विश्वविद्यालय ऐन संशोधनबारे उपकुलपतिसँग शिक्षा मन्त्रालयको छलफल

डिसी नेपाल
९ भदौ २०८३ २२:१७

काठमाडौं। शिक्षा तथा खेलकुद मन्त्रालयले विश्वविद्यालय ऐन संशोधनसम्बन्धी विधेयक तयार गर्ने क्रममा विभिन्न विश्वविद्यालयका उपकुलपति तथा सरोकारवालासँग छलफल गरेको छ।

मंगलबार सिंहदरबारमा भएको छलफलमा विश्वविद्यालयको स्वायत्तता, सुशासन, शैक्षिक तथा प्रशासनिक सुधार र उच्च शिक्षालाई अनुसन्धानमुखी तथा उत्पादनशील बनाउने विषयमा सुझाव लिइएको थियो।

छलफलमा सहभागी विज्ञ तथा सरोकारवालाले उच्च शिक्षालाई गुणस्तरीय, अनुसन्धानमुखी, उत्पादनशील र व्यवहारिक बनाउन नीतिगत सुधार आवश्यक रहेको बताएका छन्।

विश्वविद्यालयको क्षमता अभिवृद्धि, शैक्षिक गुणस्तर कायम तथा विद्यार्थीलाई प्रतिस्पर्धी बजारमा टिक्न सक्ने बनाउने विषयलाई आगामी कानुनमा प्राथमिकता दिनुपर्नेमा उनीहरूले जोड दिएका छन्।

छलफलमा नेपालको उच्च शिक्षा क्षेत्रको वर्तमान अवस्था, शैक्षिक गुणस्तर अभिवृद्धि, अनुसन्धानको विस्तार तथा उच्च शिक्षालाई थप प्रभावकारी र प्रतिस्पर्धी बनाउने विषयमा विचार–विमर्श गरिएको मन्त्रालयले जनाएको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेलले चालु आर्थिक वर्षमा शिक्षा क्षेत्रसँग सम्बन्धित छ वटा विधेयक अघि बढाउने तयारी भइरहेको जानकारी दिएका छन्। बैठकमा विभिन्न विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रार, डीन, प्राध्यापक, राष्ट्रिय योजना आयोगका प्रतिनिधि तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *