काठमाडौंमा होटेल–रेष्टुरेन्टलाई प्रशासनको कडा निर्देशन : धुम्रपान क्षेत्र कानुनअनुसार व्यवस्थित गर्न आग्रह
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकाभित्र सञ्चालित होटल तथा रेष्टुरेन्टहरूलाई धुम्रपानसम्बन्धी कानुनी व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको छ। प्रशासनले धुम्रपानका लागि छुट्टै स्थानको व्यवस्था गर्न तथा सूर्तिजन्य पदार्थ नियन्त्रणसम्बन्धी कानुन पूर्ण रूपमा पालना गर्न सबै व्यवसायीलाई आग्रह गरेको हो।
बुधबार जारी सूचनामा प्रशासनले सूर्तिजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ मा भएको व्यवस्थाअनुसार धुम्रपान गर्न मिल्ने र नमिल्ने स्थान स्पष्ट रूपमा छुट्याउनुपर्ने उल्लेख गरेको छ। साथै, धुम्रपानका लागि छुट्याइएको स्थान चारैतिरबाट पूर्ण रूपमा बन्द हुने, त्यसबाट निस्कने धुवाँ अन्य ग्राहक वा कर्मचारीसम्म नपुग्ने गरी व्यवस्थापन गर्नुपर्ने जनाएको छ।
प्रशासनका अनुसार सार्वजनिक स्वास्थ्यलाई ध्यानमा राख्दै होटल तथा रेष्टुरेन्ट सञ्चालकहरूले कानुनअनुसार आवश्यक पूर्वाधार तयार गर्नुपर्नेछ। धुम्रपानका लागि छुट्याइएको स्थान बाहेक अन्य कुनै पनि सार्वजनिक क्षेत्रमा धुम्रपान गर्न दिन नहुने पनि सूचनामा उल्लेख गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले सम्बन्धित निकायहरूसँग समन्वय गरेर नियमित रूपमा अनुगमन सञ्चालन गरिने जनाएको छ। अनुगमनका क्रममा कानुनविपरीत धुम्रपानको व्यवस्था गरिएको, धुम्रपान निषेधित क्षेत्रमा धुम्रपान गर्न दिएको वा ऐनको पालना नगरेको पाइएमा सूर्तिजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ को दफा १७ बमोजिम अधिकतम कानुनी कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ।
प्रशासनले सबै होटल तथा रेष्टुरेन्ट व्यवसायीलाई कानुनको पूर्ण पालना गर्न, ग्राहकलाई धुम्रपानसम्बन्धी नियमबारे जानकारी गराउन र सार्वजनिक स्वास्थ्य संरक्षणमा सहयोग पुर्याउन समेत आग्रह गरेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment