शेयर बजारमा रेकर्ड कारोबारः ४ अर्ब बढिको किनबेच, ५० अंकले बढ्यो नेप्से

डिसी नेपाल
१४ फागुन २०७६ १५:४३

काठमाडौं। केहि दिनदेखि उछाल आइरहेको शेयर बजारमा एकैदिन ४ अर्ब रुपैयाँभन्दा बढिको कारोबार भएको छ।

अर्थमन्त्री परिवर्तनको हल्ला र व्याजदर घटेसँगै लगानीकर्तामा उत्साहित देखिएका हुन्।

शेयर बजारमा बुधबार ४ अर्व १५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। यो हालसम्मकै उच्च कारोबार हो।

यसअघि गत आइतबार र सोमबार तीन अर्वको कारोबार भएको थियो। मंगलबार कारोबार रकम केहि घटे पनि बुधबार हालसम्मकै उच्च कारोबार भएको हो। यस सातामा सोमबार मात्र बजार सामान्य घटेको छ।

बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक पनि ५० अंकले बृद्धि भई १५९६.१३ अंकमा पुगेको छ।

शेयर विरोधी छवि बनाएका अर्थमन्त्री डा. युवराज खतिवडा राष्ट्रियसभामा नदोहोरिने सूचना आएपछि बजार बढ्न थालेको हो।
बुधबार त नेपाल कम्युनिष्ट पाटीले राष्ट्रिय सभामा खतिवडाको स्थानमा अर्का नेता वामदेव गौतमलाई मनोनित गर्ने निर्णय गरिसकेको छ।

खतिवडा राष्ट्रिय सभामा पुनः मनोनित नहुने भएपछि उनको मन्त्रीको कार्यकाल पनि सकिनेछ।

यसैगरी पछिल्लो समयमा बैंकको व्याजदर घट्न थालेकाले समेत बजारमा सेयर खरिदको चाप उच्च देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *