कोरोनाभाइरस सङ्क्रमण हुँदा मृत्यु हुने सम्भावना कति?

डिसी नेपाल
२१ फागुन २०७६ ७:४१

बीबीसी। अहिले कोरोनाभाइरस सङ्क्रमण भएका १,००० बिरामीमध्ये पाँचदेखि ४० जनासम्मको ज्यान जाने गरेको अनुसन्धानकर्ताहरूको अनुमान छ। त्यति सङ्ख्यामा सङ्क्रमण हुँदा नौ जना अर्थात् एक प्रतिशतको मृत्यु हुने अनुमानलाई सबैभन्दा उपयुक्त मानिएको छ।

यूकेका स्वास्थ्यमन्त्री म्याट ह्यान्ककका अनुसार सरकारले गरेको “सबैभन्दा उत्तम आकलन”मा मृत्युदर दुई प्रतिशत वा त्यो भन्दा कम देखिएको छ।

तर मृत्युदर विभिन्न कुरामा निर्भर गर्छ। बिरामीको उमेर, लिङ्ग र सामान्य स्वास्थ्य तथा स्वास्थ्य प्रणालीमा पनि त्यो भर पर्छ।

यो विद्यावारिधि तहजत्तिकै कठिन छ। सङ्क्रमणको गणना गर्न पनि निकै गाह्रो हुन्छ। भाइरसले गर्ने अधिकांश सङ्क्रमणको गणना नै हुँदैन। किनभने मानिसहरू साधारण लक्षण देखिँदा चिकित्सककहाँ जाँदैनन्।

विश्वभरि भिन्न स्थानमा भिन्न मृत्युदर देखिएको छ। भाइरसका भिन्न संस्करणका कारण त्यस्तो हुने सम्भावना देखिँदैन। देशहरूमा सङ्क्रमण पत्ता लगाउने र गणना गर्ने क्षमतामा एकरूपता नभएकाले मृत्युदर भिन्न देखिएको लन्डनस्थित इम्पीरीअल कलेजको अनुसन्धानले देखाएको छ।

तसर्थ जानकारीमा नआएका सङ्क्रमणका कारण मृत्युदरको अधिक गणना गर्न सहज हुन जान्छ। तर यो ठ्याक्कै उल्टो पनि हुन सक्छ। कुनै पनि सङ्क्रमण निको हुन वा त्यसका कारण मृत्यु हुन समय लाग्छ।

सङ्क्रमणको पूर्ण चक्र पार नगरिसकेका सबै जनालाई गणना गर्दा मृत्युदर कम आकलन हुन जान्छ। किनभने अन्तत: मृत्यु हुने बिरामी छुट्न सक्छन्।

मृत्युदरको स्थिति बुझ्न वैज्ञानिकहरू प्रत्येक प्रश्नसँग सम्बन्धित सबै प्रमाणहरू एकीकृत गर्छन्। उडानबाट फर्काइएका यात्रु, साधारण लक्षण देखा परेका र निकै कडा निगरानीमा राखिएका बिरामी तथा तोकिएको सानो समूहका मानिसको सङ्क्रमणको अनुपात गणना गरिन्छ।

तर त्यस्ता प्रमाणका अंशबाट आएको अलिकति फरक उत्तरले पनि समग्र चित्रमा ठूलो परिवर्तन गरिदिन सक्छ। अन्यत्रभन्दा उच्च मृत्युदर भएको चीनको हुबे प्रान्तको मात्र तथ्याङ्क प्रयोग गर्ने हो भने समग्र मृत्युदर निकै नै खराब देखिन्छ।

त्यसैले वैज्ञानिकहरू एउटा सीमा बताउँछन् र विद्यमान सर्वोत्तम अनुमानित सङ्ख्या पनि। तर त्यसले पनि सबै कुरा भन्दैन किनभने मृत्युदर एउटै मात्र छैन। कोरोनाभाइरस सङ्क्रमण हुँदा केही प्रकारका मानिसमा मृत्यु हुने सम्भावना अधिक हुन्छ। त्यस्ता व्यक्तिमा वृद्ध, अस्वस्थ र सम्भवत: पुरुष पर्छन्।

चीनका ४४,००० भन्दा बढी सङ्क्रमणको विश्लेषणसहित गरिएको पहिलो अनुसन्धानमा अधबैँसे उमेरका मानिसको तुलनामा वृद्ध मानिसको मृत्युदर १० गुना भएको पाइएको थियो।

तीस वर्षभन्दा मुनि उमेर समूहमा मृत्युदर एकदमै कम पाइएको थियो। त्यस्तो उमेर समूहका ४,५०० सङ्क्रमणमा आठ जनाको मात्र मृत्यु भएको थियो।

अनि मधुमेह, उच्च रक्तचाप, मुटु वा श्वासप्रश्वाससम्बन्धी समस्या भएका मानिसमा मृत्युदर पाँचगुना बढी पाइएको थियो। त्यस्तै महिलाको तुलनामा पुरुषको मृत्युदर केही बढी देखिएको छ।

यी सबै कारणले एकअर्कालाई प्रभाव पार्छन् र हामीले अहिलेसम्म पनि सबै स्थानका प्रत्येक किसिमका मानिसका लागि कस्ता खतरा छन् भन्ने पूर्ण तस्बिर पाउन सकेका छैनौँ।

चीनमा बस्ने ८० वर्षका पुरुषको समूह र युरोप वा अफ्रिकामा बस्ने त्यही उमेर समूहका पुरुषका लागि खतरा निकै फरक हुन सक्छ। तपाईंको ‍रोगको निदान तपाईंले पाउने उपचारमा पनि भर पर्छ। के उपलब्ध छ र महामारी कुन चरणमा छ भन्नेमा पनि यो निर्भर हुन्छ।

केही क्षेत्रमा मात्र विशेष स्वास्थ्यसेवा उपलब्ध छ। त्यसैले यदि महामारी फैलियो भने स्वास्थ्यसेवा प्रणालीहरू समस्याग्रस्त बन्न सक्छन्। हामी मृत्युदरलाई तुलना गर्न सक्दैनौँ किनभने सामान्य रुघाखोकीको लक्षणका बेला कहिल्यै पनि मानिसहरू चिकित्सककहाँ जाँदैनन्।

त्यसैले हामीलाई प्रत्येक वर्ष कति रुघाखोकीका सङ्क्रमण भए वा नयाँ भाइरस सङ्क्रमण भए भन्ने थाहा हुँदैन। तर रुघाखोकीले लगातार मानिसहरूको मृत्यु भइरहेको छ र प्रत्येक वर्षको जाडोमा यस्तो हुने गर्छ।

तथ्याङ्क परिपक्व हुँदै जाँदा वैज्ञानिकहरूले कोरोनाभाइरसको प्रकोप आइपर्दा को सबैभन्दा बढी खतरामा हुनेछन् भन्ने स्पष्ट चित्र विकास गर्न सक्नेछन्। श्वासप्रश्वासबाट सर्ने भाइरसबाट जोगिन हात धुनुपर्ने सुझाव विश्व स्वास्थ्य सङ्गठनले दिएको छ।

खोक्ने र हाछ्युँ गर्ने मानिसबाट जोगिएर र आफ्ना आँखा, नाक र मुख नछोएर पनि तपाईं आफूलाई भाइरसबाट केही मात्रामा बचाउन सक्नुहुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *