नेपालमा लगानी भित्र्याउन युरोपेली संघले सघाउने
काठमाडौं। नेपालमा युरोपेली लगानी भित्र्याउन युरोपेली संघले सघाउने बताएको छ। नेपालका लागि संघका राजदूत भेरोनिक लोरेञ्जोले युरोपेली लगानी ल्याउन आगामी साता काठमाडौँमा ‘इयू–नेपाल व्यापार मञ्च’को बैठक हुन लागेको बताए।
नेपाल र युरोपेली संघबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औं वार्षिकोत्सव तथा युरोप दिवसका अवसरमा बिहीबार यहाँ आयोजित स्वागत समारोहमा राजदूत लोरेञ्जोले नेपालको वैदेशिक लगानी अभाव परिपूति गर्ने उद्देश्यले आगामी जेठ २ र ३ गते काठमाडौँमा मञ्चको दोस्रो बैठक आयोजना गरिने जानकारी दिए।
बैठकमा नेपालका लगानीका सम्भावित क्षेत्रमा छलफल गर्न युरोपेली संघमा आबद्ध मुलुकका कम्पनीले भाग लिने उनले बताए। राजदूत लोरेञ्जोले सन् २०२६ मा नेपाल अतिकमविकसित राष्ट्रको सूचीबाट स्तरोन्नति हुनुपर्ने लक्ष्यका साथ अघि बढेकाले त्यसनिम्ति आर्थिक विकास र रोजगारीका अवसर सिर्जना गर्न आवश्यक भएको बताउँदै संघमा आबद्ध सदस्य देश र विकासका लागि युरोपेली वित्तीय संस्थाबाट नेपाललाई प्रदान गरिने सहायता ‘ग्लोबल गेट वे’मार्फत प्रवाह हुने जानकारी दिए।
राजदूत लोरेञ्जेले शान्तिप्रिय नेपालीलाई रुस–युक्रेन द्वन्द्व र इजरायलमा भएको आतंकवादी हमलाबाट चोट पुगेको चर्चा गर्दै उनले बन्दी बनाइएका विपिन जोशी र उनको परिवारप्रति ऐक्यबद्धता व्यक्त गरे। उनले विश्वव्यापी रूपमा सङ्घ शान्ति, विधिको शासन, मानवअधिकार, बहुपक्षीयता, मानवीय सहायता तथा साझेदारीलगायत साझा मूल्यमान्यता प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको बताए।
राजदूत लोरेञ्जेले नेपालको विकास साझेदार सङ्घले २०७२ सालको भूकम्प होस् या कोरोना महामारी यहाँको विकास र विषम परिस्थितिमा सक्दो सहयोग गर्दै आएको बताए।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, उपसभामुख इन्दिरा राना, सांसद, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारीका साथै नेपाल सरकारका अधिकारीहरूको उपस्थिति थियो।
–––
No ads found for this position

डिसी नेपाल
Facebook Comment