कथा: इंगेजमेन्टको औंठी

डिसी नेपाल
१७ फागुन २०७६ ८:४१

सनमले आफूलाई धोका हुने ठानी । ऊ चाहन्नथी बिहा गर्ने वित्तिकै उसको तन्नेरी विदेश जाओस् । उसका मनमा धेरै कुरा खेले । मन डरायो । वरपर हेरी । हिजोका इतिहास सम्झिई । अनि निर्णयमा पुगी– यदि विहा गर्ने वित्तिकै उसलाई छोडेर जान्छ भने बरु ऊ विहा नै गर्दिन ।

उ इन्गेजमेन्टको औठी फिर्काइ दिन्छे ।

सब्जी बजारबाट निस्कदा—निस्कदै मातङ्गीले भनी, ‘एइ ! सनम । सोनामलाई खोजेकी हैन ? ऊ त्यही थिए छ कफी पसलमा । भर्खरै म त्यहींबाट आउँदैछु । साथीहरुसंग गफिएर बसिरेछ ।’

तीनजना साथीहरु संगै सनम कफी पसलमा पुगी । बिहानको समय ‘किरात कफी हाउस’ एकपटक तन्नेरीहरुले भरिएको हुन्थ्यो । फेरि कलेजका विद्यार्थीहरुको जमघट पनि हुँदै रहन्थ्यो ।

सनमलाई देखेर सोनाम उठ्यो । सोनामका साथीहरुतर्फ दृष्टि घुमाएर सनमले सम्मानको भाव राखेर भनी, ‘तिमी आफ्ना साथीहरुसंग कुरा गरिसकेर यहाँ आउन। हामी यो टेवलमा पर्खन्छौं ।’ साग–सब्जीको बास्केटसंगै उनीहरु अर्को टेवलमा बसे ।

आफ्नो कफीको कप लिएरै सोनाम त्यहाँ आयो । सनमका साथीहरुले असजिलो मानेको सनमले बुझी र भनी, ‘तिमीहरु यही बस । हाम्रा कुरा खुला छन् । एकान्त चाहिदैन । यो पाठ सबैले पढने हो । सबैलाई पर्छ ।’

कफी आइपुग्यो । सनमले भनी ‘तिमी विदेश जाँदैछौं भन्ने सुने । हो कि होइन ? यही कुरा जान्न मैले तिमीलाई भेट्न खोजेकी थिए । तिम्रो फोन पनि उठ्दैन । के भो ? कता व्यस्त छौ ? तिमी जान्दछौं नि, फोन नउठ्दा म कति आकुल हुन्छु । जानीजानी मलाई पिल्याउँछौं ? अब पहिलेको स्थिति छैन नि ! म होइन हामी भएर बााच्नुपर्छ ।’

उसले फेरि थपी ‘यी हाम्रै साथी हुन् । सबैलाई तिमी चिन्छौं । यहाँ कुनै गोप्य कुरा छैन । खुलस्त भन, विदेश जाने प्रसंग के हो ? कहाँ जाने र कुन प्रयोजनका निम्ति ? कति समयका लागि ? र कहिले ?

सोनामले यी प्रश्नहरुलाई सनमका प्रश्न ठानेर होला त्यति गम्भीरताले लिएन । तर ती प्रश्न सनमका मात्र थिएनन् । सनमजस्ता हजारौं नवयुवतीका प्रश्न थिए । फेरि पनि दुईटा प्रश्नको उत्तर अनुमानबाटै थाहा हुन्थ्यो– प्रयोजन धन कमाउन जाने र विहा गरेपछि जाने ।

सनमले प्रश्न गरिन्, कति लाख बुझाएर जाने ? कति घरखेत बेचेर जाने या बन्धकीमा पारेर जाने भनेर । उसले आफ्नो अधिकार बाहिरको कुरा ठानेर होला, त्यसतर्फको कुरा कोटयाइन ।

सोनामले आफूलाई मदन ठान्यो । मुकुन्द ठान्यो र ढिलो चाँडो फर्कने ठान्यो ? तर कहाँ जाने र कति समयका लागि भन्ने प्रश्नको उत्तर उसंग पनि थिएन । (मुकुन्द इन्दिरा)

मन दह्रो पारेर सनमले प्रश्न गरी ‘तिमी हाम्रो विहा भएपछि जाने की विहा नहुँदै जाने ?’

‘त्यो दिन विहापछि पनि आउन सक्छ र विहा हुनुअघि पनि आउन सक्छ । आफ्नो हातमा छैन क्यारे । त्यसैले त्यस दिनको पर्खाइमा छु ।’

‘विहा हुने दिनको पर्खाइभन्दा उडानको पर्खाइ ठूलो कुरा भो तिम्रो लागि हैन ?’

‘अवश्य’ ऊ यति मात्र भन्ने खोज्थ्यो, मनमन भन्यो प्रकटमा भन्न सकेन ।

तर यति चाँही भनिहाल्यो, ‘जानु जानुपरेपछि तुरुन्तै विहा गरेर गए पनि हुन्छ र विहा गरिसकेर गए पनि हुन्छ । यी विहा भन्ने कुरा त यात्राका विसौनी र चौतारी मात्र हुन् । यिनलाई वाधक मान्दिन ।’

‘सोनाम मसंग सम्बन्धित कुरा तिम्रो एकलौटी निर्णयबाट किनारा गर्न मिल्दैन । विहा नगर्दै जे कुरा गर्छौ, त्यो तिम्रो खुसी । तर विहाअघि गरेको निर्णयले विहा भएपछिको जीवन र समयलाई प्रभाव पार्छ भने त्यो मेरा लागि स्वीकार्य हुनेछैन ।’

‘मतलब?’

‘सफा छ, विहा गरेपछि तिमी जाादैनौं । जाँदा हामी दुवै संगै जान्छौं । यदि विहालाई वाधा ठान्छौं भने तिमी विहा नगर । विहा गरेर एक्लै विदेश जानु र धन कमाउनुको कुनै औचित्य छैन । हल्का ढंगले नलेऊ । यसअर्थमा म मुना हुँ, तर आत्महत्या गर्दिन । तिमी यसलाई गम्भीरताले लेऊ ।’ (मुनामदन)

ऊ सुन्दै रह्यो ।

सनमले थपी, ‘तिम्रो विदेश यात्रा म भन्दा मूल्यवान छ, विहाभन्दा महत्वपूर्ण छ भने तिमी जाऊ । आफ्नो ईच्छा पूरा गर । म बाधा गर्दिन, तर औंठी फिर्ता लिएर जाऊ । म इन्गेजमेन्ट आफंै तोड्छु । लैजाउ तिम्रो आंैठी ।’

उसले औठी फुकालेर उसका अगाडी राखिदिई ।

यस घटनाले अरुलाई तत्काल असर पार्‍यो, मनोदशामा ठूलो परिवर्तन ल्यायो । आघात पनि पार्यो । तर कसैले केही बोलेन ।

‘सकेसम्म विहा गरेरै जान्छु । त्यति त मान ।’

‘विहा एकजनाले एक्लै गर्ने हो र ? एउटाको निर्णयले हुने हो र ? तिमीले भन्यौं मैले माने, त्यो हुने कुरा हो र ?’

‘अरु केही माग छैन , बस् तिमी बिहा गर्न राजी भैदेऊ । यो इंगेजमेन्टको औठी नफुकाल प्लीज !’

‘पहिले मेरो प्रश्नको जबाफ देऊ –तिमी मसंग दुई दिन, दुई साता वा दुई महिना बसौला । फेरि म कोसंग बस्ने ? के सम्झेर बस्ने ? के गरेर बस्ने ? साथी नभएको जीवन कस्तो हुन्छ त्यो बेला ?’ सनम आफ्ना संवेग पोख्दै गई, कि भन विहापछि मसंग शारीरिक सम्बन्ध नराखी जान्छु । त्यसो भए केही छैन, किनभने मलाई कुनै स्वादले पछ्याउँदैन । मनमा कुनै छटपटी पनि हुनेछैन शायद । के तिमी वाचा गर्न अर्थात् व्रत लिन सक्छौ ? तिमी मलाई अक्षत नै रहन दिन्छौ ? नभोगी जान सक्छौ ? आत्मालाई सोधेर भन ।’

सोनामले सनमको संकेत सम्झेन क्यार । त्यसैले केही बोलेन । तर सनमका साथीहरु संवादको आशय राम्रैसंग सम्झदै थिए ।

‘त्यसैले म इन्द्रमाया बन्न सक्दिन । मलाई इन्द्रमाया बन्न विवश नगर ।’ (तीनघुम्ती)

‘मैले तिम्रो संकेत सम्झन सकिन सनम । खुलस्त भन ।’

एउटी साथीले हतारिएर मुख खोली, ‘लोग्नेको खाँचो परेको बेला इन्द्रमायाले लोग्ने पाइन । लोग्नेको खाँचो टार्न वा इन्द्रिमन्थनको आवश्यकता पूर्ति गर्न उसले लोग्नेको साथीलाई बोलाएर आनन्दले मच्चिई । छोरी पाई । कसैको पर्वाह थिएन ।’(तीन घुम्ती)

अर्कीले थपी, ‘हो, ऐजन मौकामा ऐजन कार्यका लागि साथीको खाँचो पर्यो कि चौर्यरत गर्ने वा खेलाता लगाउने चलन त पुरानै रहेछ नि ! हैन र ?’

‘हो नि आफू बाहिर गएका बेला आफ्नी ब्यौली अरुसंग रमाओस भन्छ र कुनै विवेकी पुरुषले ? अनि लोग्ने छैन भने उसैको नाम जपेर सधैं बसिरहनु सम्भव छ र तरुनी पत्नीले ?’– फेरि अर्कीले थपी ।

अर्कीले दोहोर्याएर भनी, ‘पतिपत्नीलाई छुट्याउने, पारिवारिक दुर्घटना निम्त्याउने, सधैं बाकसमा भरिएर फर्किने स्थिति यो मुलुकमा कसरी आयो ? कसले ल्यायो ? त्यो कुन तत्व हो ? यसलाई हामीले विचारै गरेनौं नि । व्यवस्था र नेताको खेल होइन भन्न मिल्छ र यसलाई ?’

‘मसंग छल हुन लागेको छ । म जानीजानी आफूलाई अप्ठयारोमा पार्दिन र अनावश्यक रुपले भावनामा पनि डुब्दिन । दुई दिन लोग्ने नामको प्राणीसंग खेलेर फेरि वियोगको छटपटी, अपमानको पीडा र बाकसमा फर्किने आशंकामा डुबेर मैले बाँच्नु छैन । त्यसैले एउटा त्यान्द्रोमा मन झुण्डाएर तड्पदै बस्नुको कुनै अर्थ छैन ।’

सनमले आत्म कथन गरी ‘अनि पेट बोकाएर गयो भने पनि त मेरो विजोकै होला नि ! सारा ढोका बन्द हुन्छन् । बरु म विहा नै गर्दिन । विहा अन्तिम लक्ष्य हुँदै होइन मेरा लागि ।’

साथीहरुले साग सब्जीको झोला समाए । सनमले बैठक टुंग्याउनु पर्ने स्थिति बुझी । अनि मन दह्रो पारेर भनी, ‘हतार नगरौं । विवाहको कार्यक्रम हाल स्थगित गरौं ।’

सोनामको अनुहार विवर्ण भयो ।

सनमले स्पष्टरुपले भनी ‘यो इंगेजमेन्टको औंठी तिमी नै राखिछोड । पछि निर्णय गरौंला । म अहिले मुक्त, स्वतन्त्र भएर बाँच्न चाहान्छु । विना दवाव मेरो जीवन चल्नुपर्छ । आफ्नो जीवनमा अनावश्यक छाया पार्नु छैन ।’

औंठी कफी टेवलमा टल्कँदै रह्यो । औंठीको माध्यमले सोनाम चर्किएको सपना जोड्दै गयो । उसको अन्तरात्मामा जुँग्यो – अंगालोभरिकी व्यौली छोडेर कहाँ जानू ? मुनालाई शहरको गुण्डाले आँखा लगाएको होइन र ? (मुनामदन)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *