एक शताब्दीदेखि निरन्तर बग्दै खोटाङको वासिङ पहिरो: आधा दर्जन गाउँ उच्च जोखिममा, नियन्त्रण बाहिर

डिसी नेपाल
१९ असार २०८३ ६:५४

खोटाङ। खोटाङको जन्तेढुंगा गाउँपालिका-२ बोपुङमा रहेको ऐतिहासिक ‘वासिङ पहिरो’ स्थानीय बासिन्दाका लागि बर्सेनि अभिशाप बन्दै आएको छ। विगत एक शताब्दीभन्दा अघिदेखि सुरु भएको यो विशाल पहिरो हालसम्म पनि रोकिन सकेको छैन।

स्थानीय वृद्ध दीर्घमान राईका अनुसार बुँवाखोलाबाट सुरु भएको यो पहिरो १९९० सालको महाभूकम्पभन्दा अगाडि नै जान थालेको पुर्खाहरूले बताउँदै आएका थिए।

हालसम्म यस पहिरोले दर्जनौँ घर र सयौँ रोपनी उब्जाउ खेतबारी बगाइसकेको छ। लामो समयदेखि निरन्तर झरिरहेको यस पहिरोको यकिन क्षतिको विवरण कुनै निकायसँग नभए पनि यसले बर्सेनि धेरैको उठिबास लगाएको छ।

खेतबारी बगरमा परिणत, पुख्र्यौली थलो छोडेर तराईतिर बसाइँसराइ

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुङ्गा गाउँपालिका-१ देविस्थान र वडा नं २ बोपुङको सिमानामा बग्ने बुँवाखोला किनारका धानखेतहरूलाई पहिरोले बगरमा परिणत गरिदिएको छ। कमाइ खाने मुख्य स्रोत नै सखाप भएपछि धेरैजसो प्रभावितहरू बसाइँ सरेर पूर्वी तराईका विभिन्न जिल्लाहरूमा ओर्लिएका छन्।

पहिरो खसेको मुख्य क्षेत्रमा पानीको मुहान रहेको र वर्षात्को समयमा निरन्तर पानी बगिरहने भएकाले यो थप सक्रिय हुने गर्दछ। करिब एक किलोमिटर क्षेत्रमा फैलिएको यो पहिरो धेरै ठूलो वर्षा हुँदा माथिबाट खसेर बुँवाखोला नै थुनिने गर्छ, जसका कारण तल्लो तटीय क्षेत्रका बासिन्दाहरू सधैँ त्रासमा दिनरात बिताउन बाध्य छन्। यसले वर्षौँदेखि हुवाला र युराङका बासिन्दाले आवतजावतका लागि प्रयोग गर्ने गोरेटो बाटो समेत बगाइसकेको छ।

विद्यालय र बस्तीहरू संकटमा

टाढाबाट हेर्दा डमरुको बुट्टा आकारमा देखिने यो वासिङ पहिरोभन्दा करिब २०० मिटरमाथि सञ्चालित विजय आधारभूत विद्यालय समेत अहिले उच्च जोखिममा परेको छ। विद्यालयका प्रधानाध्यापक वीरेन्द्र राईका अनुसार विद्यालयभन्दा केही तल रहेका डुम्रीबोटे र युराङ गाउँको नजिकैसम्म पहिरोको धार आइपुगिसकेकाले जुनसुकै बेला ठूलो दुर्घटना हुन सक्ने भय छ।

यसअघि नै पहिरोको बीच भागमा बसोबास गर्दै आएका १५ परिवार स्थानीय बासिन्दाहरू पहिरोको जोखिम बढेसँगै आफ्नो थातथलो छाडेर सुरक्षित स्थानमा सरिसकेका छन्।

स्थानीय तहको बजेटले नधान्ने, केन्द्रको ध्यान जानु जरुरी

बुँवाखोलाबाट सुरु भएको यो पहिरो बिस्तारै माथितिर सर्दै अहिले करिब डेढ किलोमिटर माथिसम्म आइपुगेको छ। यसका कारण वालिङ, हुवाला, डुम्रेबोटे, आहाले, बाटुला र खरबनी लगायतका आधा दर्जन गाउँहरू प्रत्यक्ष जोखिममा परेको बोपुङका वडाध्यक्ष मस्तबहादुर राईले जानकारी दिएका छन्।

वडा र गाउँपालिकाको सीमित बजेटले यति ठूलो र ऐतिहासिक पहिरो नियन्त्रण गर्न सम्भव नभएकाले बेलैमा माथिल्लो निकायले ध्यान नदिए सिङ्गो बस्ती नै बसाइँ सर्नुपर्ने स्थिति आउने उनको भनाइ छ।

यस्तै देविस्थानका वडाध्यक्ष केदारमान राईले पनि यस पहिरोले देविस्थानको तल्लो क्षेत्रका किसानको धानबालीमा बर्सेनि ठूलो क्षति पुर्‍याउँदै आएको बताउनुभयो। ६ वटा वडा रहेको यस जन्तेढुंगा गाउँपालिकाका अन्य वडाहरू समेत पहिरोको चपेटामा रहेकाले दीर्घकालीन व्यवस्थापनको माग गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *