अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनीमा उपयोगी बन्यो पोल्ट्री पाठशाला
चितवन । अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनीमा सहभागी हुन आएका कृषक प्रदर्शनीमा भन्दा पाठशालामा बढी व्यस्त देखिन्थे । तीन दिनसम्म यहाँ भएको प्रदर्शनीमा राखिएका विभिन्न प्रविधिको अवलोकन गर्दै उनीहरु पोल्ट्रीसम्बन्धी ज्ञान लिनका लागि प्रदर्शनीस्थलमै रहेको पाठशाला पस्ने गरेका थिए ।
पाठशालामा भेटिएका मानबहादुर विश्वकर्मा प्रदर्शनीमा प्रविधि हेर्न आएका थिए । तर उनी पाठशालामा निकै व्यस्त रहे । प्रविधिसँगै पाठशालाले आफूलाई सिक्ने अवसर दिएको उनले बताए। उनले भने, “नयाँ प्रविधिको प्रयोग कसरी गर्ने र पोल्ट्री क्षेत्रलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा पाठशालाले ज्ञान दियो ।”
प्रदर्शनीमै भेट हुनुभएका पशु चिकित्सक सुवास खतिवडा निकै उत्साहित मुद्रामा थिए । पोल्ट्री व्यवसाय गर्ने सोचका साथ प्रदर्शनीको अवलोकनका लागि झापाबाट आउनुभएका खतिवडा यहाँ पाएको ज्ञानको सही सदुपयोग गर्न सकेमा पोल्ट्री क्षेत्रको विकास विदेशीले गरे जस्तै हुने बताउछन् । उनले भने, “अहिले यहाँ सिकाइएका कुराले भइरहेको उत्पादनलाई कसरी राम्रो बनाउने, जैविक विधिको प्रयोग कसरी गर्ने र उत्पादन कसरी बढाउने भन्ने प्रश्नको उत्तर दिने खालको छ ।” नेपालमा अहिलेसम्म प्रयोगमा ल्याइएको विधिभन्दा विदेशमा प्रयोगमा ल्याइएको विधि सस्तो र सहज हुने उनले बताए ।
पाठशालामा सिकेका ज्ञानलाई आगामी दिनमा पोल्ट्री क्षेत्रमा प्रयोगमा ल्याउने राधिका अधिकारीको भनाइ छ । पाठशालाले कृषकलाई मात्र नभएर उपभोक्तालाई समेत ज्ञान दिने काम गरेको उनले बताए। पोल्ट्री क्षेत्रमा देखिएका सामान्य समस्या सामान्य तवरबाटै अन्त्य गर्न सकिने पाठशालाबाट ज्ञान भएको अधिकारीले बताए । प्रदर्शनीमा विदेशी उपकरणको प्रयोग कसरी गर्ने भन्ने विषयमा बुझ्न आउनुभएकी अधिकारी पाठशाला पोल्ट्री क्षेत्रको विकासका लागि कोशेढुङ्गा बनेको बताएछन् ।
नेपाल पोल्ट्री महासंघले आयोजना गरेको अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनीमा नेपाल भेटेरिनरी संघको सहकार्यमा पोल्ट्री पाठशाला आयोजना गरिएको थियो । पाठशालाका संयोजक डा सुवीर सिंह विश्वका विभिन्न देशमा पोल्ट्री क्षेत्रमा प्रयोगमा आएका प्रविधिको कृषक र प्राविधिकलाई ज्ञान दिनका लागि पाठशाला आयोजना गरिएको बताउछन् । पाठशालामा पोल्ट्री क्षेत्रमा भइरहेका नवीनतम् खोज, अनुसन्धान तथा प्रविधिका बारेमा जानकारी गराइएको सिंहले जानकारी दिए ।
पाठशालामा कुखुरापालन तथा व्यवस्थापन, कुखुरापालन र स्वास्थ्य, कृषक पाठशाला, व्रिडर म्यानेजमेन्ट लगायतका विषयमा स्वदेशी तथा विदेशी विज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका थिए। पाठशालाबाट ३२६ जनाले शिक्षा लिएको सिंहले जानकारी दिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment