काष्ठमण्डप पुनःनिर्माणको काम ७० प्रतिशत पूरा, कार्तिक सम्ममा सकिने

डिसी नेपाल
१ चैत २०७६ १४:३७

काठमाडौं । विसं २०७२ को महाभूकम्पले पूर्णरुपमा क्षति पुगेको ऐतिहासिक तथा पुरातात्विक सम्पदा काष्ठमण्डप पुनःनिर्माणले गति लिएको छ। तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित २०७५ वैशाखबाट सुरु भएको पुनःनिमार्णको काम यतिबेला ७० प्रतिशत पूरा भएको छ ।

आउदो कार्तिकमा सम्पन्न हुने दाबी गर्दै हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका प्रमुख रोशनमान शाक्यले भित्ता निर्माणको काम सम्पन्न भएको र अब काठ राखेर छाना हाल्ने साथै फिनिसिङको काममात्र बाँकी रहेको जानकारी दिए ।

उक्त ऐतिहासिक सम्पदा पुनःनिर्माणका लागि रु १९ करोड खर्च लाग्ने अनुमान गरिएकामा काठमाडौ महानगरपालिकाले पुनःनिर्माण समितिलाई रु १० करोड ५० लाख आर्थिक सहयोग गरिसकेको छ। अहिलेसम्म निर्माणका लागि रकम अभाव भएको छैन।

स्थानीयवासीको अगुवाइमा पुनःनिर्माण भइरहेको सो सम्पदा पूरा गर्न राजेश शाक्यको अध्यक्षतामा स्थानिय पूरातनविद्, वास्तुविद, प्राविधिकसहित ५५ जना सम्मिलित काष्ठमण्डप पुनःनिर्माण समिति गठन गरी काम अघि बढाइएको थियो। यसका लागि आवश्यक काठ बर्दिवास र अम्लेखगञ्जबाट ल्याइएको छ।

भित्ता निर्माणका लागि काष्ठमण्डपकै पुरानो माटो, धरहरा पुनःनिर्माणका क्रममा निकालिएको माटो र ताहाचलको माटो प्रयोग गरिएको छ । त्यस्तै आवश्यक इटा दक्षिणबाराही इँटा उद्योगबाट ल्याइएको छ भने ढुङ्गा काभ्रेबाट ल्याइएको छ। अहिेले काम तीब्र रुपमा भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *