कोरोना भाइरसको संक्रमणबाट उत्पन्न समस्याप्रति पर्यटन व्यावसायी दुखी

डिसी नेपाल
२१ माघ २०७६ १४:२६

काठमाडौं। चीनको वुहानबाट देखा परेको कोरोना भाइरसको संक्रमणले उत्पन्न समस्याप्रति नेपाली पर्यटन व्यवसायीहरुले दुख व्यक्त गरेका छन्। होटल संघ नेपाल (हान) र नेपाल भ्रमण वर्ष सचिवालय २०२० ले संयुक्त विज्ञप्तिमार्फत अफ्ठ्यारो परिस्थितिसँग जुध्न चीन सरकारले गरिरहेको प्रयासप्रति ऐक्यवद्धता जनाउँदै दुख व्यक्त गरेका हुन्।

हानका अध्यक्ष सृजना राणाले भ्रमण वर्षको सुरुवाती महिनामा केही चिनियाँ पर्यटकहरु कम आउने भएपनि होटलमा भएका पाहुनाहरुलाई कोरोना भाइरसको पूर्व सावधानी अपनाउन र संकेत देखिने वित्तिकै अस्पताल लैजान परिपत्र गरिसकेको बताए।

विश्वमा देखिएको भाइरसको संक्रमणबाट पर्यटन व्यवसायी र नेपाल भ्रमण वर्ष २०२० को सचिवालय विचलित नभइ अन्य छिमेकी मुलुकहरुबाट लक्ष्य अनुसार पर्यटक भित्र्याउन अहोरात्र खटिरहेको उनले बताए। भात, बंगलादेश, मध्यपूर्व, दक्षिण पूर्वी एसियालगायतका मुलुकबाट पर्यटक भित्र्याउन खटिरहेको जानकारी उनले दिए।

नेपाल भ्रमण वर्ष सचिवालयका संयोजक सुरज वैद्यले चिनियाँ पर्यटकहरु कम हुँदा होटल व्यवसायी मात्रै नभएर कृषक र ट्याक्सी चालकहरुलाई समेत समस्या परेको बताए। नेपाल भ्रमण वर्षको प्रचारसँगै कोरोना भाइरसका विषयमा पनि सचेत रहन र यसबाट कसरी जोगिने भन्ने विषयमा सन्देश दिन अभियान नै सञ्चालन गरिएको बताए।  गत डिसेम्बरमा चीनमा देखा परेको कोरोना भाइरसको संक्रमणबाट ४ सय भन्दा बढीको मृत्यु भएको छ। विभिन्न मुलुकमा २० हजार भन्दा बढी प्रभावित भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *