क्यानडा र साइप्रसकाे जागिर छाेडेर स्वदेशमै दुलाहा दुलही सिँगार्दै

डिसी नेपाल
३ चैत २०७६ ८:२३

चितवन। विदेश जाने तयारी गरेका एक जोडीले स्वदेशमा नै व्यवसाय शुरु गरेको छ। क्यानडाको अनामिकी ब्यूटीशैलुनमा काम गर्दै गरेकी इन्द्रा श्रेष्ठले साइप्रसर रहेका आफ्ना पति अनिल श्रेष्ठलाई विदेश जान स्वदेश बोलाइन्। पति स्वदेश फर्किएपछि उनमा यहाँ नै केही गर्ने सोच पलायो।

यही सोचका साथ श्रेष्ठ दम्पतीले यहाँ डि लाभान्डिज नामक ब्यूटीशैलुन र स्पा सञ्चालनमा ल्याएकी छन्। इन्द्राले आफ्नो दुई वर्षे विदेशी अनुभवलाई स्वदेशमा नै प्रयोग गर्न थालेकी छन्।

उनले भनिन्, “समाजशास्त्रमा स्नातकोत्तर गरेपछि क्यानडा जान चाहेको भए पनि श्रीमान् मान्नुभएन। हामीले विदेश जान तयार पारेको पैसाले यही व्यवसाय शुरु गर्यौँ।”

भरतपुर महानगरपालिका–१० को नहर चोकमा शुरु भएको यो व्यवसायमा ती दम्पतीले रु ४० लाखभन्दा बढी लगानी गरेका छन्। इन्द्राका अनुसार यहाँ दुलाहादुलही सिँगार्ने, महिला र पुरुष दुवैका लागि सेवा दिने लाभान्डिजमा कपाल काट्ने, कपालको उपचार गर्ने, मसाल गर्नेलगायत महिला पुरुषले गर्ने सिँगारका सबै काम हुन्छ।

शुभारम्भको अवसरमा पाँच पटक सेवा लिनेलाई छैटौँ पटक निःशुल्क सेवा दिने गरिएको छ। रु ५० को थ्रेडिङदेखि रु १८ हजारको सिँगार यहाँ हुने गर्दछ । उच्चस्तरको सामग्री प्रयोग हुने भएकाले गुणस्तरीय सेवा दिने बताउँदै उनले भने, “स्थानीय बजारमा हामीले दिने सेवा अन्यले दिन कठिन छ।”

गत माघ १३ गतेबाट शुरु भएको व्यवसायमा अहिले सन्तोषजनकरुपमा कारोवार भइरहेको छ। त्यसो त यहाँ राष्ट्रिय र स्थानीय कलाकारसमेत सेवा लिन आउने गरेका छन्।

साइप्रसबाट होटल व्यवस्थापनमा स्नातक गरेका अनिलले विदेशमा भन्दा स्वदेशमै मिहिनेत गर्नुपर्ने बताए। उनले भने, “जोश र जाँगर रहुञ्जेल विदेशमा बिताएर बूढेसकालमा स्वदेश फर्किनु हुँदैन। यही केही गर्नुपर्छ भन्ने उद्देश्यले व्यवसाय थालेका हौँ।”

दुवै जना काममा लाग्ने भएकाले यसको अतिरिक्त अन्य दुईले यहाँ रोजगार गरिरहेका छन् । परिवारका सदस्यले पनि काममा साथ दिने भएकाले सेवाग्राही फर्किनु नपर्ने उनको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *