जनयुद्ध दिवसको कार्यक्रममा प्रधानमन्त्री ओली अनुपस्थित

डिसी नेपाल
१ फागुन २०७६ १०:०९

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीले आज विभिन्न कार्यक्रम गरी ‘जनयुद्ध’ दिवस मनाउँदै छ। नेकपाले पार्टी कार्यालय धुम्बाराहीमा जनयुद्ध दिवसको अवसरमा कार्यक्रमको आयोजना गरेको छ। त्यहाँ नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीपनि सहाभागी हुने कार्यक्रम तय भएको थियो।

तर अन्तिम अवस्थामा प्रधानमन्त्री ओली कार्यक्रममा सहभागी भएनन्। यसअघि प्रधानमन्त्री जनयुद्ध दिवसमा सहभागी हुने तय भएको थियो। नेकपासांसद कृष्णगोपाल श्रेष्ठले दुई अध्यक्षको सहमतिमा नै कार्यक्रम राखिएको र प्रधानमन्त्री ओली पनि कार्यक्रममा सहभागी हुने बताएका थिए।

यसअघि नेकपा केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजाले सूचना जारी गर्दै ओली र प्रचण्ड दुवै अध्यक्ष कार्यक्रममा सहभागी हुने जानकारी दिएका थिए।
तर अन्तिम अवस्थमा प्रधानमन्त्री ओली सहभागी भएनन्। डिसी नेपालसँग कुरा गर्दै सांसद कृष्णगोपाल श्रेष्ठले डाक्टरले धेरै भिडभाडमा जान रोक नलगाए उहाँ (ओली) कार्यक्रममा सहभागी हुने बताएका थिए।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीककरण भएपछि फागुन १ लाई जनआन्दोलन र जनयुद्धमा सहिद भएकाहरूको स्मृतिका रूपमा लिन थालिएको हो।

पार्टी एकताको पहिलो वर्ष पार्टी कार्यालय धुम्बाराहीमा विशेष कार्यक्रम आयोजना गरी नेकपाले जनयुद्ध दिवस मनाएको थियो। त्यतिबेला अध्यक्ष ओलीसहित माधवकुमार नेपाल, झलनाथ खनाल, ईश्वर पोखरेललगायत नेताहरू सहभागी भएनन्।

पूर्वएमालेका अमृत बोहोरा, वामदेव गौतम, सुवास नेम्वाङ, महासचिव पौडेल भने कार्यक्रममा सहभागी भए। उक्त कार्यक्रममा पूर्वमाओवादी कार्यकर्ताको भने भीड नै लागेको थियो।

तत्कालीन नेकपा माओवादीले २०५२ सालमा सशस्त्र युद्ध सुरु गरेको दिनलाई जनयुद्ध दिवसका रूपमा मनाउँदै आएको थियो। तर तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि जनयुद्ध दिवस मनाउने कि नमनाउने भन्ने विषय अन्योलमा थियो।

गत वर्ष पार्टी कार्यालयमा सोही अन्योलकै बीच दिवसलाई जनआन्दोलनका सहिद र जनयुद्धका सहिदको स्मृतिका रूपमा मनाइएको थियो। यसपालि पनि त्यसलाई निरन्तरता दिइएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *