रुपमा ठेक्का सम्झौता पप्पु–रसुवा जेभीबाटै गरिएको छ तर चालु आर्थिक वर्षबाट रसुवाले जिम्मा लिएर काम गरिरहेको छ’’, उनले भने, ‘‘जेभीले तीन वर्षसम्म पाँच प्रतिशत मात्र काम गरेपछि हामीले बैंक ग्यारेन्टी जफत ग¥यौँ, कालोसूचीमा राख्नेसम्मको तयारी हुँदा रसुवा एक्लैले काम गर्ने प्रतिबद्धता जनायो र अहिले काम सबै रसुवा कन्स्ट्रक्सनले गरिरहेको छ ।’’

रसुवाले जिम्मा लिएपछि अहिले काममा सन्तोषजनक रहेको कर्माचार्यले बताए। उनका अनुसार रसुवा कन्स्ट्रक्सन कम्पनीले कारागार निर्माणका लागि अझै डेढ वर्ष म्याद थप्नुपर्ने प्रस्ताव गरेको भए पनि एकाइले एक वर्षभित्र सम्पन्न गर्ने गरी म्याद थप्न सक्ने उनले बताए। कारागार निर्माणका लागि दैनिक १५० जना कामदार परिचालन गरिएको छ ।

‘‘तीन वर्षमा पाँच प्रतिशत पनि काम हुन सकेको थिएन, रसुवा कन्स्ट्रक्सनले जिम्मा लिएपछि गत भदौयता १८ प्रतिशत काम भइसकेको छ’’, उनले भने। रसुवा कन्स्ट्रक्सनका परियोजना प्रबन्धक विनोद ज्ञवालीले कारागार निर्माणका लागि कानूनीरुपमा ‘पप्पु–रसुवा जेभी’ले सम्झौता गरे पनि हाल रसुवा कन्स्ट्रक्सन कम्पनी एक्लैले निर्माण कार्य अगाडि बढाइरहेको बताए।

सम्झौताअनुसार निर्माण गर्नुपर्ने २५ वटा संरचनामध्ये १४ वटाको काम चलिरहेको उनले बताए। सम्झौताअनुसारको सबै काम सम्पन्न गर्न करीब दुई वर्ष समय लाग्ने ज्ञवालीले बताए । कारागार निर्माणमा ढिलाई हुँदा यस क्षेत्रका विभिन्न जिल्लामा रहेका जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राख्नु परेको छ ।

ठेक्का सम्झौताअनुसार ठेकेदारले कारागारको आठ वटा ठूला भवन, १५० नेपाल प्रहरी र १५० सशस्त्र प्रहरी गरी ३०० सुरक्षाकर्मीका लागि ब्यारेक भान्सा, तीनतले प्रशासनिक भवनसहित २५ वटा भौतिक संरचना निर्माण गर्नुपर्नेछ । मानव बस्ती बाक्लिँदै गएपछि तथा कैदीबन्दीको अनुपातमा कारागार साँघुरो भएपछि क्षेत्रीय कारागार निर्माण सुरु गरिएको थियो ।

अहिलेको कारागार सुरक्षा र क्षमताका दृष्टिकोणले उपयुक्त नभएपछि बाँकेको नौवस्तामा क्षेत्रीय कारागार र गनापुरमा देशकै एकमात्र खुल्ला कारागार निर्माणको काम सुरु गरिएको थियो । दुवै कारागार निर्माण भएपछि नेपालगन्जको मानव बस्तीको बीचमा रहेको जिल्ला कारागारलाई विस्थापित गरिने योजना रहेको थियो ।

गनापुरमा निर्माणाधीन खुल्ला कारागारमा कैदीले बाहिर गएर जागिर खोज्न, स्वरोजगार बन्न, घरबिदामा जान र सपरिवार कारगारमा बस्न पाउने व्यवस्था हुनेछ । राज्यले थप सुविधा नदिने तर दैनिक हाजिर लगाएर दिनभर आफ्नो काममा जान पाइन्छ तर सुत्न भने साँझ कारागारमै आइपुग्नुपर्ने प्रावधान छ । यहाँ परिवारका सदस्यसहित बस्न पाइने व्यवस्था रहेको छ ।

नयाँ बन्ने कारागारमा प्रत्येक कैदीलाई एउटा कोठा दिइने भएकाले पहिलो चरणमा १०० कोठा बनाउन थालिएको हो । नेपालमा खुल्ला कारागार नरहेकाले केन्द्रीय कारागार विभागले गनापुरमा खुल्ला कारागार बनाउन थालेको हो । पाँच वर्षभित्र काम सक्ने लक्ष्य रहे पनि त्यसअनुसार भने कामको प्रगति हुन सकेको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *