चितवनमा विषाक्त खानाले एक गर्भवतीसहित ३ गैँडा मरे
भरतपुर । चितवन राष्ट्रिय निकुञ्जमा कालगतिले मरेका १४ गैँडामध्ये तीन विषाक्त खानाले मरेका छन्।
शनिबार पूर्वी नवलपरासीको सेहेरीमा मृत फेला परेको गैँडा विषाक्त खानाका कारण मरेको प्रारम्भिक अध्ययनले देखाएको छ ।
निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. विजय श्रेष्ठका अनुसार गत हप्ता तमासपुर क्षेत्रमा एउटा गैँडा र एक महिनाअघि गाँजीपुर क्षेत्रमा अर्को एक गैँडा विषाक्त खानाकै कारण मरेको प्रारम्भिक अध्ययनले देखाएको छ।
गत साता अघि मरेको गैँडाको पेटमा १० महिनाको बच्चासमेत रहेको थियो । श्रेष्ठका अनुसार ती गैँडाको आन्द्रा र पेटमा रक्तश्राव भएको शव परीक्षणमा देखिएको छ।
यद्यपि कारण प्रष्ट हुनका लागि विषादी परीक्षण गर्न प्रयोगशालाको खोजी भइरहेको उनले जानकारी दिए।
श्रेष्ठले भने, “ती गैँडाका अङ्गको नमूना सुरक्षित राखेका छौँ, कहाँ विषादीको परीक्षण हुन्छ बुझ्ने काम भइरहेको छ ।” मरेका तीनै गैँडाको अन्य महत्वपूर्ण अङ्गमा कुनै समस्या नदेखिएको उनले बताए ।
सबै गैँडाको पेटमा तोरी देखिएको भन्दै उहाँले विशाक्त तोरीका कारण मरेका पनि हुनसक्ने अनुमान गरिएको जानकारी दिए । यद्यपि प्रयोगशालाबाट परीक्षण भएपछि मात्र यकीन भन्न सकिने उनको भनाइ छ।
शनिबार सेहेरीमा भेटिएको गैँडा भाले हो भने अन्य दुई पोथी गैँडा हुन् । यससँगै अन्य कालगतिले मरेका गैँडा बुढो भएर, जुधेर, दलदलमा फसेर र करेन्ट लागेर मरेका उनले बताए ।
गत कात्तिकदेखि चालु महीनासम्म प्राकृतिक कारणले धेरै गैँडा मर्ने गरेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ। गत साल प्राकृतिक कारणले ४३ गैँडा मरेका थिए। यस वर्ष सात महिना पुग्न लाग्दा १४ गैँडा मरेका छन्।
तुलनात्मक हिसाबले कम गैँडा मरेका भए पनि निकुञ्जले प्राकृतिक कारणको मृत्यु दर अझ घटाउन गृहकार्यमा रहेको जनाएको छ।
वन मन्त्रालयले प्राकृतिक कारणले गैँडा मर्नुका कारण पत्ता लगाउन समितिसमेत गठन गरेको छ।
अघिल्ला वर्षमा पनि वार्षिक २५ हाराहारी गैँडा कालगतिले मरेको तथ्याङ्क छ। हरेक पाँच/पाँच वर्षमा गैँडा गणना गर्ने गरिन्छ।
पछिल्लो गणनाअनुसार सो निकुञ्जमा ६०५ गैँडा रहेका थिए । यस वर्ष निकुञ्जमा गैँडा गणना गरिँदैछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment