टोखा नगरपालिकाः भूकम्पले भत्काएका ६७७ घर पुनःनिर्माण

डिसी नेपाल
१९ माघ २०७६ ६:३९

काठमाडौँ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिकामा ६७७ घर पुनःनिर्माण भएको छ।

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले भत्काएका एक हजार ७४९ घरमध्ये ६७७ घर पुनःनिर्माण भएको हो।

नगरपालिकाका पुनःनिर्माण शाखा प्रमुख प्रतिक्षा त्रिपाठीले भूकम्पले क्षति पु¥याएका एक हजार ७४९ घरमध्ये एक हजार ५४७ घरले पहिलो किस्ता, ७५२ घरले दोस्रो किस्ता र ६७७ घरले निर्माण सम्पन्न गरिसकेको जानकारी दिए ।

नगरपालिकाले सरकारले तोकेको रकमअनुुसार पहिलो किस्ताबापत रु ५० हजार, दोस्रो किस्ताबापत रु एक लाख ५० हजार र घर पुनःनिर्माण भएपछि तेस्रो किस्ताबापत रु एक लाख प्रदान गर्दै आएको छ।

नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले भूकम्पपीडितले नगरपालिकामा दिएको निवेदनका आधारमा अध्ययन गरी रकम उपलब्ध गराउँदै आएको जानकारी दिए ।

“घरको क्षतिका आधारमा वडाबाट आएको सिफारिसका आधारमा रकम प्रदान गर्दै आएका छौँ”, उनले भने । नगरपालिकाले सरकारले तोकेअनुसार माघ मसान्तभित्र पहिलो किस्ता लिनुपर्ने बताएको छ।

यस्तै नगरपालिकाले सरकारले दिने रकमबाहेक पैसाकै अभावले घर बनाउन नसक्ने नगरवासीलाई बैंकबाट सहुलियत ब्याजदरमा रकम उपलब्ध गराउन सहयोग गर्नेसमेत गरेको छ।

विस २०७२ को भूकम्पले टोखा नगरपालिकाभित्रको झोर र टोखा बजारमा ठूलो क्षति पुर्याएको थियो। नगरपालिकाले पूर्ण क्षति नभएका घरलाई ‘रेट्रोफिटिङ’का लागिसमेत रकम उपलब्ध गराउँदै आएको छ।

नगरपालिकामा ‘रेट्रोफिटिङ’का लागि ५३ निवेदन आए पनि अध्ययन र अनुसन्धानका आधारमा पाँच जनालाई रकम उपलब्ध गराएको छ।

नगरपालिकाले रेट्रोफिटिङका लागि भने रु एक लाख उपलब्ध गराउँछ। भूकम्पबाट क्षति पुगेको घर पुनःनिर्माणका लागि आवश्यकपर्ने काठ भने जिल्ला वन कार्यालयबाट समन्वय गरेर उपलब्ध भइरहेको नगरपालिकाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *