धवलशमशेर र दुर्गा प्रसाईंको नयाँ दल ‘जय नेपाल पार्टी’: धवल सभापति, प्रसाईं सर्वोच्च नेता

डिसी नेपाल
२० साउन २०८३ २०:२२

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर राणा र मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईं मिलेर नयाँ राजनीतिक दल ‘जय नेपाल पार्टी’ दर्ता गर्ने भएका छन्।

पटक-पटकको वार्ता र समझदारीपछि आउँदो साउन २८ गते निर्वाचन आयोगमा दल दर्ता गर्ने अन्तिम टुङ्गो लागेको हो। नयाँ दलको सांगठनिक संरचनाअनुसार डा. धवलशमशेर राणा अध्यक्ष (सभापति) रहनेछन् भने दुर्गा प्रसाईंका लागि ‘सर्वोच्च नेता’को नयाँ पद सिर्जना गरिएको छ।

सुरुमा प्रसाईंलाई ‘सर्वोच्च कमान्डर’ बनाउने तयारी गरिए पनि उनको अडानपछि सर्वोच्च नेताको सम्मान दिइएको स्रोतले जनाएको छ। पार्टी सञ्चालन र नेतृत्व धवलले गर्नेछन् भने आगामी निर्वाचनपछि प्रसाईंलाई संसदीय दलको नेता बनाउने प्रारम्भिक समझदारीसमेत भएको छ।

पार्टीको केन्द्रीय कार्यालय काठमाडौँको चाबहिलमा राखिएको छ भने विधान तयार भइसकेको छ। पाँचथरका युवा नेता सगुन लावती, मुकुन्दश्याम गिरी र दीलनाथ गिरीसहितका नेताहरू यस अभियानमा जोडिएका छन्।

राप्रपा र वामपन्थी पृष्ठभूमिबाट एक ठाउँमा डा. धवलशमशेर राणाले गत जेठ २१ गते उपाध्यक्ष मुकुन्दश्याम गिरी र पूर्वमन्त्री दीलनाथ गिरीसहित १८३ जना नेता-कार्यकर्तासहित राप्रपाबाट सामूहिक राजीनामा दिएका थिए।

अर्कोतर्फ, कुनै समय तत्कालीन नेकपा (माओवादी) मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पछि नेकपा (एमाले) को केन्द्रीय सदस्य तथा अर्थ विभाग उपप्रमुख रहेका दुर्गा प्रसाईं एमाले छाडेपछि ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ महाअभियान’ सञ्चालन गर्दै राजावादी कित्तामा उभिएका थिए।

आर्थिक मन्दी, लघुवित्तको समस्या, युवा पलायन र वर्तमान व्यवस्थाविरुद्ध आवाज उठाउँदै आएका प्रसाईंले २०८१ चैत १५ गते काठमाडौँमा गरेको आन्दोलनका क्रममा दुई जनाको ज्यान समेत गएको थियो।

पछिल्लो समय विवादित अभिव्यक्ति र कानुनी झमेलामा पर्दै आएका प्रसाईं र राप्रपाबाट अलग्गिएका धवलको यो गठबन्धनले राजावादी तथा धार्मिक-सांस्कृतिक एजेन्डा बोक्ने नयाँ राजनीतिक शक्तिका रूपमा देखा पर्ने संकेत गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *