काेराेना त्रास : सुइयामा ‘हेल्थ डेस्क’ स्थापना

डिसी नेपाल
२७ फागुन २०७६ ७:२७

राँझा। कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको जोखिम हुन नदिन बाँकेको ग्रामीण सीमानाका कटकुइँयास्थित सुइयामा स्वास्थ्य सहायता कक्ष ( हेल्थ डेस्क ) सञ्चालनमा आएको छ।

नरैनापुर गाउँपालिकाको सहयोगमा सोमबारदेखि सञ्चालनमा आएको सो कक्षमा भारतबाट नेपाल भित्रिने नागरिकको स्वास्थ्य परीक्षण शुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख अङ्गदबहादुर शाहीले जानकारी दिए।

आवश्यक औषधि, उपकरण र पूर्वाधारसहित स्वास्थ्य परीक्षण कक्ष स्थापना गरिएको उनले बताए। सो कार्यालयले भारतसँगको अन्य सीमावर्ती नाकामा समेत सो सहायता कक्ष स्थापनाको तयारी गरेको जनाएको छ।

भारतसँगको मुख्यनाका जमुनाहामा एक महिनाअघिदेखि नै सो कक्ष स्थापना गरी जाँच हुँदै आएको छ। नेपालगञ्ज विमानस्थलमा गत हप्तादेखि जाँच कक्ष शुरु गरिएको थियो।

नेपालगञ्जस्थित भेरी अस्पतालमा पनि कोरोनाको आशङ्कामा आउने बिरामीलाई उपचारका लागि विशेष व्यवस्था मिलाइएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा प्रकाश थापाले जानकारी दिए।

उनका अनुसार अस्पतालमा कोरोनाविरुद्ध उच्च सतर्कता अपनाउँदै आइसोलेसन वार्डको व्यवस्था गरी पाँच श्यया मिलाइएको छ। अस्पतालमा अहिलेसम्म कोरोनाकै आशङ्कामा कुनै पनि बिरामी परीक्षणका लागि आएका छैनन्।

सो भाइरसको जोखिमको हल्लासँगै नेपालगञ्जमा लाग्दै आएको होली बजारमा प्रभाव परेको छ। होली बजारमात्रै नभई अन्य बजारमा समेत अत्यावश्यकबाहेक अन्य खरिद बिक्री कम भएको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुलवाहिद मन्सुरीले बताए। नेपालगञ्जमा हरेक वर्ष होलीलाई लक्षित गरी गरिने कार्यक्रम पनि स्थगित भएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *