कोरोना कहर : धमाधम मन्त्रीहरुको विदेश भ्रमण स्थगित

डिसी नेपाल
२५ फागुन २०७६ ११:४१

काठमाडौं। विश्वभरी आतंक मच्चाइरहेको कोरोना भाइरस नेपालमा हालसम्म नदेखिए पनि यसको प्रभाव हरेक क्षेत्रमा देखिन थालेको छ।
कोरोना भाइरसकै कारण देखाउँदै नेपालका मन्त्रीहरुको विदेश भ्रमण धमाधम स्थगित भएको छ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङको अमेरिका भ्रमण र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवको जापान भ्रमण स्थगित भएको छ।

आइतबार महिला मन्त्रीसहित एकसय जना सहभागी टोली न्यूयोर्क जाने तय भएको थियो। महिला दिवसको अवसरमा संयुक्त राष्ट्रसंघको आयोजनामा न्यूयोर्कमा कार्यक्रम हुन्छ।

केही समय अगाडि संयुक्त राष्ट्रसंघका महासचिवले न्यूयोर्कमा हुने कार्यक्रममा बाहिरका प्रतिनिधिमण्डललाई कसेसम्म नआउन आग्रह गरेका थिए। मन्त्रीको टिकट काटिकसकेको अवस्थमा पनि रद्द भयो। मन्त्री गुरुङले आफ्नो अमेरिका भ्रमण स्थगित भएको जानकारी दिए।

उनले भने, ‘कोरोना भाइरसको कारण राष्ट्रसंघीय महासचिबले नै सकेसम्म नआउन भनेपछि हामीले भ्रमण स्थगित गरेका छौं।’
महिला मन्त्रालयको प्रतिनिधित्व गरिरहका मन्त्रीसहितको टोलीको अमेरिका भ्रमण जाने टोलीको भ्रमण मन्त्रीपरिषदबाट स्वीकृति गरिसकेको थियो।

मन्त्रीको न्यूयोर्क जाने कार्यक्रम रद्द भएपछि राष्ट्रसंघीय कार्यक्रममा नेपालको प्रतिनिधित्व राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधिले सहभागिता जनाउने स्रोतले बतायो।

यस्तै जापानसँगको श्रम समझदारी कार्यान्वयका विषयमा वार्ता गर्न यही मार्चमा जापान जाने तयारीमा रहेका श्रममन्त्री यादवको जापान भ्रमण स्थगित भएको हो।

मन्त्री यादवको भ्रमण तत्कालका लागि स्थगित भएको श्रम मन्त्रालयले जनाएको छ।  कोरोनाकै कारण नेपाल सरकारले देशभर सार्वजनिक कार्यक्रमहरु पनि नगर्न अपील गरेको छ। प्रमुख दलहरु नेकपा र काँग्रेसले पनि आफ्ना कार्यक्रमहरु स्थगित गरिसकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *