संसद् अवरुद्ध पार्नु लोकतान्त्रिक मान्यता विपरीत : प्रवक्ता श्रेष्ठ

डिसी नेपाल
२४ माघ २०७६ २०:५१

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको निर्णयविरुद्ध नेपाली काँग्रेसले संसद् नै अवरुद्ध गर्नु लोकतान्त्रिक मान्यताविपरीत रहेको बताएका छन् । गोरखा सदरमुकाममा शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै श्रेष्ठले अख्तियारले गर्ने निर्णयमा सरकारको कुनै हस्तक्षेप नहुने बताए ।

“अख्तियारले के निर्णय गर्छ भन्ने कुरा सरकारले बताउने कुरा होइन”, प्रवक्ता श्रेष्ठले भने, “सरकारले निर्देशन दिएर अख्तियार चल्दैन भन्ने कुरा काँग्रेसले बुझ्नुपर्छ ।” उनले ललिता निवास प्रकरणमा अख्तियारले गरेको निर्णयबिना कुनै पूर्वाग्रह गरेको होला भन्नेमा आफू विश्वस्त रहेको उल्लेख गरे।

प्रवक्ता श्रेष्ठले लोकतन्त्रका निम्ति तपस्या गर्ने र लोकतन्त्रका लागि सङ्र्घष गर्ने नेपाली काँग्रेस जस्तो पार्टीले अख्तियार संवैधानिक निकाय हो भन्ने जान्दाजान्दै नजाने जस्तो गरेको आरोप लगाए । “सरकारले अख्तियारको काम कारवाहीमाथि दबाब दिनु हुँदैन भन्ने राम्रोसँग बुझेको छ”, उनले भने, “ललिता निवास प्रकरणमा अख्तियारले गरेको निर्णय उसको स्वतन्त्र निर्णय हो ।”

सो प्रकरणमा अख्तियारले अझै थप निष्कर्ष निकाल्नु छ भने निकालोस् भन्ने पक्षमा आफ्नो पार्टी रहेको उनले बताए । प्रवक्ता श्रेष्ठले कुनै पनि संवैधानिक निकायमाथि सरकारले कुनै खालको हस्तक्षेप नगर्ने उल्लेख गरे । काँग्रेसले अख्तियारको विरुद्ध आन्दोलन नभई थप अनुसन्धानमूलक बनाउन सघाउनुपर्नेमा उनले जोड दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *