नेतृ शाक्यको कटाक्ष : केकमा नेपालको नक्सा बनाउने सोँच कहाँबाट आयो कमरेड !

डिसी नेपाल
१५ फागुन २०७६ २१:३८

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाग्मती प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्यले केक काटेर जन्मदिन मनाउने नेपाली संस्कृति नभएको बताएकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको नक्सा राखेर केक काटेको प्रशंगमा शाक्यले जन्मदिन मनाउने परम्परा नेपाली समाजमा भए पनि केक काटेर मनाउने कुरा अहिलेसम्म आफुलाई थाहा नभएको बताइन्।

नेकपाको बाग्मती प्रदेश स्तरीय प्रशिक्षण भेलामा उनले जन्मदिनमा केक काट्नुको सट्टा बत्ति बालेर उज्यालो भविष्यको कामना गर्नु नेपाली संस्कृति भएको बताइन्। ‘केक काटेर जन्मदिन मनाउने चलन हाम्रो संस्कृति होइन, होइन कामरेड यो। त्यसमा पनि नेपालको नक्सा बनाएर आमालाई चिराचिरा पार्ने काम कहाँबाट आयो? नेपाल भनेको आमा हो। मैले यति मात्रै भन्न चाहेँ।’

केक काटेर खान मन लागे अन्य दिनहरुमा पनि काटेर खान मिल्ने तर जन्मदिन बत्ति बालेर र केक काटेर नमनाउन पनि उनले आग्रह गरिन्। ‘तपाईँलाई काट्न मन लागेको छ भने काटेर खानुहोला तर जन्मदिननमा केक नकाट्नुहोला। बत्ति ननिभाई दिनुहोला। बत्ति बाल्दिनुहोला उज्यालोको भविष्यका लागि हो त्यो। जन्मदिन भनेको एक स्टेप पाको भयौँ, उज्यालौँ भयौँ प्रगति ग¥योँ भनेर देखाउने कुरा हो। त्यसैले जन्मदिनमा केक काटेर होइन बत्ति बालेर उज्यालोको खोजी गरौँ प्रगतिको खोजि गरौँ’, उनले भनिन्।

व्यक्ति जो सुकै भए पनि नेपाली संस्कार र सोचहरु सामन्ति चिन्तन र गलत ढंगबाट विकसित भएको उनले बताइन्। उनले सत्तामा पुगेपछि जनताको चाहाना पुरा गर्नैपर्ने बताइन्। जनताको भवना आत्मसाथ गर्न नसके सत्तामा बसेर नेतृत्व गरेको अर्थ के ? भन्दै उनले प्रश्न गरिन्।

सामन्ती व्यवस्था, राजतन्त्र ढालेर गणतन्त्रमा भए पनि सोच, कार्यशैली र व्यवहार सामन्ती चिन्तन र सामन्ती अवशेसबाट ग्रसित रहेको उनले बताइन्। उनले भनिन्, ‘किन परिवर्तन हुन सकेनौँ। किन गणतन्त्रको नेता बन्न सकिएको छैन। किन संघीय लोकतान्त्रिक गणतन्त्रको एउटा इमानदार नेता बन्न सकिएको छैन। यसो भन्दा धेरै भनेजस्तो लाग्छ भन्नुपर्ने अवस्था पनि आएको छ। धेरैलाई पीडा भएको हुनाले मैले अभिव्यक्त गरिरहेको छु ।’

उनले सामन्ति राजतन्त्रलाई ढालेर नेतृत्वमा आएपछि सामन्ती चिन्तन खोजेर निर्मुल गर्ने की नगर्ने ? भन्दै प्रश्न गरिन्। उनले भनिन्, ‘सांस्कृृति विचलन सुरु भएको छ। नैतिक धरातल कमजोर भएको छ। हाम्रो नैतिक धरालत कमजोर भएको छ ।’ उनले सत्तामा बसेर अनेक चलखेल गर्ने काम भएको भन्दै आपत्ति समेत जनाएकी छन्। ‘सत्तामा बसेर अनेकौ चलखेल गर्ने कामतिर हामी लाग्छौँ। लेनदेनको चलखेल भित्र लाग्छौँ। किन यस्तो भइरहेको छ बुझ्न सकिएको छैन। जनताले यस्तो चाहेको होइन्’, उनले भनिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *