पूर्वाधार निर्माण प्राथमिकतामा : मन्त्री मानन्धर

डिसी नेपाल
१० फागुन २०७६ १९:४८

देवघाट । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले वर्तमान सरकारले पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको बताएका छन् । तनहुँको धार्मिक तीर्थस्थल देवघाटधाममा शनिबार आयोजित कार्यक्रममा राज्यमन्त्री मानन्धरले नयाँ शहरहरुको विकास र ती शहरमा आवश्यक पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकता दिने बताए।

देवघाटधाम नेपालकै धार्मिक, पर्यटकीय र ऐतिहासिक स्थल भएको हुँदा यस क्षेत्रको विकासमा पनि सङ्घीय सरकारले सक्दो सहयोग गर्ने मन्त्री मानन्धरको प्रतिबद्धता थियो । पछिल्लो समय देवघाटमा तीव्र शहरीकरण भएकोले देवघाटधामलाई केन्द्रविन्दुमा राखेर चक्रपथको निर्माण, ढल निकास, सडक कालोपत्रे लगायतको काममा प्रदेश र स्थानीय सरकारसँग समन्वय गरिने मन्त्री मानन्धरले बताए। उनले देवघाटलाई मुक्तिनाथसम्म जोड्ने शालिग्राम करिडोरको स्तरोन्नतिको लागि आवश्यक पर्ने बजेट सङ्घीय सरकारले उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

सांसद कृष्णकुमार श्रेष्ठले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न देवघाटको पनि ठूलो भूमिका रहने भन्दै यहाँको मठ, मन्दिरलगायत विभिन्न संरचनाको थप विकास गर्न सरकारको ध्यानाकर्षण गराउने गराए।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले देवघाटमा आएर त्रिशूली नदीसँग मिसिने कालीगण्डकी नदीको मुहान मुस्ताङको दामोदर कुण्डसम्म आगामी वैशाख–जेठमा सञ्चालन गर्न लागिएको पैदलयात्राका लागि सरकारले सहयोग गर्नका लागि मन्त्री मानन्धरको ध्यानाकर्षण गराए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *