वैदेशिक रोजगारीलाई मर्यादित बनाउन एनआरएनएले आफ्नो धारणासहितको श्वेतपत्र तयार गर्ने

डिसी नेपाल
२१ फागुन २०७६ १३:५७

काठमाडौँ । वैदेशिक रोजगारको क्षेत्रलाई मर्यादित, व्यवस्थित तथा सुरक्षित बनाउनका लागि गैरआवासीय नेपाली संघले एनआरएनएले आफ्नो धारणासहितको श्वेतपत्र तयार गर्ने भएको छ ।

मंगलबार काठमाडौँमा वैदेशिक रोजगारविज्ञसहित बसेको वैठकले वैदेशिक रोजगार सम्बन्धी संघको आधिकारिक धारणापत्र बनाउने प्रक्रिया अगाडि बढाउने निणर्य गरेको संघका केन्द्रीय उपाध्यक्ष तथा एनआरएनए वैदेशिक रोजगार विभागका संयोजक डा.बद्री केसीले डिसी नेपाललाई बताए ।

‘ हिजोँको वैठकमा अहिले वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका समस्याहरु, समस्या समाधानका लागि एनआरएनएले खेल्नुपर्ने अल्पकालीन तथा दिर्घकालीन भुमिकाको विषयमा वृहत छलफल भएको थियो,’ उनले भने ‘ त्यस्तै संघले स्थापना गरेको वैदेशिक रोजगार कल्याणकारी कोषको प्रभावकारी उपयोग तथा वैदेशिक रोजगारीलाई मर्यादित बनाउन संघको वैदेशिक रोजगारी सम्बन्धमा आधिकारीक धारणामा समेटेर तयार गर्न लागिएको ह्वाइटपेपरका विषयमा छलफल भएको थियो ।’

वैठकमा उपस्थित भभएका विज्ञ तथा सरोकारवालाहरुले आ–आफ्नो विषयहरुमा रहेर धारणा व्यक्त गरेका थिए । वैठकमा डा. केसीले वैदेशिक रोजगारका क्षेत्रसँग सम्बन्धित संघका प्रमुख उद्देश्यहरु, संघद्वारा नेपाल सरकारसँग गरिएका पहलहरु, संघको श्रमिक राहत कोष, हाल सम्म संघले हासिल गरेका उपलब्धी र भविष्यमा गरिने कार्यहरुबारेमा पनि जानकारी गराएका थिए। त्यस्तै संघले तयार गर्न लागेको वैदेशिक रोजगार सम्बन्धी आधिकारीक धारणासहितको श्वेतपत्रमा सहभागी विज्ञहरुलाई आफ्न्नो राय तथा सुझावहरु दिन अनुुरोध गरेका थिए ।

बैठकमा सहभागीहरुले अहिले विश्व जगतलाई नै आतंकित बनाइरहेको कोरोना भाइरसले वैदेशिक रोजगारी र नेपाली अर्थतन्त्रलाई गम्भिर संकट पार्न सक्ने भन्दै संघलाई यस सम्बन्धमा कसरी असर कम गर्न सकिन्छ भन्ने तर्फ विचार गर्न र विदेशको अनुभव ज्ञान र श्रोत उपयोग गर्न पनि अनुरोध गरेका थिए।

वैठकमा वैदेशिक रोजगारका विज्ञहरु डा. गणेश गुरुङ, नेपाल सरकारका पूर्व सचिव पूर्णचन्द्र भट्टराई, सरकारका पूर्वसहसचिवद्वय गोविन्दमणि भूर्तेल मधुविलाश पंडित, आप्रवाशनविज्ञ रामेश्वर नेपाल लगायत अन्य सरोकारबाला र संघको तर्फबाट उपाध्यक्ष डा. बद्री केसी, सचिव आरके शर्मा, सहकोषाध्यक्ष लोकप्रसाद दाहाल लगायतको उपस्थिति रहेको थियो ।




प्रतिक्रिया