कर्णालीमा कोरोना भाइरस रोक्न नाकाहरुमा कडाइ

डिसी नेपाल
२ चैत २०७६ १३:०४

सुर्खेत । कोरोना (कोभिड–१९) भाइरसले विश्वलाई नै आतंकित बनाइरहेको बेला कर्णालीमा यसको संक्रमण रोक्न नाकाहरुमा कडाइ गर्न थालिएको छ। प्रदेशभित्र आउने मानिसहरुको नाकाहरुमा स्वास्थ्य परिक्षण सुरु भएको हो।

कर्णाली प्रदेश सरकारले बाहिरबाट भित्रने सबै नाकाहरुमा हेल्थडेक्स स्थापना गरेर स्वास्थ्य परिक्षणसँगै चेकजाँचमा कडाइ गर्न थालेको हो । तर हालसम्म नेपालमा कोरोना भाइरसका संक्रमितहरु भने फेला परेका छैनन्।

तराईसँग नजोडिएको कर्णालीमा कोरोनाका संक्रमितहरु भित्रन नदिन र संक्रमितहरु फेला परेमा तत्काल कसरी आइसोलेसन कक्षमा उपचार गर्ने भन्ने विषयमा सरकारले विशेष रणनीति अपनाएको छ।

प्रदेशभित्र भित्रने मुख्य नाका सल्यानको कपुरकोट, सुर्खेतको बबई, कुइने, हुम्लाको हिल्सा र सुर्खेत विमानस्थलमा दैनिक यात्रुहरुको चेकजाँचलाई तीव्रता दिएको छ। हिल्सा चीनसँग सीमा जोडिएको नाका हो । चीनबाटै विश्वव्यापी बनेको कोरोना भाइरसका विरामीहरु प्रदेशमा भित्रन नदिन सामाजिक विकास मन्त्रालयले ६ वटै नाकाहरुमा चेकजाँचमा कडाइ गरेको छ।

पछिल्लो समय छिमेकी राष्ट्र भारतमा एकपछि अर्कोगर्दै कोरोनाको संक्रमण फैलिदैँ गएपछि कर्णाली भित्रने यात्रुहरुलाई कडाइका साथ चेकजाँचमा गरिरहेको छ । कर्णालीमा सडक निर्माण लगायतका काममा भारतीय नागरिकहरु आउने गरेका छन्।

नीहरुसहित अन्य यात्रुहरुमा ज्वरोको अवस्था बुझ्न सामाजिक विकास मन्त्रालयले रत्न राजमार्गको बबईमा हेल्थडेस्क स्थापना गरेको छ । फागुन २६ गतेदेखि नियमित रुपमा चेकजाँचका लागि हेल्थडेस्क स्थापना गरेको सरकारले अझै प्रभावकारी बनाउन जनशक्ति थप गर्ने गृहकार्यमा जुटेको छ ।

बबईमा दुइ ओटा शौचालय बनाउन, चौविसै घण्टा स्वास्थ्य जाँच गर्न कर्मचारी व्यवस्थापन र ब्यारेल निर्माण गर्न मातहतको मन्त्रालयलाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले निर्देशन दिएको छ।

‘स्वास्थ्यकर्मीले ज्वरो नापे, ज्वरो रहेन्छ, उहाँहरुले तपाइँ गाडीमा जानुस् भने अनुमित दिए’ दैलेखका कपिल खड्काले भने, ‘हाम्रो प्रदेशमा आउँदा मात्रै मैले जाँच गर्न पाएँ ।

प्रदेश सरकारले कम्तीमा यति गर्नु पनि ठिकै हो जस्तो लाग्छ ।’ सबैलाई जाँच गर्नु राम्रो भएको बताएका खड्काले कम्तिमा हरेक यात्रुहरुलाई सरकारले मास्क समेत उपलव्ध गराउन सुझाव दिए।

स्वास्थ्य निर्देशनालयका निर्देशक रिता भण्डारीले मास्कको प्रयोग बढाउनभन्दा पनि कोरोनबाट जोगिने उपाय महत्वपूर्ण भएकाले त्यतातिर ध्यान दिइरहेको बताईन्।

‘मास्क चौविस घण्टामा फेर्नुपर्ने हुँदा सबै जनताको पहुँचमा नभएका कारण सावुन पानीले हात धुन र अन्य बच्ने उपाय अवलम्बन गर्न अनुरोध गरिरहेका छौं’ निर्देशक भण्डारीले भनिन्, ‘हामी सबैको तयारी भनेकै कर्णालीमा कोरोना भित्रिन नदिन केन्द्रित छ ।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *