तीनमहिने सुदृढीकरण अभियान सञ्चालन गर्दै नेकपा

डिसी नेपाल
२६ फागुन २०७६ ७:०४

दमाैली। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी तनहुँले तीनमहिने सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ। पार्टीको हालै सम्पन्न तेस्रो पूर्ण बैठकले आगामी चैत १ गतेदेखि जेठ मसान्तसम्म पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

पार्टीको तल्लो तहसम्मका कार्यकर्तामा उत्साह भर्न र जनतासँगको सम्बन्धलाई सुमधुर बनाउन सुदृढीकरण अभियान सञ्चालन गर्न लागिएको पार्टीका जिल्ला अध्यक्ष केदार सिग्देलले जानकारी दिए।

उनका अनुसार अभियानका क्रममा वडास्तरसम्म भेला, बैठक, प्रशिक्षणलगायतका कार्यक्रम सञ्चालन गरिनेछ। सुदृढीकरण अभियानका क्रममा पार्टी एकता तथा सरकारले गरेका राम्रा कामको प्रचार प्रसारसमेत गराइनेछ।

बैठकले मिर्गौला प्रत्यारोपण गराएका पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै कोरानो भाइरसविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गर्ने बैठकले निर्णय गरेको प्रतिनिधिसभा सदस्य समेत रहेका अध्यक्ष सिग्देलले बताए।

नेकपा गण्डकी प्रदेश सहइन्चार्ज एवं पार्टीका स्थायी कमिटी सदस्य किरण गुरुङले अभियानलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न आग्रह गरे। पार्टी र सरकारको विषयमा विपक्षीले फैलाएको भ्रम चिर्दै जनतामा सत्यतथ्य सूचना प्रवाह गर्नुपर्नेमा उनले जोड दिए।

नेकपाका केन्द्रीय कमिटी सदस्य एवं जिल्ला इन्चार्ज हरिबहादुर चुमानले जिल्लाका १० वटै स्थानीय तहमा सुदृढीकरण अभियानलाई प्रभावकारीरूपमा सञ्चालन गरिने जानकारी दिए।

गाउँपालिकाका सबै वडामा सहायताकक्ष

यहाँको म्याग्दे गाउँपालिकाले सहायताकक्ष सञ्चालन ल्याउने तयारी गरेको छ। सेवाग्राहीलाई सहज र सरल तरिकाले सेवा प्रवाह गर्ने उद्देश्यले गाउँपालिकाले सबै वडा कार्यालयमा सहायताकक्ष स्थापना गर्ने तयारी गरेको हो।

केही दिन अगाडि सम्पन्न गाउँपालिकाको छैटौँ गाउँसभाले सात वटै वडा कार्यालय र गाउँपालिकाको कार्यालयमा सहायताकक्ष स्थापना गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिइन्।

उनका अनुसार सहायताकक्षबाट सेवाग्राहीलाई सेवा लिन आउँदा आइपर्ने समस्या समाधान गरिनेछ। साथै सहायताकक्षबाट सेवाग्राहीलाई निःशुल्करूपमा फोटोकपी सुविधा पनि उपलब्ध गराइनेछ ।

केही दिनभित्रै सबै वडा कार्यालयमा सहायताकक्ष सञ्चालनमा आउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि नागिलाले जानकारी दिए। “सेवाग्राहीले सेवा लिन आउँदा कागजातको फोटोकपी गर्न अन्यत्रै जानुपर्दा समस्या हुने गरेको छ”, नागिलाले भने, “सहायताकक्षबाटै उक्त सुविधा पाएपछि सहज हुनुका साथै समयको पनि बचत हुनेछ।”

साविकको म्याग्दे, छाङ र जामुने गाविस मिलेर बनेको गाउँपालिकाले हालै मात्र प्रमुख प्रशासनिक भवन रहने ठाउँको पनि टुङ्गो लगाएको छ। हाल म्याग्दे गाउँपालिका–४ छाङमा भाडाको भवनमा गाउँपालिकाको कार्यालय सञ्चालनमा रहेको छ। आफ्नै भवन नहुँदा सेवा प्रवाहमा असहजता भएकोले आफ्नै भवन निर्माण गर्ने प्रक्रिया अगाडि बढेको नागिलाले जानकारी दिए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *