काेराेना भाइरस : स्थानीय तहमा द्रूत प्रतिकार्य टोली गठन

डिसी नेपाल
५ चैत २०७६ १०:४०

दमौली। विश्वभर फैलिएको कोरोना भाइरसबाट बच्न सतर्कता अपनाउने उद्देश्यका साथ तनहुँ जिल्लाका दुई स्थानीय तहमा द्रूत प्रतिकार्य टोली गठन गरिएको छ।

कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि सरोकारवाला सम्मिलित प्रतिकार्य टोली गठन गरिएको हो। आँबुखैरेनी गाउँपालिकाका योजना अधिकृत बुद्धिप्रसाद भुषालको संयोजकत्वमा गठित गाउँपालिकास्तरीय टोलीमा वडाध्यक्ष कटकबहादुर थापा र पूर्णबहादुर आले, उद्योग वाणिज्य सङ्घ, नेपाल रेडक्रम सोसाइटी र इलाका प्रहरी कार्यालयका प्रतिनिधि, आँबुखैरेनी क्याम्पसका प्रमुख ऋषि केसी, टोल विकास संस्थाका पदमराज काफ्ले तथा प्राविधिक चिजकुमार श्रेष्ठ सदस्य रहनुभएको छ भने समितिको सदस्य सचिवमा गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक अगमराज उपाध्याय चयन भएका छन्।

उक्त समितिले कोरोना भाइरस लागेका शङ्कास्पद व्यक्तिको निगरानी र पहिचान गरी शङ्का लागेमा प्रदेश सरकारले व्यवस्थापन गरेको आइसोलेसन श्ययासहितको स्वास्थ्य संस्थामा उपचारका लागि पठाउन समन्वय गर्ने गाउँपालिकाका सूचना अधिकारी शिखरलाल डोटेलले जानकारी दिए। गाउँपालिकाले आइतबारमात्र आँबुखैरेनी गाउँपालिका–४ स्थित पुलजीपमा दुई स्वास्थ्यकर्मीसहित सहायता कक्ष सञ्चालनमा ल्याएको थियो।

यसैगरी शुक्लागण्डकी नगरपालिकामा स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवको संयोजकत्वमा १३ सदस्यीय नगरस्तरीय टोली गठन गरिएको छ। टोलीमा स्वास्थ्य शाखाका चिकित्सक, ल्याब एसिस्टेन्टलगायत सदस्य छन्। यो टोलीले नगरमा रहेका सरकारी तथा निजी स्वास्थ्य संस्थामा कोरोना सङ्क्रमणको शङ्कास्पद बिरामी फेला परेमा स्वास्थ्य परीक्षणका लागि प्रयोगशाला पठाउन सहयोग गर्ने टोली संयोजक श्रीवास्तवले जानकारी दिए।

व्यास नगरपालिकामा सहायता कक्ष

तनहुँको व्यास नगरपालिकाले कोरोना भाइरसविरुद्ध सचेतना फैलाउने उद्देश्यले सहायता कक्ष सञ्चालनमा ल्याएको छ। विश्वभर महामारीको रुपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरससम्बन्धी चेतनामूलक जानकारी दिने उद्देश्यका साथ नगरपालिकाको हाताभित्र सोमबारदेखि सहायता कक्ष सञ्चालनमा ल्याइएको हो।

सहायता कक्षबाट नगरपालिकामा आउने सेवाग्राहीलाई कोरोना भाइरसको सङ्क्रमणबाट बच्न चेतनामूलक पोष्टर, पम्प्लेट वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले जानकारी दिए। “कोरोना भाइरसका कारण नगरवासीमा त्रास पनि छ, यसबाट आत्तिनुपर्दैन”, उनले भने, “यसबाट बच्ने उपायबारे जानकारी प्रदान गर्ने उद्देश्यले सहायता कक्ष सञ्चालनमा ल्याएका छौँ।”

कोरोना भाइरस श्वासप्रश्वासबाट फैलने मात्र नभई हात मिलाउँदा, नजिकै बस्दा, हिँडडुल गर्दा, बोल्दासमेत हावाका माध्यमबाट सर्ने हुँदा यस्ता क्रियाकलापमा सजग रहन नगरवासीलाई अनुरोध गरिएको छ। नगरपालिकाले भाइरसको सङ्क्रमणबाट बच्न ‘नमस्कार गरौँ’ अभियान पनि सञ्चालन गरेको छ।

हात मिलाउँदा भाइरसको सङ्क्रमण हुने सम्भावना भएकाले हात नमिलाई नमस्कार गर्ने परम्परा शुरुआत गर्न सचेतना जगाउने खालका कार्यक्रम सञ्चालन गरिएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए। नगरपालिकाले भीडभाडयुक्त स्थानमा नजान, रुघाखोकी लागेमा माक्सको प्रयोग गर्न, साबुनपानीले हात धुनसमेत नगरवासीमा आग्रह गरेको छ।

सचेतना जगाउन सार्वजनिक स्थानमा पम्लेट

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध सचेतना जगाउन टिम नेपो तनहुँले सार्वजनिक स्थानमा पम्लेट टाँसेको छ। उक्त संस्थाले सर्वसाधारणको बढी चहलपहल हुने विभिन्न ३२ स्थानमा कोरानो भाइरसविरुद्ध सचेतनामूलक सामग्री भएको पम्लेट टाँस गरेको हो।

कोरोना भाइरसबारे सर्वसाधारणलाई जानकारी दिने र उक्त भाइरसको सङ्क्रमणबाट बच्न आह्वान गर्दै चेतनामूलक सामग्री टाँस गरिएको संस्थाका अध्यक्ष सुजन लौडारीले जानकारी दिए। उनका अनुसार नगरपालिका, विभिन्न विद्यालय, क्याम्पस, चलचित्र हल, उद्यान, पञ्चायन मन्दिर, वडा कार्यालयलगायतका स्थानमा सामग्री टाँसिएको छ।

निम्ता बाँड्दै, खोप लगाउँदै

“आदरणीय अभिभावकज्यू, तपाईंको वडामा यही चैत महिनाको १ देखि १८ गतेसम्म दादुरा–रुवेला खोप अभियान सञ्चालन हुँदैछ। यस अवसरमा ९ देखि ५९ महिनाका सबै बालबालिकालाई नजिकैको खोप केन्द्रमा ल्याउनुहुन सादर अनुरोध गर्दछौँ।”

माथि उल्लेखित सन्देश चैत १ गतेदेखि तनहुँ जिल्लामा शुरु भएको दादुरा–रुवेला खोप अभियानका लागि घर–घरमा पुर्याइएको निमन्त्रणा कार्डमा उल्लेख भएको व्यहोरा हो। खोप लगाउने उमेर पुगेका बालबालिका खोपबाट बञ्चित नहुन् भन्नका लागि घर–घरमा खोप लगाउनका लागि निम्तो बाँडिएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए।

“ग्रामीण भेगका अभिभावकलाई खोप लगाउने मिति थाहा नहुन सक्छ, अभियान सञ्चालन भएको बेला प्रत्येक बालबालिकालाई खोप लगाउन ल्याउन अभिभावकलाई निम्तो दिएका हौँ”, उनले भने, “निम्तो हेरेर अभिभावकले बालबालिकालाई खोप लगाउन ल्याएका छन्।” अधिकारीका अनुसार चैत १ गतेदेखि शुरु भएको राष्ट्रिय दादुरा–रुवेला अभियान जिल्लामा प्रभावकारीरूपमा सञ्चालन भइरहेको छ।

जिल्लाका ३० प्रतिशतभन्दा बढी बालबालिका अझै पनि विभिन्न खोप लगाउनबाट बञ्चित भएका छन्। सबै बालबालिकालाई खोपको पहुँचमा ल्याउन चुनौती रहेकाले खोपको प्रभावकारिताका बारेमा अभिभावकलाई जानकारी गराइने अधिकारीले बताए।

शुक्लागण्डकी नगरपालिका–९ का वडाध्यक्ष लोकनारायण श्रेष्ठले वडामा प्रभावकारीरूपमा खोप अभियान सञ्चालन भइरहेको जानकारी दिए। “बालबालिकालाई खोप लगाइसकेपछि वडाध्यक्षले प्रमाणित गर्नुपर्ने हुन्छ”, उनले भने, “अभिभावक उत्साहितरूपमा आफ्ना बालबच्चालाई खोप लगाउन ल्याउनुभएको छ।”

जिल्लामा दुई चरणमा दादुरा–रुवेला खोप अभियान सञ्चालन गरिएको छ। चैत १ गतेदेखि ९ गतेसम्म पहिलो र १० गतेदेखि १८ गतेसम्म दोस्रो चरणमा सञ्चालन हुने अभियानका क्रममा २८ हजार ७६४ बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ।

पहिलो चरणमा व्यास नगरपालिकाको श्याम्घा, कात्तिकेचौर, सतिस्वाँरा, गजुरे, रिस्ती, शुक्लागण्डकी नगरपालिकाको दुलेगौडा, खैरेनीटार, ढोरफिर्दी, फिरफिरे, राईपुर, थप्रेक, भिमाद नगरपालिकाको भानुमति, अरुणोदय, किहुँ, माझकोट, भानु नगरपालिकाको ज्यामरुक, रुपाकोट, चिसापानी, घिरिङ गाउँपालिकाको साभुङहटिया, घिरिङ, गजरकोट र ऋषिङ गाउँपालिकाको रानीपोखरी, राम्जाकोट, कोटदरवारमा अभियान सञ्चालन हुनेछ।

दोस्रो चरणमा व्यास नगरपालिकाको घाँसीकुवा, पोखरीभञ्ज्याङ, केशवटार, तनहुँसुर, भानु नगरपालिकाको पुरनडिही, वसन्तपुर, पुर्कोट, बन्दीपुर गाउँपालिकाको बन्दीपुर, धरमपानी, आँबुखैरेनी गाउँपालिकाको देउराली, छिम्केश्वरी, म्याग्दे गाउँपालिकाको थर्पु, जामुने, मनपाङ, देवघाट गाउँपालिकाको सिन्च्याङगढी, बैदी, छिपछिपे, कोटा र ऋषिङ गाउँपालिकाको काहुँशिवपुर र भिरकोटमा अभियान सञ्चालन हुनेछ। अभियानका लागि ५३० खोप केन्द्र तोकिएका छन् भने २०४ खोपकर्ता र एक हजार ६० स्वयंसेवक परिचालन गरिएको छ।

खोपको पहुँचबाट बाहिर रहेका बालबालिकालाई खोपको पहुँचमा ल्याउन जिल्लाका प्रत्येक स्वास्थ्य संस्थामा प्रत्येक महिना संस्थागत खोपकेन्द्र, साविकका गाविसको वडामा कम्तीमा तीनदेखि पाँच वटा केन्द्रबाट प्रत्येक महिना बाह्य खोपकेन्द्र, गाउँपालिका र नगरपालिकाको स्वास्थ्य संस्थाका पकडक्षेत्रभित्र रहेका पहुँचबाट टाढा भएका बस्ती, समुदाय र भौगोलिक क्षेत्रमा कम्तीमा वर्षको चारपटक खोप केन्द्र स्थापना गरी खोप सेवा प्रदान गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *