ट्याक्सीमा छुटेको समान फिर्ता गर्ने २१ ट्याक्सी चालक सम्मानित

डिसी नेपाल
१९ फागुन २०७६ १२:२१

काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले असल ट्याक्सी चालकहरुलाई सम्मान गरेको छ। महाशाखाले ट्याक्सीमा छुटेको नगद, गरगहना र महत्वपूर्ण सामानहरु आफैँ आई महाशाखामा बुझाउने ट्याक्सी चालकहरुलाई सोमबार एक कार्यक्रम गरी सम्मान गरेको हो।

आर्थिक वर्ष २०७६/०७७ भित्र विभिन्न समयमा यात्रुले ट्याक्सीमा छोडेको सामान बझाउन ल्याउने २१ जना चालकलाई सम्मान गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख, प्रहरी वरिष्ठ उपरिक्षक भिमप्रसाद ढकालले बताए। उनले यात्रुहरुले यात्रा गर्दा भुलेर ट्याक्सीमा कुनै सामान छुटेको र ट्याक्सी चालकहरुले आफै प्रहरीमा बुझाई मानविय सहयोग गरेकाले सम्मान गरिएको बताए।

आफ्नो ट्याक्सीमा छुटेका सामान इमान्दार भएर फिर्ता गर्दा ट्राफिक प्रहरीले सम्मान गरेकोमा आफूहरुलाई अझ बढी जिम्मेवार बनाएको ट्याक्सी चालकहरुले बताएका छन्। ट्याक्सी चालक धिरबहादुर थापाले ट्राफिक प्रहरीबाट असल ट्याक्सी चालकको रुपमा सम्मानित हुन पाउँदा थप हौसला मिलेको बताए।

ट्याक्सी चालक रोइतबहादुर रोक्काले आफ्नो ट्याक्सीमा छुटेको समान प्रहरीमा बुझाउँदा सम्मानित हुन पाउनु खुसीको कुरा भएको बताए। उनले भलुवस ट्याक्सीको पछाडि समान छुटने तर आफूहरुले थाहा नपाउँदै अर्को प्यासेन्जरले सामान लगेको अवस्थामा उजुरी पर्दा आफूहरुलाई समस्यामा पर्ने गरेको बताए। यस्तो अवस्थामा प्रहरीले उचित अनुसन्धान गर्नुपर्ने उनले बताए।

ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको फागुन १६ गते भित्र ट्याक्सीमा छुटेको सामान आफैले प्रहरीमा बुझाएका २१ जना ट्याक्सी चालकहरुलाई सम्मान गरेको हो। त्यस्तै यो अवधिमा ट्याक्सीमा सामान छुटेर आवेदन दिनेको संख्या ३ सय ९५ जना रहेको र त्यस मध्ये २ सय ८० जनाको १ करोड ४८ लाख ६० हजार ३ सय ६५ रुपैयाँ बराबरको सामान फेला परेको छ।

त्यस्तै ६३ जनाको निवेदन अनुसार सवारी साधन फेला परेपनि सामान पाउन नसकिएको र ५२ जनाको सवारी नम्बर समेत फेला नपरेको ट्राफिक प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *