निवर्तमान उपसभामुखद्वारा संसदीय दलमा आफ्ना लागि छुट्टै कार्यालयको व्यवस्था गर्न माग

डिसी नेपाल
१२ माघ २०७६ ८:३१

काठमाडौं। उपसभामुखबाट राजीनामा दिएकी शिवमाया तुम्बाहाम्फेले संसदीय दलमा आफ्ना लागि छुट्टै कार्यालयको व्यवस्था गर्न माग गरेकी छन्। उनले नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङलाई भेटी आफ्ना लागि संसदीय दलमा छुट्टै कार्यालयको व्यवस्था गर्न माग गरेकी हुन्।

उनले आफूलाई संसदीय दलमा छुट्टै कार्याकक्ष चाहिने भन्दै अडान राखेपछि संसदीय दलका उपनेता नेम्वाङले आइतबार (आज) देखि संसदीय दलको कार्यालयमा छुट्टै कोठाको व्यावस्था गर्ने आश्वासन दिएका थिए।

उपसभामुखको हैसियतमा उनलाई संसद सचिवालयले छुट्टै कार्यालयको व्यवस्था गरेको थियो। आफू पूर्व उपसभामुखको हैसियतमा आफूलाई पनि संसदीय दलभित्र छुट्टै कार्यालयको व्यवस्था गर्न उनले माग गरेकी हुन्।

‘म उपसभामुखबाट राजीनामा दिएपछि शुक्रबार संसदीय दलको कार्यालयमा गएकी थिएँ। त्यहाँ पत्रकार साथीहरुले मसँग कुरा गर्न खोज्नु भयो, तर कुरा गर्नलाई बस्ने ठाउँ नै थिएन,’ तुम्बाहाम्फेले डिसी नेपालसँग भनिन्, ‘त्यसपछि मैले संसदीय दलका उपनेतालाईलाई आफ्नो लागि बस्ने छुट्टै कोठाको व्यावस्था गर्न आग्रह गरेकी हुँ।’

उनले आफ्ना लागि बस्ने छुट्टै कोठाको व्यवस्था गर्न माग गरेपछि संसदीय दलका उपनेता नेम्वाङले छुट्टै कोठाको व्यावस्था गर्ने आश्वासन दिएका थिए।

तत्कालीन सभामुख कृष्णबहादुर महराले यौन दुर्व्यवहारको आरोपमा राजीनामा दिएपछि तुम्बाहाम्फेले सभामुखमा दाबी गरेकी थिइन्। उनलाई पार्टीले राजीनामा दिन गरेको आग्रहलाई समेत अस्वीकार गर्दै राजीनामा नदिने चेतावनी दिएकी थिइन्। पार्टीले अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेपछि उनले पदबाट राजीनामा दिएकी थिइन्।

तुम्बाहाम्फेलाई मन्त्री बनाउने चर्चा चलेको छ। उनलाई कानुन मन्त्रालय र सहरी विकास मन्त्रालयमध्ये एउटा रोज्न पार्टीको आग्रह गरेको बताइएको छ। तर उनले कुन मन्त्रालय लिने भन्ने विषयमा निर्णय गरिसकेकी छैनन्। केहीले उनलाई कानुन मन्त्रालय लिन सुझाव समेत दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *