प्रदेश सरकारले नमूना विद्यालय बनाउने

डिसी नेपाल
२३ माघ २०७६ १८:४१

चुरियामाई । सामुदायिक विद्यालयको गुणस्तर बढाउन वाग्मती प्रदेश सरकारले नमूना विद्यालय निर्माणलाई उच्च प्राथमिकता दिएको छ ।

चालू आर्थिक वर्षमा प्रदेशअन्तर्गत १२ जिल्लाका २० सामुदायिक विद्यालयलाई नमूनाका लागि छनोट गरिसकेको छ । यसरी छानिएका विद्यालयको पूर्वाधार विकासका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा ११ करोड २० लाख बजेट विनियोजन गरेको छ ।

नमूना विद्यालयको अवधारणाले विद्यालयको भौतिक, शैक्षिक र अन्य अवस्थामा सुधार ल्याई सिकाइ उपलब्धिमा वृद्धि गर्नेछ । सामाजिक विकास मन्त्रालयले विद्यालयको शैक्षिक अवस्था, विद्यार्थीको सङ्ख्या, विद्यालयको जग्गा भवन, अध्ययन अध्यापनको अवस्थालगायत पूर्वाधारको अवस्थाको विषयमा मूल्याङ्कन गरी नमूना विद्यालयल छनोट गरिएको हो ।

मन्त्रालयको शिक्षा महानिर्देशनालयका अनुसार मकवानपुर, धादिङ, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, रामेछापका दुई÷दुई विद्यालय छनोट भएका छन् । त्यस्तै नुवाकोट, भक्तपुर, ललितपुर, काठमाडौँ र दोलखाका एक/एक विद्यालय नमूना विद्यालय विकास योजनामा परेको बताइएको छ । त्यसैगरी, चितवनको तीन विद्यालय नमूना विद्यालयका रुपमा छनोटमा परेको जनाइएको छ ।

विद्यालयको गुरुयोजना तयारका लागि प्रत्येक विद्यालयलाई ६ लाखका दरले रकम उपलब्ध गराएको र गुरुयोजना प्रतिवेदन प्राप्त भइसकेको महानिर्देशनालय दर्ता शाखाका अधिकृत हरि भण्डारीले जानकारी दिए । उनका अनुसार चालु आवमा प्रत्येक विद्यालयलाई ५० लाखका दरले रकम पठाउने तयारी भइरहेको छ । आगामी आवमा गुरुयोजनाअनुसार थप बजेट पठाउने भण्डारीले बताए ।

त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले हालसम्म २ सय २२ सामुदायिक विद्यालयलाई नमूनाका लागि छनोट गरिसकेको छ । त्यसमा मकवानपुरका चार विद्यालय परेका छन् । ती विद्यालयको संरचना निर्माण दु्रतगतिमा भइरहेको बताइको छ ।

त्यस्तै, जाइकाको आर्थिक सहयोगमा मकवानपुर जिल्लाको दुई दर्जन विद्यालय भवन लगायतका पूर्वाधार निर्माण कार्य भइरहेको छ । जसअन्तर्गत करिब एक दर्जन विद्यालय निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको जाइकाका इञ्जिनीयर आदित्य ठाकुरले जानकारी दिए । अधिकांश विद्यालय भूकम्प प्रतिरोधात्मक हिसाबले निर्माण गरिएको उनको भनाइ छ ।

त्यसैगरी, पुनःनिर्माण प्राधिकरण एकाइ शाखा मकवानपुरद्वारा भूकम्पबाट क्षतिग्रस्त भएका विद्यालयको भवनको निर्माण भइरहेको जनाइएको छ । अबको एक वर्षभित्र अधिकांश भवन निर्माण गरिसक्ने गरी निर्माण कार्य अगाडि बढाइएको सम्बन्धित निकायको भनाइ छ ।

त्यस्तै हेटौँडा उपमहानगरपालिकाले पनि महानगरभित्रका विद्यालयको भवन स्तरोन्नतिसमेत गरेको छ । हेटौँडाको नमूना विद्यालयमा छनोट भएको र २०६० सालदेखि लगातार एसएलसीमा जिल्ला प्रथम हुँदै आएको सामुदायिक विद्यालय आधुनिक राष्ट्रिय उच्च माविका पूर्वप्राचार्य ऋषिराम पोखरेलले विद्यालयको गुणस्तरीय शिक्षाका लागि भवन मात्र राम्रो भएर नपुग्ने बताउँदै त्यसका लागि व्यावहारिक र प्रयोगात्मक शिक्षण शैलीमा समेत जोड दिनुपर्ने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *