दुबई जान हिँडेका १० नेपाली युवालाई जहाजको ढोकाबाटै तानियो, सबैको ‘प्रस्थान अनुमति’ रद्द

डिसी नेपाल
७ माघ २०७६ १३:३०

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलको अन्तिम प्रस्थान कक्षबाट जहाजको ढोकासम्म पुगेका १० जना नेपाली युवाहरुलाई जहाजको ढोकाबाटै तानेर निकालेको पाइएको छ । घटना गत हप्ता अर्थात् पुस २८ गतेको हो ।

साँझ ६ बजेर ४० मिनेटमा उड्ने एयर अरेबियाको उडान नं जी ९५३८ बाट नेपाली युवाहरुको सो समूह दुबई जानका लागि तीन घण्टाअघि नै विमानस्थल पुगेको थियो । उनीहरु विमानास्थलस्थित एयर अरेवियाको टिकट काउण्टरमा सम्पूर्ण प्रक्रिया पूरा गरी माथिल्लो तल्लामा रहेको अध्यागमन डेक्सतर्फ गए । उनीहरु एउटा समूहमा नै भएकाले एउटै लाइनमा बसेर अध्यागमन डेक्सबाट विना कुनै अवरोध सरासर ‘डिपार्चर स्ट्याम्प’ लगाउन सफल भए ।

स्रोतका अनुसार, अध्यागमनका कर्मचारीहरुले यी १० जना युवाको नाम पहिला नै पाइसकेका थिए । त्यही गोप्य लिष्ट हेरेर उनीहरुलाई नेपालबाट दुवई जाने प्रस्थान अनुमति दिइएको थियो । बिना कुनै सोधपुछ सिधै टोलीलाई प्रस्थान अनुमति दिएको कुराले अध्यागमनमा निगरानी गरिरहेको प्रहरीको टोली सशंकित बनेको थियो । विमानस्थल प्रहरी स्रोतका अनुसार, प्रहरीले ती दशै जनालाई अध्यागमन पार गरेपछि पछ्याउन थाल्यो ।

आफूले प्रस्थान अनुमति दिएका व्यक्तिहरुलाई प्रहरीले पच्छाउन थालेको सुइँको पाएपछि अध्यागमन कार्यालयका कर्मचारीहरुमा खैलाबैला भएको थियो ।

दशै जना युवाहरु लाइन लागेर अध्यागमनपछिको अन्तिम सुरक्षा जाँच गर्ने ठाउँमा पुग्दा सादा पोशाकका प्रहरीहरुले उनीहरुको पासपोर्ट र भिषाको वैधानिकता फेरि जाँच गर्न चाहे । उनीहरुको साथमा कुनै अवैधानिक वस्तुहरु नभएको र सुरक्षामा कुनै खतरा नभएकाले स्वाभाविक रुपमा अन्तिम सुरक्षा जाँच पनि उनीहरुले पास गरे ।

स्रोतका अनुसार, त्यसपछिको स्टराइल हलमा पुगेका उनीहरुलाई प्रहरीले थप निगरानी बढाई उनीहरुको भिषा परीक्षण ग¥यो । उनीहरु कुनै कामदार भिषामा दुबई जान लागेका थिएनन् । समूहमै गए पनि उनीहरुको पासपोर्टमा भिजिट भिसा लगाइएको थियो । अर्थात् दुबई सरकारको भिजिट गर्ने अनुमति पत्र उनीहरुसँग थियो ।

घटना विवरणअनुसार, प्रहरीले आफूहरुलाई थाहै नदिई अध्यागमन अधिकारीहरुले म्यानपावर दलालसँग मिलेर सेटिङमा यी युवाहरुलाई दुबई पठाउन लागेको सूचना यसबीचमा प्राप्त गर्यो । त्यसपछि थप चेकजाँच गर्ने निर्णयमा प्रहरीको सादा पोशाकवाला समूह पुगेपछि उनीहरुको थप चेक जाँच शुरु भयो । यतिबेलासम्म जहाज चढ्ने समय भइसकेको थियो र उनीहरु जहाज चढ्ने ढोकासम्म पुगिसकेका थिए ।

प्रहरीले उनीहरुलाई सो ढोकामै रोकिने आदेश दियो र थप जाँच गर्यो । यसरी जाँच गर्दा उनीहरुको साथमा १ हजार अमेरिकी डलर बराबरको विदेशी मुद्रा सटही नगरेको फेला पर्यो ।

भिजिट भिषामा विदेश घुम्न जानेहरुका लागि अनिवार्यरुपमा १ हजार अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा सटही गरेर प्रत्येक व्यक्तिले आफूसँग बोक्नै पर्ने नियम छ ।

दशैजनासँग सो रकम नभएपछि उनीहरु भ्रमणका लागि नभई अन्य कामका लागि दुवई जान लागेको र अध्यागमनले घुस खाई दलालसँगको सेटिङमा उनीहरुलाई दुबई पठाउन लागेको निष्कर्षमा प्रहरी पुग्यो । त्यसपछि उनीहरुलाई ढोकाबाटै पक्राऊ गरी अध्यागमन कार्यालय पठाइएको थियो ।

यता प्रहरीले जहाज चढ्ने ढोकाबाट मान्छे फर्काइदिएपछि अध्यागमन कार्यालयमा खैलाबैला भएको थियो । जो–जो यो प्रकरणमा स्ट्याम्प लगाइदिन सहभागी थिए उनीहरु तत्काल कार्यालयबाट अन्यत्र छलिएका थिए ।

घुस खाएर सेटिङमा मान्छेको तस्करीमा संलग्न भएको आरोपमा पक्राउ पर्न सक्ने डरले उनीहरु छलिएका थिए । तर, प्रहरीले कर्मचारीलाई पक्राउ गर्नेतिर वास्ता नगरेपछि यो प्रकरणलाई सामसुम पार्न विमानास्थलको अध्यागमन कार्यालय नै लागेको थियो ।

डिसी नेपाललाई प्राप्त सूचनाअनुसार, सो दिन यसरी जहाज चढ्ने ढोकासम्म पुगेर फर्काइएकाहरुमा झापा घर भएका पासपोर्ट नं ०९४७१७५३ का दुरेन्द्रकुमार श्रेष्ठ, उदयपुर घर भएका पासपोर्ट नं ०५४३७८०३ का जसबहादुर राई, धादिङका १०२९१९९५ पासपोर्ट नम्बर भएका राजीव तामाङ, धनकुटाका पासपोर्ट नं ०६६१६२४३ भएका सुरेन्द्रबहादुर लिम्बु, स्याङजाका पासपोर्ट नं १०२०६०५७ भएका कुलबहादुर आले, स्याङजाकै पासपार्ट नं ११६८१२१३ भएका ताराबहादुर आले, पाल्पाका ०७२४९४३५ पासपोर्ट नं भएका नारायण कामी, झापाका ०७७१७८८४ पासपोर्ट नम्बर भएका मोहम्मद नसिम, सर्लाहीका पासपोर्ट नं ०९५२६७६१ भएका दीपेनकुमार जोगी र कैलालीका पासपोर्ट नं ०६५६५४५४ भएका तुलबहादुर बिक छन् ।

अध्यागमन विभागका महानिर्देशक ईश्वरीराज पौडेलले उनीहरुलाई चेकजाँचको क्रममा प्रहरीले फर्काएको पुष्टि गरे पनि उनीहरुलाई पठाउने काममा अध्यागमनका कर्मचारीको संलग्नताको कुरा भने स्वीकार गरेनन् । ‘भिजिट भिषामा जान लागेका व्यक्तिको साथमा १ हजार डलर अनिवार्य हुनुपर्ने नियम छ, उनीहरुको साथमा सो रकम नभेटिएकोले प्रहरीले फर्काएको हो’ पौडेलले डिसीनेपालसँग भने ।

ती दशैजनालाई नियमअनुसार साथमा हुनुपर्ने रकम नभएकोले फर्काइएको भए पनि पक्राउ नगरिएको उनले बताए । उनीहरु अहिले कहाँ छन् भन्ने प्रश्नमा उनले भने ‘उनीहरुलाई उड्न रोकिएको मात्र हो त्यसपछि उनीहरु जहाँ जान पनि स्वतन्त्र छन् । यतै कतै बजारमा होलान् त्यो हामीलाई थाहा भएन ।’

विमानस्थल अध्यागमनका कर्मचारीले भने आफूले पठाइसकेका व्यक्तिलाई प्रहरीले फर्काएर आफ्नो क्षेत्राधिकार मिचेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । पक्राऊ परेपछि तत्काल उनीहरुको अध्यागमन अनुमति पत्रलाई रद्द गरिएको भएपनि उनीहरुको बयानमा के–के कुरा उल्लेख छ भन्नेबारे खुल्न सकेको छैन ।

साथै उनीहरुको पछिल्लो अवस्था र फेरि उडान अनुमति पाउने नपाउने भन्नेबारे पनि कुरा खुल्न सकेको छैन । देशका विभिन्न भागबाट दुवई जान लागेका यी युवाहरु म्यानपावर दलाल र अध्यागमन विभागका कर्मचारीको सेटिङमा परेर थप पीडित बनेका छन् ।

नेकपाका सिनियर नेता रामबहादुर थापा बादलले सम्हालेको गृहमन्त्रालय अन्तर्गतको अध्यागमन कार्यालयबाट यसरी सेटिङमा मानव तस्करी भएको यो घटनालाई गुपचुप राखिनु थप रहस्यको विषय हो । मन्त्रीले विश्वास गरेर छानेका अधिकांश व्यक्तिहरु अध्यागमन कार्यालय त्रिभुवन विमानास्थलमा कार्यरत भएकाले सेटिङमा संलग्नहरुमाथि कारवाही गर्नुको साटो घटनालाई गुपचुप राख्ने प्रयास भएको अध्यागमन स्रोतले बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *