सिकाइमा गुणस्तर वृद्धि गर्दै मातृभाषा शिक्षा

डिसी नेपाल
५ फागुन २०७६ ७:५१

रुकुम । रुकुम (पूर्व) का विभिन्न विद्यालयमा शुरुआत गरिएको मातृभाषाको पठन पाठनले शैक्षिक गुणस्तरमा सुधार आएको छ। जिल्लामा अधिकांशले मगर खाम भाषा बोल्ने गर्दछन्।

शैक्षिक गुणस्तर वृद्धि र विद्यार्थीलाई सिकाइमा सहज तुल्याउन यहाँका भुमे र पुथा उत्तरगङ्गा गाउँपालिकाका सामुदायिक विद्यालयले मातृभाषा (खाम) मा पढाउन थालेपछि विद्यार्थीको सिकाइमा सुधार र सजिलै बुझ्ने गरेको जनाइएको छ।

मगर समुदायका विद्यार्थी नेपाली विषयमा कमजोर भएपछि त्यसको सुधारमा बहुभाषा शिक्षा पढाउन थालिएको हो । भूमे गाउँपालिकाका ४८० र पुथा उत्तरगङ्गा गाउँपालिकाका २०० भन्दा बढी विद्यार्थी मातृ भाषामा पढिरहेका छन्।

यी गाउँपालिकामा मगर समुदायका मात्रै भेला, सम्मेलन, छलफल र अन्य कार्यक्रममा मातृभाषा नै बोल्ने गरिएको छ। सानैदेखि आमाबुबाबाट मातृभाषा सिक्ने गरेको र विद्यालयमा पढ्न जाँदा नेपाली भाषा नै नबुझ्ने गरेको अवस्था रहेकोे छ।

अहिले भूमेका १२ र पुथा उत्तरगङ्गाका १३ विद्यालयले मातृभाषामा पढाउन थालेका छन् । भूमेका आठ विद्यालयले छ वर्षदेखि र चार विद्यालयले दुई वर्षदेखि मातृभाषामा आधारित बहुभाषा शिक्षा पढाइरहेका छन् ।

त्यसैगरी पुथा उत्तरगङ्गा गाउँपालिकाका १३ विद्यालयले गत वैशाखदेखि कक्षा १ मा मातृभाषामा पढाउन थालेका छन् । नेपाली भाषाका पाठ्यपुस्तक पढ्न असहज मानेपछि मातृभाषामै पढाउन थालिएको महेन्द्र माध्यमिक विद्यालयका प्रध्यानाध्यापक खिमबहादुर बुढाक्षेत्रीले जानकारी दिए।

उनका अनुसार सम्बन्धित विषयलाई मातृभाषामा अनुवाद गरी पठनपाठन भइरहेको छ । अभिभावकबाट मातृभाषा मात्रै जानेको तथा त्यसमै कुरा गरिरहेकालाई मातृभाषा सिकाइका लागि राम्रो भएको उनले बताए ।

आधारभूत तहमा जग बलियो भयो भने माथिल्लो तहमा पढ्न सहज हुने भएकाले १ देखि ३ कक्षासम्म मातृभाषामा पढाउन थालिएको उनले बताए ।

आउने शैक्षिक सत्रदेखि कक्षा २ र अर्कोबाट ३ कक्षासम्म मातृ भाषामा पढाउने विद्यालयले जनाएको छ।

उच्च माविसम्मको शिक्षा गाउँमै पूरा गरे पनि बाँकी शिक्षा, लोकसेवा अन्य क्षेत्रमा प्रतिष्पर्धा गर्दा नेपाली कमजोर देखिएपछि खाम भाषामै पढाउन थालेको विद्यालयले जनाएको छ।

यसैगरी भूमे गाउँपालिका–२ गावाङ हिमालय आधारभूत विद्यालयका प्रध्यानाध्यापक गोवद्र्धन बुढामगरले मातृभाषाले वार्षिक विषयगत सिकाइले उपलब्धि बढेको जानकारी दिए ।

उनका अनुसार यस कार्यले अहिले विद्यार्थी नियमित भएको र उपस्थिति दर बढेको छ । अहिले यी दुई गाउँपालिकाभित्रका सामुदायिक विद्यालयले जनक शिक्षा सामग्री केन्द्रले तयार पारेको पाठ्यपुस्तकलाई खाम भाषामा अनुवाद गरी पढाइ रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *