मंहगो भएपछि सुन आयात आधा घट्यो

डिसी नेपाल
१० माघ २०७६ १४:१६

काठमाडौं। बजारमा सुनको भाउ महंगो भएपछि आयात आधा घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको मंसिरसम्ममा ६ अर्व ९० करोड रुपैयाँ बराबरको सुन आयात भएको छ। अघिल्लो आवको यसै अवधिमा १४ अर्व ६५ करोड बराबरको सुन आयात भएको थियो।

सुनको भाउ उच्च भएपछि कारोबार ठप्पप्राय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। ‘सुनको भाउ उच्च भएपछि अत्यावश्यक अवस्थामा मात्र नेपालीले सुन किन्न थालेका छन्’, महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले भने, ‘विवाहलगायतका शुभकार्यका लागि गर्जो टार्ने हिसावले मात्र सुनको कारोबार भइरहेको छ।’

नेपाली बजारमा सुनको आयात नियन्त्रण गर्न राष्ट्र बैंकले कोटा निर्धारण गरेको छ। जसअनुसार बाणिज्य बैंकहरुले दैनिक अधिकतम २० केजीसम्म सुन आयात गरी व्यवसायीलाई बिक्री गर्न पाउछन्।

आयात गरेकै सुन बिक्री नभएकाले कारण अहिले बैंकहरुले नयाँ आयात गरेका छैनन्। नेपाली बजारमा शुक्रबार सुनको भाउ प्रतितोला ७५ हजार भन्दा माथी रहेको छ। अघिल्लो वर्ष यही अवधिमा सुनको भाउ प्रतितोला ६१ हजार रुपैयाँ हाराहारीमा रहेको छ।

नेपालीहरुले सुनलाई सुखः मा गहना र दुखःमा खजनाको रुपमा प्रयोग गर्छन्। आफूसँग पैसा हुँदा बचतका रुपमा समेत सुन किनेर राख्ने चलन छ। तर, एक वर्षयता सुनको भाउ लगातार बढिरहेकाले अत्यावश्यक काम बाहेक सुन खरिद गर्न छोडेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *