सीप मेलाका प्रशिक्षार्थी भन्छन्- हाम्रा लागि ठूलो सहयोग भयो

डिसी नेपाल
२५ वैशाख २०८१ १३:१०

काठमाडौं। काठमाडौं महानगर गौरव योजनाअन्तर्गत ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमअन्तर्गत महानगरपालिकाको सामाजिक विकास विभागले विभिन्न क्षेत्र र पेशाका तालिमहरु सञ्चालन गरिरहेको छ।

यीमध्ये वैशाख १२ गतेबाट सुरु भएको बगैँचे र माली तालिम एउटा पेशाअन्तर्गतको हो। यो १५ दिन अवधिको हो।

माली तालिम लिन आएका प्रशिक्षार्थीले पैसा तिरेर तालिम लिन सक्ने अवस्था नहुँदा महानगरपालिकाले निःशुल्क तालिम दिएपछि यसबाट निकै ठूलो सहयोग भएको बताएका छन्।

हरेक दिन बिहान ७ बजेदेखि ९ बजेसम्म राष्ट्रिय सभा गृहको वगैँचामा प्रशिक्षण हुने गरेको छ। फूल बगैंचा र विरुवा सम्बन्धी व्यवहारिक ज्ञान दिन क्रममा सोमबार प्रशिक्षार्थीलाई रत्नपार्कको अवलोकन भ्रमणका लागि लगिएको थियो। अवलोकनका क्रममा वगैंचाको ढाँचा, बोट, फूल र विरुवाको व्यवस्थापनका बारेमा जानकारी गराइएको थियो।

प्रशिक्षक मदनराज थापाका अनुसार अवलोकनका क्रममा फूल फुल्ने, फूल नफुल्ने, गहनाका रुपमा रापिने, काँटछाँट गर्नु पर्ने विरुवाका बारेमा जानकारी गराइएको थियो । यस्तै बगैँचा निर्माणको ढाँचा, यसका प्रकारका बारेमा अवगत गराइएको थियो ।

१८ वर्ष उमेर पूरा भएका, साधारण लेखपढ गर्न सक्ने, नेपाली नागरिकलाई तालिम उपलब्ध गराइएको छ। तालिममा २५ जनाले प्रशिक्षण लिइरहेका छन्।

फूल तथा विरुवाका बेर्ना उमार्ने, घरभित्र राखिने र बाहिर राखिने फूल तथा विरुवा, यस्ता विरुवाको स्याहार, कलमी, फूल तथा विरुवामा लाग्ने कीरा, रोग र रोकथामका उपायका बारेमा सैद्धान्तिक र व्यवहारिक ज्ञान र सिप माली तालिमको पाठ्यक्रम हो।

यससँगै बगैँचामा गर्नु पर्ने काममा, डेड हेडिङ्, पिन्चिङ्, डिस्बर्डिङ्, फिडिङ्, गोडमेल, सपोर्ट, सिँचाइँलगायतका विषयमा प्रयोगात्मक सिप सिकाइन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *