नेकपा बैठक : प्रतिवेदनमाथि आजदेखि समूहगत छलफल

डिसी नेपाल
१६ माघ २०७६ ७:१७

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकमा आजदेखि समूहगत छलफल हुने छ। राष्ट्रियसभागृहमा बुधबारदेखि शुरु भएको बैठकमा आजदेखि वर्णानुक्रमअनुसार १५ समूह विभाजन गरी प्रतिवेदनमाथि समूहगत छलफल गर्ने तयारी भएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए।

महासचिव विष्णुप्रसाद पौडेलले समूहगत छलफलका लागि १५ समूहमा केन्द्रीय सदस्यलाई विभाजन गरेका थिए। वर्णानुक्रमअनुसार ४४१ केन्द्रीय सदस्यलाई विभिन्न १५ समूहमा विभाजन गरिएको हो।

बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी २०७७ चैत मसान्तसम्म पार्टीको एकता महाधिवेशन गर्ने प्रस्ताव पेश गरे। त्यसैगरी बैठकमा महासचिव पौडेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरे।

बुधबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन मन्तव्य दिएर बैठक शुभारम्भ गरेका थिए। प्रधानमन्त्री ओलीले उद्घाटन गरेपछि केहीबेरलाई स्थगित भएर पुनः बैठकको बन्दसत्र शुरु भएको थियो।

उक्त १५ समूहमा सचिवालय सदस्य रहने छैनन्। समूह नेताले समूहका तर्फबाट २० मिनेटमा लिखित प्रतिवेदन प्रस्तुत गर्ने कार्य्विधिसमेत बनाइएको छ। अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदन र महासचिवको साङ्गठनिक प्रतिवेदनमाथि बिहीबारदेखि नै समूहगत छलफल हुने छ।

छलफलपछि शुक्रबार र शनिबार समूहका नेताले आ–आफ्नो समूहको तर्फबाट लिखित प्रतिवेदन प्रस्तुत गर्ने कार्य्विधि रहेको छ।

यसैगरी बैठकमा केन्द्रीय निकायका अध्यक्षलाई समेत बोल्ने दिइने भएको छ। निकायका अध्यक्षलाई १० मिनेट समय छुट्याइएको छ। कार्य्विधिअनुसार आइतबार समूहगत छलफलमा उठेका विषयमा निष्कर्ष प्रस्तुत गर्ने र दस्तावेज पारित गर्ने कार्यतालिका रहेको छ।

बैठकमा सचिवालय र स्थायी कमिटी बैठकले गरेका निर्णयउपर छलफल गर्ने र अनुमोदन गर्ने कार्यतालिका रहेको छ। बैठकमा श्रव्य र दृश्य सङ्कलन गरिने छ। बैठक बुधबारबाट माघ १९ गतेसम्म प्रत्येक दिन बिहान ११ देखि साँझ ५ बजेसम्म सञ्चालन हुने छ। पार्टी एकतापछि पहिलोपटक कार्यसूचीसहित दोस्रो बैठकमा केन्द्रीय कमिटीका ४४१ सदस्यको सहभागिता रहनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *